१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २६ मंगलबार १०:२६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि बिपी प्रतिष्ठानमा आन्दोलन स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २६ मंगलबार १०:२६:००

एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने सहमति भएसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन स्थगित भएको छ । प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबीच सोमबार तीनबुँदे सहमति भएसँगै प्रतिष्ठानको शिक्षा महाशाखा र परीक्षा शाखामा लागेको तालासमेत खुलेको छ । 

एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने गरी सहमति भएको साथै त्यसको एक महिनामा सबै काम सक्ने र अन्तर्वार्ताको नतिजा सिनेटले पास गर्ने सहमति भएको शिक्षक कल्याण समाजका अध्यक्ष सेराज अहमद खानले जानकारी दिए ।

नियमित रूपमा आन्तरिक बढुवा नहुँदा प्रतिष्ठानका महत्वपूर्ण विभाग प्राध्यापकविनै सञ्चालनमा छन् । जसकारण उपचार सेवा र आन्तरिक आम्दानीमा समेत असर परेको छ । २० पुस ०७९ मा प्रकाशित आन्तरिक बढुवा, २५ माघ ०७९ मा प्रकाशित सेवाको पदपूर्ति गर्नेको प्रक्रियाको निरन्तरताको व्यवस्थापन गर्न सरोकारवाला निकायबाट सहमति लिई सम्पूर्ण पदाधिकारी सरोकारवालासमेतको प्रयासबाट एक महिनाभित्र बाँकी रहेको विभागका अन्तर्वार्ता सञ्चालन गरी एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ । 

कर्मचारी कल्याण समाजसँग पनि सहमति भएको छ । दशदिने अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको कर्मचारी कल्याण समाजसँग प्रतिष्ठानले चारबुँदे सहमति गरेको छ । त्यस्तै, ०७८ देखि खाइपाइ आएको दुई हजार भत्तालाई तलबमा समायोजन गरी बजेटको उपलब्धताका आधारमा वितरण गर्नेसमेत सहमति भएको छ । करार सेवामा तीन वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई पफर्मेन्स करार सेवाअन्तर्गत नियुक्ति गर्ने सहमतिसमेत भएको छ । 

सहमतिपत्रमा प्रतिष्ठानका तर्फबाट कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, अस्पताल निर्देशक प्रा.डा. जगतनारायण प्रसाद र रजिस्ट्रार सूर्य संग्रौलाले हस्ताक्षर गरेका छन् । आन्दोलनरत पक्षबाट चिकित्सक शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खान, मेडिसिन विभागका एडिस्नल प्रोफेसर डा. रविन मास्के र एनाटोमी विभागका एसोसिएट प्रोफेसर डा. सन्दीप साहले हस्ताक्षर गरेका छन् ।