कस्मिर मुद्दा : बदला होइन, मेलमिलाप

कस्मिरी पण्डितले घर गुमाएका छन् भने कस्मिरी मुसलमान आफ्नै घरमा जेलमा झैँ कैद छन् । तीन दशकदेखिको सशस्त्र द्वन्द्वले निम्त्याएको कस्मिरी समाजको चित्र यही हो ।

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

‘द कस्मिर फाइल्स’ चलचित्र रिलिज भएयता कस्मिरी पण्डितको विस्थापन चर्चाको विषय बनेको छ । कस्मिरी पण्डित निकै सानो अल्पसंख्यक समूह हो, यद्यपि कस्मिरी संस्कृतिको अभिन्न अंग हो । पछिल्लो तीन दशकयता यो समुदाय आफ्नो घर फर्किन चाहन्छ र द्वन्द्वकालमा नृशंस ढंगले मारिएकाहरूका आफन्त, बलात्कृत, घाइते एवं आतंकित पारिएकाहरूले न्यायको माग गरिरहेका छन् । पण्डितहरूको पुनर्स्थापनामा हालसम्म सरकारका असफलताका कारण जम्मु र कस्मिरका बहुसंख्यक मुसलमानका वास्तविक गुनासालाई साम्प्रदायिकताको कोणबाट हेर्नु हो ।   

कस्मिरी मुसलमानलाई आफ्नो समुदायको छवि बिगार्न अभियान नै चलाइँदै छ भन्नेमा विश्वस्त हुन हालको सरकारले थप कारण दिएको छ । कस्मिरी पण्डित आफ्ना परिवारलाई आमविस्थापन गराइएका घटनामा निष्पक्ष अनुसन्धान हुने हो भने यसले यी दुई समुदायबीच टुटेको विश्वास र सम्बन्धलाई पुनर्निर्माण गर्न सघाउँथ्यो । र, अन्ततः बहुसंख्यक मुसलमान समुदायको परायाकरण समाप्त हुन्थ्यो कि ? एक राजनीतिक अभियन्ताका नाताले आमकस्मिरी जनता हिंसा एवं प्रताडनाका अपराधीलाई कठघरामा उभ्याउने गरी निष्पक्ष अनुसन्धानमा एकमत भएको पाउँछु । कस्मिरी जनता निष्पक्ष अनुसन्धान हुँदा पीडितले न्याय पाउने र त्रासदी अन्त्य हुनेमा विश्वस्त छन् ।  

सन् १९९० देखि कांग्रेस वा भाजपा नेतृत्वको कुनै पनि सरकारले यो त्रासदी अन्त्य गर्न कुनै चासो देखाएका छैनन् । ठीक विपरीत कस्मिरी पण्डित र मुसलमानबीच दरार ल्याउने गरी हिन्दू मतदातालाई ध्रुवीकृत गर्न हिन्दू दक्षिणपन्थीले कस्मिर त्रासदीलाई हतियारका रूपमा प्रयोग गरे । र, यसले हालको सरकारलाई कस्मिरप्रति क्रुर र सख्त बनाइदिएको छ । प्रश्न उठ्छ, के द कस्मिर फाइल्सले कस्मिरी पण्डितका पीडालाई निष्पक्ष ढंगले बोकेको छ ?          

म एक कस्मिरी पण्डित हुँ र दिल्लीमा राम्रै तलब–सुविधा भएको जागिर छोडेर कस्मिर उपत्यकामा ३२ वर्ष पहिले मैले जे गुमाएको थिएँ त्यो पुनप्र्राप्तिका लागि हानिएको छु । त्यस अर्थमा मैले प्रधानमन्त्री मोदी र उनको क्याबिनेटले समेत कस्मिरको सत्यता थाहा पाउन सुझाएको यस चलचित्रका समस्याबारे चिरफार गर्ने अधिकार राख्छु । चलचित्र हेर्दै गर्दा तीनवटा कुरा मेरा मनमा आए । पहिलो, जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)जस्ता शैक्षिक संस्थानलाई तारो बनाइएको छ । ह्वाट्सएप समूहमा मेरा थुप्रै साथी र आफन्त ‘जेएनयू टाइप’का भनेर जेएनयूलगायत शैक्षिक संस्थानमा पढेकालाई खारेज गरिरहेका छन् । 

