अमेरिकी निर्वाचनमा थरीथरी कीर्तिमान

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • प्रथम मुस्लिम सिनेटरदेखि पहिलो अश्वेत महिला गभर्नरसहित विभिन्न जाति, लिंग, धर्म र यौन पहिचान बोकेका नेताले अमेरिकी संसद्मा प्रतिनिधित्व गर्ने भएका छन्

अहिले अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको खराब प्रदर्शन सबैभन्दा बढी चर्चाको विषय बनिरहेको छ । तर, यस चुनावको महत्व डेमोक्य्राटिक पार्टीको व्यापक विजयभन्दा बढी छ । निर्वाचनमा विभिन्न जाति, लिंग, धर्म र यौन पहिचानका अलग–अलग समुदायका उम्मेद्वारले पहिलोपटक जित हात पारेका छन्  ।

पहिलोपटक, जर्जिया राज्यमा एक अश्वेत महिला गभर्नर पद सम्हाल्दै छिन् । त्यस्तै, न्यू मेक्सिको राज्यले पहिलोपटक आदिवासी अमेरिकी महिला गभर्नर चुनेको छ । टेक्सास राज्यमा पहिलोपटक ल्याटिन अमेरिकी मूलकी महिला सोही पदमा पुगेकी छिन् । मिसिगनले आफ्नो पहिलो मुस्लिम सिनेटर निर्वाचित गरेको छ । उता, मिनेसोटाका मतदाताले राज्यको पहिलो आदिवासी अमेरिकी महिला सिनेटर निर्वाचित गरेको छ । न्यू ह्याम्पसायरले आफ्नो पहिलो घोषित समलिंगी पुरुष सिनेटर निर्वाचित गरेको छ । इलिनोई अमेरिकी सिनेटमा काला  र अन्य जातीय समुदायका दुई महिलाले एकसाथ प्रतिनिधित्व गर्ने पहिलो राज्य बन्ने तयारीमा छ ।

पहिलो मुस्लिम सिनेटर 
डेमोक्य्राट अब्दुल एल–सयदले मिसिगन राज्यमा कठोर प्रतिस्पर्धात्मक चुनाव जिते । पेसाले चिकित्सक ४२ वर्षीय प्रगतिशील नेताले रिपब्लिकन माइक रोजर्सलाई पराजित गर्दै अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम नेताको इतिहास रचेका छन् । उनको विजयले माथिल्लो सदनमा डेमोक्य्राटिक बहुमतलाई अझ बलियो बनाउन सघाएको छ । एल–सयदसँगै टेक्सास, क्यान्सस् र साउथ क्यारोलिनामा अप्रत्याशित जितपछि पार्टीले सिनेटमा बहुमत हासिल गर्यो ।

एल–सयदको चुनावी अभियानमा धेरैको आलोचना सामना गर्नुपर्यो । उनले आफ्ना प्रतिद्वन्द्वी रोजर्स मात्र होइन, राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत दक्षिणपन्थी टिप्पणीकारबाट धेरै आक्रमणको सामना गर्नुपर्यो । उनको धर्मलाई औँल्याउँदै ट्रम्पले बारम्बार एल–सयदलाई ‘जिहादी’ भने । एल–सयदले चुनावी अभियानमा ‘मेडिकेयर फर अल’ (सबैलाई स्वास्थ्य बिमा) र इजरायललाई अमेरिकी सैन्य सहायताको निलम्बनजस्ता प्रगतिशील नीति जोडदारका साथ उठाएका थिए । 

सिनेटमा रेकर्डै रेकर्ड
मिनेसोटा राज्यकी डेमोक्रेट उम्मेदवार पेगी फ्लानागन अमेरिकी सिनेटमा निर्वाचित पहिलो आदिवासी अमेरिकी बनेकी छिन् । उनी क्यानडा र अमेरिकाको ग्रेट लेक्स क्षेत्रमा बसोवास गर्ने सांस्कृतिक रूपमा एक–अर्कासँग जोडिएका आदिवासी जनजाति समूह ‘अनिसिनाबे क्वे’ वा ‘ओजिब्वे’ समुदायकी हुन् । लामो समयदेखि रिपब्लिकन गढ मानिने दक्षिण क्यारोलिना डेमोक्य्राट एन्ड्रयुजले सिनेट सिटमा २५ वर्षको रिपब्लिकन पकड समाप्त गरिन् । बाल रोग विशेषज्ञ एनीले आफ्नो अभियानमा स्वास्थ्य सेवामा पहुँचलाई मुख्य मुद्दा बनाएकी थिइन् ।

