नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो पार्टी भनेर नहेप्न चुनौती दिएका छन्।
शनिबार हेटौँडामा आयोजित एकीकृत समाजवादी पार्टी मकवानपुरको ९औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी सानो भए पनि विचार र सिद्धान्तमा अरूभन्दा ठूलो भएको दाबी गरे।
‘पार्टीले अधिवेशनको तयारी गरिरहँदा हाम्रो पार्टीमा आश्चर्यजनक रूपमा जनसहभागिता बढेको छ। यो हाम्रो पार्टीले बोकेको विचार र सिद्धान्तका कारण भएको हो,’ उनले भने, ‘एकीकृत समाजवादीले भ्रष्टाचाररहित इमानदार र जनताको सेवालाई राजनीतिको मुख्य मिसन बनाएको छ।’
नेपालले राजनीति ठगी र लुटतन्त्र मच्चाउनेहरूका लागि नभएको भन्दै केही ठग र लुटेराका कारण दूषित भएको राजनीतिलाई सच्याउने र सुधार्ने जिम्मेवारी एकीकृत समाजवादीको भएको बताए।
‘राजनीतिमा लुट्ने र लुटेराको कुनै ठाउँ छैन। जनतालाई दुःख दिने, लुट्ने र ठग्ने तथा गलत काम गर्नेहरूलाई दण्डित गर्नुपर्छ। र, एकीकृत समाजवादीमा पनि केही त्यस्तो प्रवृत्ति भए दण्डित हुन्छ र गर्नुपर्छ,’ अध्यक्ष नेपालले भने।
एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले नेतृत्वमा अहंकार पलाउँदा विधि, विधान र सिद्धान्त मेटिने बताए। नेतृत्व अहंकारी र व्यक्तिवादी हुँदा जनताको बलिदानको बलमा ल्याएको लोकतन्त्र र संविधान नै झन्डै धरापमा परेको नेपालको भनाइ थियो।
‘अझै पनि लोकतान्त्रिक गणतन्त्र र संविधान तथा संघीयतामाथि चुनौती कायमै छ। व्यवस्था र संविधानका विरोधी शक्तिहरू सक्रिय भएर लागिरहेका छन्। राष्ट्रियतामाथि चुनौती आउने सम्भावना अझै छ,’ उनले भने।
वर्तमान व्यवस्था र संविधान जोगाउन परिवर्तनका पक्षधर शक्तिहरू एकताबद्ध भएर लाग्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ।