१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ बैशाख २५ बिहीबार o६:o१:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भर्ना खुलेको ६ दिनमै ठुला सामुदायिक विद्यालय विद्यार्थीले भरिए

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार o६:o१:oo

शिक्षक आन्दोलनका कारण भर्ना कार्यक्रम ढिलो सुरु गरेका धेरैजसो सामुदायिक विद्यालयमा ६ दिनमै विद्यार्थी भरिएका छन् । भर्ना गर्न आउने विद्यार्थीको संख्या बढेपछि कतिपय सामुदायिक विद्यालयले विद्यार्थी फर्काउन थालेका छन् । 

१७ वैशाखमा शिक्षक र सरकारबिच नौबुँदे सहमति भएपछि शिक्षकहरू घर फर्किएका थिए । भर्ना कार्यक्रम १९ वैशाखदेखि मात्रै सुरु भएको थियो । चार–पाँच दिनमै सामुदायिक विद्यालयमा भर्ना गर्न मुस्किल भएपछि नेता, व्यापारी र चिनजानका व्यक्तिको दबाब आउन थालेको विद्यालयहरूले जनाएका छन् । सामुदायिक विद्यालयमा मुख्यतः कक्षा तीन, पाँच, आठ र नौमा भर्नाका लागि धेरै दबाब आउने गरेको छ । यी कक्षामा भर्ना हुन आउने अधिकांश विद्यार्थी निजीका छन् । 

रत्नराज्य माविका प्रअ रामाशिष यादव भन्छन्–
हामीकहाँ पहिलेदेखि नै विद्यार्थीको चाप हुन्थ्यो, पछिल्लो समय थप बढेको छ । तर, भौतिक अवस्था र जनशक्तिले जति भ्याउँछ त्यति मात्रै भर्ना गर्न सक्छौँ, कतिपय विद्यार्थीलाई भर्ना गर्न नसकिने भएपछि फर्काएका पनि छौँ ।

बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयमा एक हजार पाँच विद्यार्थी भर्ना भइसकेका छन् । यहाँ कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थी संख्या एक हजार एक सय छ । विद्यालयको भौतिक संरचनाले थेग्ने अवस्थामा विद्यार्थी भर्ना भइसकेको प्रधानाध्यापक दीपकबाबु श्रेष्ठले बताए । ‘हामीकहाँ विद्यार्थी भर्ना कार्यक्रम रोक्नुपर्ने अवस्था छ । भौतिक संरचनाले थेग्नेजति विद्यार्थी भर्ना सइसके, कतिपयलाई म्यानेज गरौँला भनेर पनि भर्ना गरिसकेका छौँ,’ उनले भने, ‘अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ, कतिपय विद्यार्थीलाई भर्ना गर्न नसक्ने भएपछि फिर्ता गर्नुपर्ने बाध्यता छ ।’ 

भक्तपुरको च्यामासिंहमा रहेको वागिश्वरी माविमा पनि विद्यार्थी भरिभराउ छन् । यहाँ चार हजार ४८ जना विद्यार्थी छन् । विद्यालयको भौतिक संरचनाले थेग्नेजति भर्ना गरिसकेको र कतिपय विद्यार्थीलाई समन्वय भएको विद्यालयमा पठाएको कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले बताए । ‘हामीले शिक्षक आन्दोलनका बिचमा पनि भर्ना र कक्षा सञ्चालन गर्‍यौँ, अहिले हाम्रो भौतिक संरचनाले थेग्नेजति विद्यार्थी भर्ना भइसकेका छन् । नयाँ तीन सय र रेगुलर ३८ सय हाराहारी विद्यार्थी भर्ना भइसकेका छन्,’ उनले भने, ‘अब कक्षा चार र पाँचमा मात्रै केही विद्यार्थी भर्ना गर्न सक्छौँ, अरूमा भरिए ।’ उनका अनुसार भर्नाका क्रममा विद्यार्थी र अभिभावकसँग अन्तर्वार्ता लिइएको थियो । 

रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माविमा पनि विद्यार्थी खचाखच छन् । देशभरिका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी भर्ना गर्न सक्ने यस विद्यालयमा करिब आठ हजार विद्यार्थी पढ्छन् । यस वर्ष पनि विद्यालयले विद्यार्थी भर्ना कार्यक्रम सकेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यनन्द ज्ञवालीले कक्षा एकदेखि १० सम्म ५५० विद्यार्थी नयाँ र अन्य पुरानै गरी सात हजार ८९० विद्यार्थी भर्ना भइसकेको बताए ।

