
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको मृत्यु भएपछि हकवालाले पाउनुपर्ने बिमा रकममा जालझेल गरी ठगी गर्ने एक बिमा कम्पनीका शाखा प्रबन्धकविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । मोरङ केराबारी गाउँपालिका– ९ देवीझोडाका ३७ वर्षीय नइन्द्र विश्वकर्माको हकवाला श्रीमतीलाई झुक्यानमा पारेर बिमा रकम ठगी गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका प्रबन्धक सन्तोष अधिकारीलाई प्रहरीले पक्राउ गरेर अदालतमा मुद्दा दर्ता गरेको हो ।
बिमितका हकवालाले पाउनुपर्ने रकम दिनुको साटो उल्टै झुक्यानमा पारेर ठगी गर्ने अधिकारीलाई मोरङ जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । प्रहरीका अनुसार विश्वकर्मा ०८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि बहराइन गएका थिए । तर, मिर्गौलाको गम्भीर बिरामी भएपछि उनी एक वर्षपछि ०८१ मै स्वदेश फर्के । उपचारकै क्रममा उनको मृत्यु भयो ।
श्रीमान्को मृत्यु भएपछि हकदारले प्राप्त गर्ने वैदेशिक रोजगार म्यादी बिमाबापतको १३ लाख रुपैयाँ लिन श्रीमती भीमकुमारी विश्वकर्मा विराटनगरस्थित सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा पुगेकी थिइन् । तर, कार्यालयका शाखा प्रबन्धक सन्तोष अधिकारीले बिमासम्बन्धी जानकारी नभएको र पढलेख पनि गर्न नसक्ने देखेपछि दाबीकर्ता मृतककी श्रीमतीलाई झुक्यानमा पारेर विभिन्न कागजात र खाली चेकमा सहीछाप गर्न लगाएर भुक्तानी लिन भन्दै ग्लोबल बैंकमा एकल र संयुक्त खाता खोल्न लगाएका थिए ।
त्यसपछि अधिकारीले हकवाला भीमकुमारीलाई दाबीअनुसार १३ लाख नदिई १५ वर्षको भदा नाताका प्रतीक विश्वकर्मा र मृतककी जेठी श्रीमती मिरा विश्वकर्माको नाममा क्रमशः वार्षिक ५१ र ७० हजार रुपैयाँ किस्ता तिर्नुपर्ने गरी बिमा दर्ता गराएर आफूखुसी थप आर्थिक भार थपिदिएका थिए । हकवाला श्रीमतीले दाबीअनुसारको रकम माग गर्दा पाँच लाख ७० हजारभन्दा बढी दिन नसक्ने भन्दै हप्काएर पठाएका थिए ।