Skip This
गैँडाकोटबाट पठन संस्कृति अभियान शुभारम्भ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

गैँडाकोटबाट पठन संस्कृति अभियान शुभारम्भ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:३३:oo

गैँडाकोटबाट पठन संस्कृति अभियान शुभारम्भ भएको छ। प्रसिद्ध कवि एवं लेखक नवराज लम्साल र सञ्चारकर्मी दिलभूषण पाठकले पठन संस्कृति अभियानको उद्घाटन गरेका हुन्।

डिजिटल युगले मानिसलाई असामाजिक र एकोहोरो बनाउँदै लगेको अवस्थामा किताबको संगतले मानिसलाई सामाजिक बनाउन सहयोग पुग्ने अभियानका संयोजक त्रिलोचन सापकोटाले दाबी गरे। समूह बनाएर नियमित रूपमा किताब पढ्ने र सँगै बसेर छलफल, विमर्श गर्ने अभियानको योजना रहेको उनको भनाइ छ। शुभारम्भ कार्यक्रमलाई सापकोटा आफैँले सहजीकरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि डा. नवराज लम्सालले सूचनामूलकभन्दा पनि ज्ञानबर्धक पुस्तक पढ्न सुझाव दिए। सूचना मात्र दिने पुस्तकहरूबाट हुन सक्ने खतराबाट पाठक सधैँ सजग रहनुपर्ने लम्सालले बताए। ‘आफू शून्य भएर पुस्तक पढ्न सुरुवात गर्नुपर्दछ। आफूभित्र भएको विचारलाई दिल र दिमागबाट निकालेर नयाँ विचार र ज्ञान लिन सक्ने क्षमता लेखक र पाठक दुवैमा हुन जरुरी रहेको छ। लेखकको आफ्नो निजी विचारले भरिएको पुस्तकबाट पाठक सचेत रहन जरुरी छ,’ लम्सालको सुझाव छ।

सञ्चारकर्मी पाठकले नयाँ विचार निर्माण गर्नका लागि पठन संस्कृति आवश्यक भएको बताए। विश्वव्यापीकरणको समयमा विचार आयात मात्र नभएर निर्यात पनि गर्न आवश्यक भएको उनले बताए। सञ्चारमाध्यमको उदाहरण दिँदै पाठकले भने, ‘बिबिसीजस्ता मिडियाले तेस्रो विश्वको गरिबी, अशिक्षा, हिंसा, विभेदलाई मात्र प्रसारण गर्ने गरेको समयमा अलजजिरा, भारतीय चलचित्र, सञ्चारमाध्यमले यहाँका सकारात्मक समाचारलाई विश्वमाझ सम्प्रेषण गर्न सुरु गरेका छन्। आफ्नो समाज र आफ्नो दर्शनको राम्रा पक्ष अरू माझ पुर्‍याउनका लागि सबैभन्दा पहिला पठन संस्कृतिको नै विकास गर्नुपर्दछ।’

कवि तथा सामाजिक व्यक्तित्व सरस्वती तिमिल्सिनाले महिला स्रष्टाहरूलाई समाजले खोज्नुपर्ने, पढ्नुपर्ने र बुझ्नुपर्ने सुझाव दिइन्। कुनै पनि कार्यक्रममा महिला सहभागितालाई समेट्न सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो।

शुभारम्भ कार्यक्रममा युवा नेता बद्री सापकोटाले किताब पढ्दाको महत्त्वको चर्चा गर्दै नीलम कार्की निहारिकाको मदन पुरस्कार प्राप्त कृति योगमायाको बारेमा चर्चा गरे। त्यसैगरी, सामाजिक कार्यकर्ता गोपालप्रसाद भण्डारीले पढ्ने अभियानमा बालबालिकालाई अहिल्यैदेखि समेट्नुपर्ने धारणा राखे। लेखक डा. मतिप्रसाद ढकालले पठन संस्कारलाई अभियानको रूपमा चलाएर अगाडि बढ्न आग्रह गरे। ढकालले आफ्ना १८ वटामध्ये १६ वटा किताबको पिडिएफ बनाएर अनलाइनमा पढ्न मिल्ने गरी राखिएको जानकारी दिए।

अभियान कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, उदय अधिकारी, खेमराज सापकोटाले पठन संस्कृतिको महत्त्वको चर्चा गर्दै यस अभियानको निरन्तरताको कामना गरे।

अभियानको आयोजक विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रहेको छ। विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम गरिएको थियो।

ad
ad