‘शिक्षक आन्दोलनका कारण भर्ना ढिलो भए पनि हामीकहाँ विद्यार्थी संख्याको चाप छ । सबै कक्षाकोठा भरिए,’ उनले भने, ‘भर्ना गर्नुपर्‍यो भनेर फोन आउँछ, कतिपय भर्ना गर्न नपाएको भन्दै रुवाबासी गर्छन्, तर पालिकाले हामीलाई सहयोग गर्दैन, कक्षाकोठा र पूर्वाधारको कमी छ । आठ हजारभन्दा बढी विद्यार्थी व्यवस्थापन गर्न र पढाउन निकै कठिन पनि छ ।’ उनका अनुसार भर्नाका लागि आएका तीन सयभन्दा बढी विद्यार्थीलाई फर्काइएको छ । 

मध्यबानेश्वरस्थित रत्नराज्य माविले पनि भौतिक अवस्थाले थेग्नेजति विद्यार्थी भर्ना गरिसकेको छ । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवका अनुसार एक हजार ७५० विद्यार्थी भर्ना भइसकेका छन् । कक्षा आठका तीन सय विद्यार्थीले ग्रेडवृद्धिको परीक्षा दिँदै छन् । त्यसपछि पनि विद्यार्थी संख्या थपिने यादवले बताए । ‘हामीकहाँ पहिलेदेखि नै विद्यार्थीको चाप हुन्थ्यो, पछिल्लो समय थप बढेको छ,’ उनले भने, ‘तर, भौतिक अवस्था र जनशक्तिले जति भ्याउँछ त्यति मात्रै भर्ना गर्न सक्छौँ, कतिपय विद्यार्थीलाई भर्ना गर्न नसकिने भएपछि फर्काएका पनि छौँ ।’ उनले पछिल्लो समय महानगरभित्रका केही विद्यालय थप राम्रा बने पनि कतिपय विद्यालय भने कमजोर अवस्थामै रहेको बताए । 

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा भर्ना हुन आउने विद्यार्थीको चाप धेरै छ । ०३० मा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । यस वर्ष पनि विद्यालयको क्षमताअनुसार विद्यार्थी भर्ना कार्यक्रम रोक्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । विद्यालय खुलेको छोटो समयमै विद्यालयका कक्षाकोठा खचाखच भइसकेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए । उनका अनुसार यसमध्ये कक्षा १० सम्म एक हजार ९५० विद्यार्थी भर्ना भइसकेका छन् । जोशीका अनुसार हाल कक्षा ६ र सातमा चार सेक्सन भरिभराउ भएको छ । कक्षा नौ र १० मा सात–आठवटा सेक्सन ब्रेक गर्नुपर्ने अवस्था छ । 

कैलालीकै टीकापुरस्थित कर्णाली माविमा दुई हजार विद्यार्थी भर्ना भइसकेका छन् । यहाँ पनि सीमित भौतिक संरचना भएकाले थप विद्यार्थी भर्ना गर्न नसकिने अवस्था रहेको विद्यालयले जनाएको छ । 

काठमाडौंको बाफलमा रहेको ज्ञानोदय मावि पनि विद्यार्थी र अभिभावकको बढी रोजाइमा पर्ने विद्यालय हो । यस विद्यालयमा पछिल्लो ६–७ वर्षयता विद्यार्थी संख्या बढेको छ । यस वर्ष शिक्षक आन्दोलनका कारण ढिलो भर्ना खुले पनि लगभग भौतिक संरचनाले थेग्नेजति विद्यार्थी भर्ना भइसकेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइरालाले भर्ना हुन आउने विद्यार्थीको चाप बढेको बताए । उनले भर्ना हुन आउने विद्यार्थीको चाप भए पनि विद्यालयले चार हजार पाँच सयसम्मलाई पढाउन सक्ने बताए । ‘हाम्रो भर्ना क्षमताअनुसार विद्यार्थी भर्ना भइसकेका छन्, तर दबाब अझै आइरहेको छ,’ उनले भने, ‘दबाब आउँदैमा भर्ना गर्न सकिने अवस्था पनि हुँदैन । कक्षाकोठा र भौतिक संरचनाले जति भ्याउँछ त्यति गर्ने हो ।’

शिक्षाविद् विद्यानाथ कोइराला गुणस्तरीय शिक्षा र शुल्क नलाग्ने भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको बताउँछन् । ‘अहिले धेरै सामुदायिक विद्यालयका प्रधानाध्यापक भर्नाका लागि दबाब आयो भन्ने गर्नुहुन्छ, यो स्वाभाविकै हो । हाम्रा सामुदायिक विद्यालयको संरचना सीमित छन्, त्यहाँ सबै विद्यार्थीले पढ्न सक्ने भौतिक अवस्था छैन,’ उनले भने, ‘रूपान्तरण भएका र अभिभावकको मन जित्न खोजेका विद्यालयमा स्वाभाविकै आकर्षण बढ्छ, अब राज्यले सामुदायिक विद्यालयको अवस्था हेरेर संरचना बढाउनतर्फ लाग्नुपर्छ, जहाँ–जहाँ कम विद्यार्थी छन्, ती विद्यालयको बारेमा पनि सोच्नुपर्छ ।’ 

