अमेरिकी मध्यावधि निर्वाचन परिणामले इजरायललाई धक्का

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

अमेरिकी मध्यावधि निर्वाचनमा इजरायलका कटु आलोचकले विजय हासिल गरेका छन् । निर्वाचन परिणामलाई इजरायलमा ठुलो धक्काको रूपमा लिइएको छ । ‘तपाईंहरूले सबैभन्दा कम सम्भावना भएका उम्मेदवारमाथि विश्वास गर्नुभयो,’ बुधबार मिसिगन राज्यको निकै प्रतिस्पर्धात्मक सिनेट चुनावी दौडमा जित हासिल गरेपछि बोल्ने क्रममा डेमोक्य्राटिक उम्मेदवार अल सयदले भने  । निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको उनको चुनावी क्षेत्रमा अल सयदले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वी माइक रोजर्सलाई  फराकिलो अन्तरले पराजित गरे ।

केही हदसम्म अल सयद सहजै जित्न नसक्ने उम्मेदवार थिए । ३४ वर्षको उमेरमा पहिलोपटक चुनावी मैदानमा उत्रिएका अल सयदले सजिलै जित हात पारे । उनले सुलभ सेवा र आधारभूत सुविधाको एजेन्डा अघि सारे, जसमा त्यति विवाद थिएन । साथै उनले ‘मेडिकेयर फर अल’ (सबैका लागि स्वास्थ्य सेवा) को वकालत पनि गरे, जुन अमेरिकी राजनीतिमा समाजवादी विचारधारानिकट मानिन्छ । तर, उनलाई जित्न नसक्ने उम्मेदवारका रूपमा करार गरिनुमा प्यालेस्टिनीप्रति इजरायलले अपनाएको नीतिमा उनको कटु आलोचना हो । अल सयदको इजरायलसम्बन्धी दृष्टिकोणले उनको राजनीति नै अन्त्य गर्नेछ भन्ने सोचका आधारमा उनका प्रतिद्वन्द्वीले चुनावी अभियान चलाएका थिए । यहाँसम्म कि डेमोक्य्राटिक पार्टीको प्राइमरी चुनावमा उनका प्रतिस्पर्धी तथा उग्र इजरायली समर्थक हेली स्टिभेन्सले अन्तिम समयमा इजरायल समर्थक रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई मत दिने निर्णय गरिन् ।

उता दक्षिणपन्थी विचारधारानजिक रहेको ‘अमेरिका इजरायल पब्लिक अफेयर्स कमिटी’ (एइप्याक)ले अल सयदलाई हराउन करिब तीन करोड डलर खर्च गरेको थियो । यो भनेको जुनसुकै चुनावी प्रतिस्पर्धामा सो संस्थाले गरेको अहिलेसम्मकै ठुलो लगानी हो । इजरायलप्रतिको कडा आलोचनाले नै अल सयद र अन्य डेमोक्य्राटिक उम्मेदवारलाई जित दिलाउन भूमिका खेलेको प्रारम्भिक संकेत देखिएका विश्लेषण हुन थालेका छन् ।  रिपब्लिकनहरू, जस्तै– इजरायल र त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि पनि अमेरिकी मध्यावधि निर्वाचन एक ठुलो धक्का साबित भएको छ । यसपटक मध्यावधि चुनावमा समाजवादी विचार बोक्ने ‘डेमोक्य्राटिक सोसलिस्टस अफ अमेरिका’ (डिएसए)द्वारा समर्थित छजना उम्मेदवारले कंग्रेसको चुनाव जितेका छन् । दक्षिणपन्थी ‘जियोनिज्म’को कडा आलोचक मानिने यस संस्थाका उम्मेदवारले आफ्ना प्राइमरी प्रतिद्वन्द्वीको एइप्याकसँगको सम्बन्धलाई उजागर गरेका थिए ।