न्यू ह्याम्पसायर राज्यमा, डेमोक्य्राट क्रिस पप्पास अमेरिकी सिनेटमा निर्वाचित पहिलो खुला रूपमा घोषित समलिंगी पुरुष बनेका छन् । पप्पास हाल प्रतिनिधिसभाको सदस्य हुन् । उनले रिपब्लिकन सिनेटर जोन ई. सुनुनुलाई हराए । पप्पासको यौन पहिचान उनको अभियानमा प्राथमिक मुद्दा थिएन । बरु, उनले बढ्दो मूल्यवृद्धि, स्वास्थ्य सेवा खर्च र भ्रष्टाचारलगायत मुद्दा उठाएका थिए ।

इलिनोई राज्य दुई फरक जातीय समूहका महिलालाई एकैसाथ सिनेट जिताउने देशको पहिलो राज्य बन्दै छ । डेमोक्य्राट जुलियाना र्स्ट्याटनले रिपब्लिकन डन ट्रेसीलाई पराजित गरिन् । उनीसँगै राज्यबाट वर्तमान सिनेटर ट्यामी डकवर्थले सिनेटमा प्रतिनिधित्व गर्नेछिन् । डकवर्थले यसअघि नै धेरै अवरोध पार गरेर इतिहास रचेकी नेतृ हुन् । उनी अमेरिकी कंग्रेसमा निर्वाचित हुने पहिलो थाई मूलकी अमेरिकी महिला हुन् भने उनी दुवै खुट्टा गुमाएकी पहिलो सिनेटरसमेत हुन् ।

रिपब्लिकनको गढ मानिने टेक्सास राज्यमा रिपब्लिकन पार्टीलाई अर्को धक्का लागेको छ । त्यहाँ डेमोक्य्राट जेम्स टालारिकोले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई पराजित गरे । उनी १९८८ पछि अर्थात् ३८ वर्षपछि राज्यबाट सिनेट पद जित्ने पहिलो डेमोक्य्राटिक नेता बनेका छन् । गत वर्षसम्म शिक्षक पेसामा आबद्ध टालारिकोको नाम धेरैले सुनेकै थिएनन् । तर, उनले बढ्दो मुद्रास्फीति र रिपब्लिकन शासनअन्तर्गत जीवनयापनको लागतलाई आफ्नो अभियानमा प्रमुख मुद्दा बनाएर महत्वपूर्ण जित हासिल गरेका छन् ।

अमेरिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको राज्य टेक्सासलाई दशकौँदेखि रुढिवादी राजनीतिको गढ मिानिँदै आएको छ । प्रायः रिपब्लिकन नीति यहाँ परीक्षण भएर पछि अन्य राज्यमा लागू गरिने गरेको देखिन्छ । त्यसबाहेक टालारिको–प्याक्सटनबिचको चुनावी प्रतिस्पर्धा अमेरिकी इतिहासको सबैभन्दा महँगो सिनेट चुनावमध्ये एक बनेको छ । अर्बपति एलोन मस्कले रिपब्लिकन उम्मेद्वार प्याक्सटनको समर्थन गर्दै १५.८ करोड डलर खर्च गरेका थिए ।

ल्याटिन–अमेरिकीदेखि अफ्रिकी–अमेरिकी मूलका गभर्नर
यसपटक संसद्को साथै विभिन्न राज्यमा राज्य–प्रमुख (गभर्नर)को पनि चुनाव भएको थियो । यस प्रतिस्पर्धामा पनि विभिन्न महत्वपूर्ण रेकर्ड बनेको देखियो । टेक्सास राज्यले आफ्नो पहिलो ल्याटिन–अमेरिकी गभर्नर निर्वाचित गरेको छ । डेमोक्य्राट जिना हिनोजोसाले तीन कार्यकालका रिपब्लिकन पार्टीका गभर्नर ग्रेग एबोटलाई पराजित गरिन् । यसले राज्यको सर्वोच्च कार्यकारी पदमा रिपब्लिकन पार्टीको पकड समाप्त गरेको छ । सन् १९९० मा एन रिचर्ड्स निर्वाचित भएदेखि कुनै पनि डेमोक्य्राटले टेक्सासको गभर्नर पद जित्न सकेका थिएनन् । ओहायो राज्यमा डेमोक्य्राट उम्मेद्वार एमी एक्टनले भारतीय मूलका अमेरिकी अर्बपति विवेक रामास्वामीलाई पराजित गर्दै दुई दशकमा राज्यको पहिलो डेमोक्य्राट तथा राज्यको पहिलो महिला गभर्नर बनिन् । सन् २००० को दशकमा ओहायो एक प्रमुख चुनावी रणभूमि हुन गर्थ्यो । तर, हालैका राष्ट्रपति चुनावमा यो राज्य रिपब्लिकनतिर बढी झुकेको देखिन्थ्यो । सन् २०२४ मा यहाँका मतदाताले ट्रम्पलाई ११ प्रतिशतको अन्तरले बढी मत दिएका थिए ।