दोस्रो, भनेको आममुसलमानविरुद्धको अन्त्यहीन घृणाको दुष्चक्रको निरन्तरता । फिल्मको प्रदर्शनपछि सामाजिक सञ्जालमा आएका भिडियोमा फिल्मका दर्शकले मुसलमान समुदायलाई आतंकवादीसँग सहानुभूति राखेको आरोप लगाइरहेका छन् र कस्मिरमा पर्यटन बहिष्कार गर्न आह्वान गरिरहेका छन् । अनुच्छेद ३७० र ३५ (क)को असंवैधानिक खारेजीपछि भाजपाले जम्मु–कस्मिरमा आधार गुमाएको छ । भाजपा र उसका साझेदार कस्मिरमा पत्तासाफ नै भएका छन् भने जम्मुको जिल्ला निर्वाचन मत प्रतिशत उल्लेखनीय ढंगले (१९ प्रतिशतले) घटेको छ । द कस्मिर फाइल्स भाजपालाई हिन्दूविरुद्ध मुसलमान भाष्यलाई ब्युँताउन र जम्मुमा हिन्दू मत बढाउन सहयोगी हुन सक्छ । वास्तवमा कस्मिरी पण्डितको दुःख–कष्टलाई राजनीतिक भाष्य बनाउन प्रयोग गरिएको छ ।

तेस्रो, कस्मिरी पण्डितलाई न्याय, उनको फिर्ती, पुनर्वास र मेलमिलापको विषय हो, जसलाई पृष्ठभूमिमा धकेलिएको छ । चलचित्रका प्रवद्र्धकसमेत रहेका कस्मिरी पण्डित समुदायकै डायस्पोराले पुनस्र्थापनाको न्यायको माग त उठाएका छन्, तर कस्मिरी मुसलमान र पण्डितबीचको मेलमिलापलाई सजिलै बेवास्ता गरेका छन् । चतुर्याइँपूर्वक सत्ताले चलचित्रलाई आन्तरीकृत गरेको छ, अर्थात् सत्ता आतंकवादको कोपभाजनमा परेको छ र सत्ता कस्मिरी पण्डितको मामिलामा लाचार बन्न पुगेको भाष्य सञ्चार गरिएको छ । यसरी सत्ताले मिहीन ढंगले कस्मिरमा पण्डितलाई फर्कने वातावरण छैन र त्यहाँ लागू गरिएको सैन्यनीतिमाथि प्रश्न उठाउनुहुँदैन भन्ने पनि पारिएको छ । 

कस्मिरमा विद्यमान द्वन्द्वबारे छलफल हुँदा कस्मिरी मुसलमान र पण्डितमा कसले बढी दुःख पाएका छन् भन्ने विषयमा आरोप–प्रत्यारोप चल्ने गर्छ । कस्मिरी पण्डितले घर गुमाएका छन् भने कस्मिरी मुसलमान आफ्नै घरमा पनि जेलमा झैँ कैद छन् । तीन दशकदेखिको सशस्त्र द्वन्द्वले निम्त्याएको कस्मिरी समाजको चित्र यही हो । चलचित्रमा देखाइएका धेरै घटना सत्य छन् र चित्रण गरेझैँ क्रुर वा बीभत्स पनि छन् । तर, यदि धार्मिक उग्रवादीले यस मुद्दालाई प्रोपागन्डा बनाएर प्रचार गर्छन् भने कस्मिरी पण्डितमाथि भएको हिंसाबारे इमान्दार र निष्पक्ष छलफल असम्भव हुन्छ ।

सन् १९९० को दशकमा कस्मिरका अल्पसंख्यकले जे भोगेका थिए, अहिले बाँकी भारतका अल्पसंख्यकले पनि त्यही व्यहोरिरहेका छन् । फरक यति मात्रै हो, भारतका बाँकी हिस्सामा सशस्त्र द्वन्द्वको माहोल छैन । दुवै अवस्थामा बहुसंख्यकले अल्पसंख्यकलाई जोगाउन सकेनन् । त्यसबाहेक ‘तपाईंका दुई सयजना मात्र मारिए र हाम्रा एक हजार ६०० जना मारिए’ भन्ने मार्काका तर्कले कहीँ पनि पुर्याउँदैन । कस्मिरमा रगतको होली खेलिएको थियो र छ, सत्य यही हो । 

हामी कस्मिरीले घृणा त्याग्नुपर्छ र एक–अर्काको पीडालाई सम्मान गर्न सिक्नुपर्छ । दुवै समुदायका मानिस वा यस विषयमा जोकोहीलाई पनि भारतीय राज्यबाट कस्मिरी मुसलमान वा उपत्यकाका हिन्दू अल्पसंख्यकमाथि पाकिस्तान प्रायोजित आतंकवादीले गरेको अपराधका भोगाइलाई खुलेर भन्ने छुट हुनुपर्छ । मेलमिलाप नै अबको बाटो हुनुपर्छ न कि बदला । द कस्मिर फाइल्समा यही विषय खड्किएको छ । द इन्डियन एक्सप्रेसबाट 

सुझावित समाचार