यी हुन् विद्यार्थी चाप धेरै हुने सामुदायिक विद्यालय 
चितवन नारायणगढमा रहेको नारायणी नमुना मावि, कान्ति मावि बुटवल, विश्व निकेतन मावि त्रिपुरेश्वर, बागिश्वरी मावि भक्तपुर, पब्लिक हाईस्कुल धरान, कालिका मानवज्ञान मावि बुटवल, दरबार हाईस्कुल (भानु मावि) काठमाडौं, रत्नराज्य स्कुल मध्यबानेश्वर, कर्णाली मावि टीकापुर, दुर्गालक्ष्मी नमुना मावि अत्तरिया कैलाली, नेपाल आदर्श मावि कपिलवस्तु, धनगढी मावि कैलाली, राष्ट्रिय मावि लम्कीचुहा कैलाली, ज्ञानोदय मावि बाफल, रझेना मावि, दाङ, सत्यवती माध्यमिक विद्यालय तनहुँ, पद्मोदय नमुना माध्यमिक विद्यालय दाङ, शान्ति नमुना मावि रुपन्देही, जनकल्याण मावि बौद्ध महांकाल, पद्मोदय मावि भक्तपुरलगायत । 

बढी विद्यार्थी भएका विद्यालयमा थपिएन भौतिक संरचना 
शिक्षा मन्त्रालयले आर्थिक वर्ष ०८०/८१ मा धेरै विद्यार्थी भएका विद्यालयको भौतिक संरचना विस्तार गर्ने योजना सुस्त गतिमा छ । दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको भौतिक संरचना विस्तार गर्ने योजनाले तीव्रता नआउँदा कतिपय विद्यालय कमजोर भौतिक अवस्थामा पठनपाठन गर्न बाध्य छन् । मन्त्रालयले ०८० मा कार्यविधि तय गरेर भौतिक संरचना विस्तार गर्ने योजना अघि बढाएको थियो । आव ०८०/८१ मा दुई हजारभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालय छनोट गरी केहीमा भौतिक संरचना विस्तार थालिने योजना तय गरिए पनि केहीमा मात्रै काम सुरु भएको छ । शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले योजना अघि सारेको थियो । 

दुई हजारभन्दा बढी विद्यार्थी संख्या भएका र भौतिक संरचना थप्नुपर्ने १४५ विद्यालयको स्थलगत सर्वेक्षण गरिएको थियो । त्यसमध्ये २७ वटा विद्यालयको मात्रै भौतिक संरचना विस्तारको काम अघि बढेको मन्त्रालयले जनाएको छ । जसमा कोशी प्रदेशबाट पाँच, मधेशबाट नौ, बागमतीबाट तीन, गण्डकीबाट दुई, लुम्बिनीबाट पाँच, कर्णालीबाट एक र सुदूरपश्चिम प्रदेशबाट दुई विद्यालय छनोट भएका छन् । चालू आवमा भौतिक संरचनाका लागि २३ करोड ३८ लाख बजेट विनियोजन भएको थियो । 

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भौतिक संरचना थप्ने सम्बन्धमा काम गरिरहेको बताए । ‘सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ, कतिपयको भौतिक संरचना कमजोर भएकाले व्यवस्थित गर्ने काम भइरहेको छ, यो कार्य इकाइले गरिरहेको छ, एकैपटकभन्दा पनि चरण–चरणमा भौतिक संरचना व्यवस्थित गर्ने काम हुन्छ ।’ 

विद्यार्थी भर्ना गर्न भक्तपुरका तीन विद्यालयको फरक अभ्यास
भक्तपुर नगरपालिका– ९ मा पर्ने तीनवटा सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्यक्रममा साझेदारी गरेका छन् । वागिश्वरी मावि, सरस्वती विद्यागृह र दतात्रय आधारभूत विद्यालयबिच समन्वय भएको हो । वागिश्वरी माविका कक्षा १ का संयोजक ज्ञानसागर प्रजापतिको संयोजकत्वमा समन्वय समिति बनाएर तीन विद्यालयले विद्यार्थी भर्ना कार्यक्रममा समन्वय गरेका हुन् । यी विद्यालयले एक–अर्कामा बढी भएका विद्यार्थी वा कुनै विद्यालयका विद्यार्थी कम भएमा मिलेर भर्ना गर्ने गर्छन् । वागिश्वरी माविमा विद्यार्थी अट्ने अवस्था नरहेको विद्यालयले जनाएको छ । कक्षा १ देखि १० सम्म चार हजार ४९ विद्यार्थी भर्ना भइसकेका छन् । त्यस्तै, सरस्वती विद्यागृहमा ६ सयभन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने दतात्रय आधारभूत विद्यालयमा विद्यार्थी संख्या तीन सयहाराहारी छ । वागिश्वरीले भर्ना गर्ने अवस्था नभएपछि समन्वय भएका विद्यालयमा विद्यार्थी पठाउन थालेको छ ।