१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१५० शिक्षकको राजीनामाले पठनपाठन ठप्प, उपचार सेवा प्रभावित

बिपी प्रतिष्ठान अस्तव्यस्त 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:o८:oo

रोकिएको बढुवा प्रक्रिया सञ्चालन गर्न माग राख्दै आन्दोलनरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकट गहिरिँदै गएको छ । 

प्रतिष्ठानका एक सय ५० जना चिकित्सक शिक्षकहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसमक्ष गत मंगलबार सामूहिक राजीनामापत्र बुझाएपछि प्रतिष्ठानका सम्पूर्ण सेवा थप प्रभावित बन्दै गएको छ । 

पाँच दिनयता प्रतिष्ठानमा बिरामीको उपचार सेवा प्रभावित बनेको छ भने विद्यार्थीको पठनपाठन ठप्प बनेको छ । सात महिनायता रोकिएको बढुवा प्रक्रिया सरोकारवाला निकायको सहमतिमा एक महिनाभित्र सुरु गर्ने प्रतिष्ठानसँग गत २४ भदौमा प्रतिष्ठान र आन्दोलनरत पक्षबीच सहमति भएको थियो । 

तर, महिना दिन बितिसक्दासमेत माग पूरा गर्नेतर्फ प्रतिष्ठानले चासो नदिएको भन्दै शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका एक सय ५० जना चिकित्सक प्रतिष्ठानका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहकुलपतिसमेत स्वास्थ्यमन्त्री बस्नेतलाई भेट्न गत सोमबार काठमाडौं गएका थिए ।

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेट गरेर आन्दोलनरत चिकित्सक प्रतिष्ठान फर्किसकेका छन् । तर, माग पूरा नभएसम्म काममा नफर्कने जनाएपछि विद्यार्थीको पठनपाठन ठप्प छ भने बिरामीको उपचार सेवा प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन ठप्प बनेपछि शुक्रबार विद्यार्थीले प्रदर्शनसमेत गरेका छन् । 

विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओशान्ति रजकले प्रतिष्ठानमा पठनपाठन अवरुद्ध हुन नहुने बताए । उनले भने, ‘प्रतिष्ठानमा विभिन्न समयमा आन्दोलन मात्रै हुने र पठनपाठन अवरुद्ध हुने भइरहेकाले अब तत्काल दुवै पक्ष बसेर समस्या समाधान गर्नुपर्छ ।’

राजीनामा दिएर फर्किएका चिकित्सक एडिसनल प्रोफेसर डा. रोविन मास्केले स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको बताउँदै चाँडै टुंगो लाग्नेमा आफूहरू आशावादी रहेको बताए । 

गत मंगलबार प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै अस्पतालमा शिक्षकहरू अनुपस्थित हुँदा प्रतिष्ठानका आकस्मिक, आइसियू र अन्तरंग तथा बहिरंगका सम्पूर्ण सेवाहरू प्रभावित हुने र पूर्ण क्षमतामा अस्पतालले सेवा दिन नसक्ने जनाएको छ । 

यद्यपि, अस्पताल उपनिर्देशक डा. इन्द्र लिम्बूले रुटिनको शल्यक्रिया सेवाबाहेक अस्पतालमा अन्य सम्पूर्ण उपचार सेवाहरू सञ्चालन भइरहेको बताए ।

प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र एडिसनल प्रोफेसरहरूको सात वर्षदेखि रोकिएको आन्तरिक पदपूर्ति तथा बढुवाप्रक्रिया सात महिना अघि सुरु भएको थियो । 

तर, लोकसेवा आयोगले शिक्षक सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०६९ को प्रस्तावित मस्यौदा स्वीकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रियाअगाडि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएपछि शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । 

प्रतिष्ठानमा कार्यरत एक सय ३० जना फ्याकल्टी शिक्षक र करिब एक हजार दुई सय कर्मचारीको आन्तरिक बढुवा रोकिएको छ । प्रतिष्ठानमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामीहरू उपचार सेवा लिन आउने गरेका छन् ।

ad
ad