उसो त माथि उल्लेख भएका ६ जना उम्मेदवार नै डेमोक्रेट्सहरूको गढ मानिने क्षेत्रमा चुनावी दौडमा थिए । ती त्यस्ता क्षेत्र हुन्, जहाँ डेमोक्रेटिकका प्राइमरीमा विजेता नै प्रायः आमचुनाव जित्ने गर्छन् । कोलोराडो राज्यमा २९ वर्षीया वकिल मेलाट किरोसले प्राइमरी चुनाव प्रतिद्वन्द्वी डायना डेगेटलाई सजिलै पराजित गरिन, जो एइप्याकसँग सम्बन्ध रहेको सुपर प्याकद्वारा समर्थित सांसद थिइन । माथिल्लो म्यानहटन र ब्रोंक्सका केही भाग मिलेर बनेको न्युयोर्क क्षेत्रमा डारियालिजा एभिला चेभालियरले कुनै समय अजेय ठानिएका एड्रियानो एस्पेलाटलाई हराए । प्रकाशन गृह सिटी एन्ड स्टेट न्युयोर्कले कोलम्बिया विश्वविद्यालयमा भएको गाजाविरोधी अभियानमा सक्रिय रहेका विद्यार्थी नेता चेभालियर ‘कंग्रेसको सबैभन्दा उग्र प्यालेस्टाइन समर्थक सदस्य’ हुने भविष्यवाणी गरेको छ ।

उम्मेदवारबिच कुनै मतभेद नरहेको अवस्थामा पनि इजरायलको सन्दर्भमा केही उम्मेदवारले कृत्रिम विवाद सिर्जना गरे । जस्तो– ब्रुकलिनको ‘कम्युनिस्ट करिडोर’ भनेर चिनिने क्षेत्रमा पूर्वराज्यसभा सदस्य तथा कलाकार क्लेयर भाल्डेजले सिद्धान्तनिष्ठ प्रगतिशील एन्टोनियो रेनोसोमाथि जित हासिल गरिन् । चुनावी अभियानमा भाल्डेजले रेनोसोमाथि अप्रमाणित रूपमा इजरायली समर्थन हासिल भएको आरोप लगाइन् । जबकि, उनलाई वित्तपोषित गर्ने संस्था वास्तवमा न्यूयोर्कको शिक्षक संघहरूमध्ये एक थियो ।

द टाइम्स अफ इजरायलले स्पष्ट रूपमा उल्लेख गरेको छ कि पेन्सिलभेनियाका क्रिस रब्बले ‘उग्र–वामपन्थी अनलाइन स्ट्रिमर हसन् पिकर’को समर्थन पाएका थिए । पिकर तिनै हुन, जसको अल सयदलाई उच्च समर्थन गरेका थिए । रब्बले सहज जित हासिल गरे । ओहायो राज्यमा विजेता डेमोक्य्राट सेरोड ब्राउन र रिपब्लिकन जोन हस्टेड दुवैले इजरायल समर्थक संगठनबाट सहयोग पाएका थिए । ब्राउनलाई समर्थन गर्ने उदारवादी जियोनिस्ट (यहुदीवादी) जे स्ट्रिट इजरायली सरकारको नीतिको आलोचना गर्छ ।

जर्जिया राज्यमा यहुदी डेमोक्य्राटिक सिन्टेर जोन ओसफले एउटा यस्तो स्थिति बनाए, जसले दुवै पक्षका मतदातालाई प्रभावित बनाउन पुग्यो । उनले चुनावी अभियानमा इजरायलको सुरक्षा र ‘निर्दोष प्यालेस्टिनीहरूको जीवनको मूल्यांकन’ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रिपब्लिकन उम्मेदवार माइक कोलिन्सलाई भारी मतले  पराजित गरे । न्युयोर्क सहरको वाम–प्रजातान्त्रिक राजनीतिमा जीवन बिताएका ब्राड ल्यान्डरले इजरायली यहुदीहरू र प्यालेस्टिनीहरू, दुवैप्रति सहानुभूति देखाएर आफ्नो यहुदी र प्रगतिशील पहिचान कायम राखेका छन । उनले आफ्नो प्राथमिक अभियानलाई एइप्याकसँग नबेच्ने भनेर वर्तमान डेन गोल्डम्यानलाई चुनौती दिए । यसपटक चुनाव जित्ने इजरायलविरोधीमा वामपन्थीदेखि उदारवादीसम्म छन । तर, यी सबै विजेतामा एउटा समानता छ– उनीहरू इजरायलको युद्ध र कब्जाको विरोध गर्छन् र प्यालेस्टिनी आत्मनिर्णयको समर्थन गर्छन ।

जुडिथ लेभिन द गार्जियनकी स्तम्भकार हुन् ।

द गार्जियनबाट
 

सुझावित समाचार