
पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालमा भएको डुंगा दुर्घटनामा परेका सातजनाको सकुशल उद्धार गरिएको छ। बिहीबार अपराह्न ५ बजेको समयमा एक्कासि आएको हावाहुरीको कारण तालमा रहेको डबल प्याडल बोट पल्टिँदा तालमा खसेकाहरूको सकुशल उद्धार गरिएको हो।
दुर्घटनापछि डुंगामा यात्रा गरेकाहरूको फेवातालस्थित रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी बलसँगै उद्धारका लागि पछि आएका नेपाल प्रहरी र नेपाली सेनको उद्धार टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए।
उद्धार गरिएकाहरूमा ६ जना भारतीय र एकजना नेपाली रहेका छन्। गणपति तिमिल्सिनाका अनुसार भारतको जयपुर बस्ने २५ वर्षकी सोनु बर्मा, २२ वर्षकी नेहा शेखावत, २१ वर्षका अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित र २४ वर्षीय श्याम प्रजापति रहेका छन्। यसैगरी पोखराका नन्दबहादुर गुरुङलाई समेत सकुशल उद्धार गरिएको तिमिल्सिनाले जानकारी दिए।