Skip This
भ्रष्टाचार मुद्दामा खाद्य अधिकृतलाई आठ महिना कैद, घुस दिनेलाई पनि उति नै सजाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १८ शुक्रबार १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा खाद्य अधिकृतलाई आठ महिना कैद, घुस दिनेलाई पनि उति नै सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार १७:o२:oo

विशेष अदालतले ११ महिनाअघि दायर भ्रष्टाचार मुद्दामा फैसला गर्दै घुस लिने र दिनेलाई बराबर सजाय सुनाएको छ। विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका खाद्य अनुसन्धान अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। उनलाई घुस दिने व्यक्तिलाई समेत घुस लिनेसरह सजाय भएको छ। 

विशेषले अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेललाई घुस मुद्दामा आठ महिना कैद सुनाएको हो । यसैगरी, गोकर्णेश्वर बस्ने ज्ञानहरि लामालाई समेत उति नै कैद सजाय सुनाइएको छ। दुवैलाई डेढ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ। 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार ढुंगेललाई भ्रष्टाचार निवारण ऐनको दफा ३(१) बमोजिम र लामालाई ३(२) बमोजिमको कसुरमा सजाय सुनाइएको हो। उपदफा (१)ले घुस लिनेलाई र (२) ले दिनेलाई सजायको व्यवस्था गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राही लामाबाट डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकृत ढुंगेललाई नियन्त्रणमा लिएको थियो। अनुज्ञापत्रका लागि ढुंगेलले आफूसँग घुस माग गरेपछि बुझाउन बाध्य भएको भनी लामाले अख्तियारमा बयान दिएका थिए। 

यसैअनुसार अख्तियारले १५ वैशाख ०८० मा विशेषमा मुद्दा चलाएको थियो। तर, लामाले अख्तियारमा बयान गरेभन्दा फरक बकपत्र अदालतमा गरेका थिए। 

जसपछि अख्तियारले लामालाई प्रतिवादी बनाउँदै प्रतिकुल बकपत्रको मुद्दा दायर गराएको थियो। यसै वर्ष १४ असोजमा लामाविरुद्ध दर्ता उक्त मुद्दामा लामा दोषी पाइएपछि उनलाई पनि घुस लिने ढुंगेलसरह नै सजाय भएको हो।