यसबिच जर्जिया राज्यमा डेमोक्य्राट केइसा लान्स बटम्स अमेरिकी इतिहासमा गभर्नर निर्वाचित पहिलो अश्वेत महिला बनेकी छिन् । एट्लान्टाकी पूर्वमेयर ५६ वर्षीया बटम्सले अर्बपति व्यापारी तथा रिपब्लिकन उम्मेद्वार रिक ज्याक्सनलाई पराजित गरेकी छिन् । दासत्व, जातीय भेदभाव र नागरिक अधिकार आन्दोलनमा डुबेको यस राज्यमा २५ वर्षभन्दा बढी समयपछि डेमोक्य्राटले गभर्नर पद जितेको हो ।

न्यू मेक्सिको राज्यमा डेमोक्य्राट डेब हालन्ड अमेरिकी इतिहासकी पहिलो आदिवासी अमेरिकी महिला गभर्नर बनेकी छिन् । उनले पूर्वमेयर तथा रिपब्लिकन उम्मेद्वार ग्रेग हललाई पराजित गरेर यो पद सम्हाल्न लागेकी हुन् । हालन्डका लागि यो विजय उनको राजनीतिक करियरमा अर्को ऐतिहासिक कोसेढुंगा हो । सन् २०१८ मा कंग्रेस (तल्लो सदन)मा निर्वाचित पहिलो दुई आदिवासी अमेरिकी महिलामध्ये एक रहेकी हालन्ड बाइडेन प्रशासनमा देशका जमिन र प्राकृतिक सम्पाद हेर्ने ‘डिपार्टमेन्ट अफ इन्टेरियर’ सम्हाल्दै क्याबिनेट मन्त्री हुने पहिलो आदिवासी महिला बनेकी थिइन् । यसैबिच, फ्लोरिडाले आफ्नो पहिलो अश्वेत गभर्नरका रूपमा बायरन डोनाल्ड्सलाई निर्वाचित गरेको छ । यस चुनावमा ऐतिहासिक रेकर्ड बनाउने उम्मेद्वारको सूचीमा डोनाल्ड्स एक मात्र रिपब्लिकन हुन् ।

प्रतिनिधिसभामा पनि नयाँ कीर्तिमान 
डेमोक्य्राटहरू तल्लो सदनको ४१ सिटमध्ये कम्तीमा २६१ सिट जित्ने तयारीमा छन् । यहाँ पनि विभिन्न उम्मेद्वारले केही इतिहास रचेका छन् । एलिसन मोन्टगोमेरीले अलाबामाको स्टेट हाउस डिस्ट्रिक्ट २५ का लागि चुनाव जित्दै अलाबाको राज्य संसद्मा निर्वाचित हुने पहिलो ट्रान्सजेन्डर महिला बनिन् ।  अबियर कावास न्युयोर्क राज्यसभामा हिजाब लगाउने पहिलो प्यालेस्टिनी–अमेरिकी महिला बनेकी छन् । उनी विभिन्न अमेरिकी राज्य विधायिकामा निर्वाचित केही प्यालेस्टिनी–अमेरिकीमध्ये एक पनि हुन् । कावास डेमोक्रेटिक पार्टीनजिक रहेको प्रगतिशील दल डेमोक्रेटिक सोससिस्ट अफ अमेरिकाकी सदस्यसमेत हुन् । गत वर्ष यही समूहका सदस्य रहेका जोहरान ममदानीले न्युयोर्क सहरको मेयरको चुनाव जितेका थिए ।

उता वकिल रहेका डेमोक्रेटिक सोसलिस्ट मेलाट किरोसले कोलोराडो राज्यको पहिलो कंग्रेसनल डिस्ट्रिक्टको चुनाव जित्दै प्रतिनिधिसभामा त्यस राज्यको प्रतिनिधित्व गर्ने पहिलो अश्वेत महिला बनेकी छन् । २९ वर्षीया किरोस तल्लो सदनको सबैभन्दा कान्छी सदस्यमध्ये एक हुन् ।

सेनाका पूर्वकम्ब्याट् सर्जन एडम हमावीले न्यू जर्सी राज्यको १२औँ कंग्रेसनल डिस्ट्रिक्टको चुनाव जित्दै कंग्रेसमा त्यो राज्यको प्रतिनिधित्व गर्ने पहिलो मुस्लिम बनेका छन् । पहिलो पुस्ताकी भारतीय मूलकी अमेरिकी शिक्षिका पिया डान्डियाले फ्लोरिडाको २२औँ कंग्रेसनल डिस्ट्रिक्टको चुनाव जितेका छन् । योसँगै उनी कंग्रेसमा फ्लोरिडाको प्रतिनिधित्व गर्ने भारतीय मूलकी पहिलो व्यक्ति बनेकी छिन् ।

(चक्रवर्ती विदेश नीतिमाथि कलम चलाउँछिन् ।)
द प्रिन्टबाट 

सुझावित समाचार