Skip This
बिमा रकमका लागि नक्कली विवाह र हत्या गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पाँच दोषी ठहर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ४ आइतबार १९:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बिमा रकमका लागि नक्कली विवाह र हत्या गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पाँच दोषी ठहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ४ आइतबार १९:५७:oo

बाँकेका सर्जन विकको बिमा रकम लिन नक्कली विवाहपछि हत्या गराई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पाँचजना दोषी ठहर भएका छन्।

विशेष अदालतले पाँच महिनाअघि दायर मुद्दामा आइतबार फैसला गरेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गरेको फैसलामा एकजनालाई मतियार ठहर गरिएको छ भने अर्का एकजनासँग रकम जफत हुने फैसला भएको छ। प्रतिवादीहरूमाथि सजाय निर्धारण गर्न १३ चैतको पेसी तोकिएको उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानपश्चात् सपना मल्ल, सरदार अहमद खाँ, दीपक केसी, छविकुमारी खत्री, टोपबहादुर राना क्षेत्री र सञ्जीव अर्याललाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको थियो। मल्लउपर दुई करोड ५० लाख, अर्यालउपर ८० लाख ३६ हजार, केसीमाथि ६० लाख र खाँउपर २० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो।

गत २३ असोजमा मुद्दा दायर गरेकोमा खत्रीको हकमा रकम जफत हुने फैसला भएको छ। राना मतियार ठहर भएका छन्। खत्रीउपर १७ लाख ४६ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो। उनीमाथि अन्य अभियोग पुष्टि नहुने फैसला भएको हो। खत्री मल्लकी आमा हुन्। रानामाथि मल्ललाई हुने सजायको आधा अर्थात् मतियारसरहको अभियोग दाबी लिइएको थियो, जुन पुष्टि भएको छ।

मल्ल र विकको विवाह २८ फागुन ०७७ मा भएको थियो। सोही दिन अर्यालले बिमा एजेन्ट खाँमार्फत विकको जीवन बिमा गरिदिएका थिए। वार्षिक दुई लाख रुपैयाँ आय भएको भनी बिमाको कागजातमा स्वघोषणा गरेका विकको पहिलो किस्ता अर्यालले नै तिरेको खुलेको थियो। अर्याल एक बिमा कम्पनीका पूर्वकर्मचारीसमेत हुन्। अर्यालकै सल्लाहमा विकसँग विवाह गरी डिपेन्डेन्टमा मल्ल पनि अस्ट्रेलिया जाने तयारी थियो।

सावधिक र म्यादी जीवन बिमाबापतको पहिलो किस्ताबापतको पाँच लाख ४० हजार रुपैयाँ मात्र बुझाएका विकको एक महिनापछि नै सवारी दुर्घटनामा ज्यान गएको थियो। विकको नाममा २५ वर्षका लागि कुल दुई करोड ५० लाख रुपैयाँको बिमा गराइएको थियो भने नोमिनी थिइन्, उनकी कागजी श्रीमती मल्ल।

विवाहको दुई महिनापछि नै विकले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनीबसले ठक्कर दिएको थियो। २ वैशाख ०७८ मा भएको दुर्घटनामा विकको मृत्यु भयो। मिनीबसका चालक रानालाई समेत सवारी ज्यानमा सजाय भयो भने सम्पत्ति शुद्धीकरणमा समेत उनी दोषी देखिएका छन्। विकको मृत्युपछि केसीले मल्ललाई लिई काठमाडौं आएर बिमाबापतको रकम निकाल्न लगाएका थिए। अढाई करोड रुपैयाँमध्ये सबैले बाँडफाँड गरी रकम लिएको अनुसन्धानले देखाएको थियो।

यसै घटनामा संलग्न प्रतिवादीहरूमाथि जिल्ला अदालत काठमाडौंमा किर्ते तथा ठगी मुद्दा चलिरहेको छ। यस घटनाका मुख्य योजनाकार अर्याल रहेको दाबीसहित मुद्दा दायर भएको हो।