१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
केदार बस्नेत धरान
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानको शिक्षा शाखामा तालाबन्दी : पठनपाठन र परीक्षा रोकियो

Read Time : > 1 मिनेट
केदार बस्नेत धरान
नयाँ पत्रिका धरान
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षकहरूले परीक्षा शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण प्रतिष्ठानको पठनपाठन र नियमित परीक्षा रोकिएको छ । बिएससी एमएलटी तथा एमबिबिएसको सम्पूर्ण परीक्षा स्थगित भएको छ । 

प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले आइतबार सूचना जारी गर्दै ‘परिस्थिति सहज भएपछि’ परीक्षा सञ्चालन हुने जानकारी गराएका  छन् । सात महिनाअघिदेखि सुुरु भएको बढुवा प्रक्रिया रोकिएपछि प्रतिष्ठानका शिक्षकहरू एक सातादेखि आन्दोलित छन् । प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बढुवा प्रक्रिया सुरु गरेका थिए । उनी निलम्बनमा परेपछि निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रतिष्ठानका रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्माले समेत बढुवा प्रक्रिया अघि बढाएका थिए । तर, कायममुकायम उपकुलपतिमा प्रा.डा. प्रल्हाद कार्की नियुक्त भएपछि उनले बढुवा प्रक्रिया रोकेका हुन् । 

कार्कीले आन्तरिक बढुवाका लागि लोकसेवा आयोगसँग राय माग गरेपछि आयोगले शिक्षक सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०७९ को प्रस्तावित मस्यौदा स्वीकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रिया अगाडि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएको छ । शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले आन्तरिक रूपमा प्रतिष्ठान आफैँले आन्तरिक बढुवाका सबै काम गर्न सक्ने भए पनि बढुवा प्रक्रिया रोक्नकै लागि आयोगलाई सोधिएको बताए । केही प्राध्यापकले परीक्षा सञ्चालन गर्न लागेको सूचना पाएपछि आन्दोलनरत भिडले तालाबन्दी गरिदिएको प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा. खानले जानकारी दिए । ‘तालाबन्दी गर्ने हाम्रो पूर्वनिर्धारित कार्यक्रम थिएन, आन्दोलनरत भिडले एग्रेसिभ भएर तालाबन्दी गरिदिएको छ,’ उनले भने ।

प्रतिष्ठानका उपकुलपतिसँग शनिबार बसेको शिक्षक–कर्मचारीको छलफल विनानिष्कर्ष टुंगिएको थियो । उपकुलपति कार्कीले ‘मन्त्रीसँग छलफल गर्ने’ बताएपछि आन्दोलनरत शिक्षकहरू अझ रुष्ट बनेका छन् । शिक्षक चिकित्सकले शिक्षण, परीक्षा र अतिरिक्त जिम्मेवारीका सबै कार्यक्रम बहिष्कार गर्दै धर्नालगायतका आन्दोलन गर्दै आएका छन् ।

समाजको आन्दोलनले विद्यार्थीहरूको परीक्षा तथा पठनपाठन रोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले ‘आन्दोलनप्रति प्रतिष्ठान गम्भीर रहेको’ भन्दै चाँडो निकास दिन आफूहरू लागेको बताए । प्रतिष्ठानमा बढुवा प्रक्रियामा १८ वर्षदेखि  रोकिएका शिक्षक–कर्मचारी छन् । बढुवा रोकिएका शिक्षक चिकित्सक प्रतिष्ठान छाड्नेहरूको तथ्यांकसमेत धेरै छ । अनुभवी शिक्षक, चिकित्सकले प्रतिष्ठान छाड्न थालेपछि प्रतिष्ठानको विश्वसनीयता र आर्थिक अवस्था धराशायी हुँदै गएको जानकारहरू बताउँछन् ।

ad
ad