- कक्षामा विद्यार्थी नियमित उपस्थित हुने, शिक्षकले नियमित पढाउने र कर्मचारीले समयमै कार्यस्थलमा उपस्थित हुने हो भने पनि त्रिविमा सुधार सम्भव छ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालको उच्च शिक्षाको मेरुदण्ड हो । लगभग २० विश्वविद्यालय र केही स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेपछि पनि नेपालको उच्च शिक्षाको ७५ प्रतिशतभन्दा बढी भार त्रिविले नै थेगिरहेको छ । विश्वविद्यालय सुधारको लक्ष्यसहित पुराना पदाधिकारीको बिदाइ गरी मेरिटोक्रेसीका आधारमा नियुक्त गरिएको भनिएका उपकुलपति तथा निजको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरिएका छन् । यससँगै त्रिवि सुधारको अबको बाटो के हुने भन्ने विषयमा घनीभूत छलफल सुरु भएको छ ।
हालै टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्यांकिङमा त्रिविको स्थान १५००+ बाट खस्किँदै १८००+ मा पुगेपछि सुधारको बहसले थप प्राथमिकता पाएको छ । नीति निर्माण गर्ने थलो संसद्देखि देशका प्राज्ञिक बहसका डबलीसम्म त्रिवि सुधारको विषयले विशेष स्थान पाएको छ । विश्वका ख्यातिप्राप्त विश्वविद्यालयको उदाहरण दिँदै यसको विशाल संरचनालाई खण्ड–खण्ड पार्ने वा विभाजन गर्ने योजनासमेत अघि सारिएका छन् । मेडिकल र इन्जिनियरिङलाई छुट्टै विश्वविद्यालय बनाउने योजना पनि सुनिन्छ । यस्ता योजना अघि सार्ने विद्वान्ले कताकता त्रिविको भित्री यथार्थ नबुझेका हुन् कि जस्तो लाग्छ । त्रिवि सुधारका लागि सर्वप्रथम यसका यथार्थ र भित्री समस्या के–के हुन् भन्ने कुरा बुझ्न आवश्यक छ । यसको सुधारका लागि ठुल्ठुला प्रस्ताव अघि सार्दै गरिएका धेरै छलफल सुन्दा तथा लेखहरू पढ्दा यस्तो लाग्छ, ती विद्वान् त्रिविको वास्तविक अवस्थाबारे पर्याप्त जानकार छैनन् ।
त्रिविलाई सुधार गर्न ठुल्ठुला विखण्डनकारी योजनाभन्दा यसका समस्याको भित्री तहसम्म पुगेर तिनको समाधानका लागि अगाडि सारिने व्यावहारिक प्रस्ताव प्रभावकारी हुन सक्छन् । सोहीअनुसार यसको सुधारका लागि ‘नियमको भन्दा सफा नियतसहितको कार्ययोजना’को खाँचो छ । यसको आसय हालसम्मका नियम पूर्ण छन् भन्ने होइन, तर प्रथमतः ती नियमलाई सफा नियतसाथ कार्यान्वयन गर्नु आवश्यक छ । ठुलो संरचनाको विखण्डन होइन, विकेन्द्रीकरणको आवश्यकता छ । विद्यार्थी संख्या बोझ होइन, अवसर हो भनेर काम गर्नुपर्ने अनिवार्यता छ ।
सुधारका लागि आधारभूत काम : त्रिभुवन विश्वविद्यालयको तत्काल सुधारका लागि निम्नानुसारका सामान्य कामको प्रभावकारी कार्यान्वयन गर्नु अनिवार्य छ ।
पहिलो– विद्यार्थी नियमित रूपमा कक्षामा आउने वातावरण बनाउनुपर्छ । नियमित कार्यक्रममा भर्ना भएका विद्यार्थी कक्षामा अनिवार्य रूपमा उपस्थित हुने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्छ । विद्यार्थी कक्षामा उपस्थित नभई उत्तीर्ण हुन खोज्ने प्रवृत्तिले पनि त्रिविमा समस्या सिर्जना गरेको छ ।
दोस्रो– शिक्षण सेवामा नियुक्त भएका सम्पूर्ण शिक्षकले आफ्नो नियमित कक्षाभार अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गर्नुपर्छ । कक्षाभार नपुग्ने शिक्षकलाई जहाँ कक्षा आवश्यक छ, त्यहाँ पठाउनुपर्छ । पढाउने जिम्मेवारी लिएर नियुक्त भएका शिक्षकले नपढाई तलब खाने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा विकृति निम्त्याएको छ ।
तेस्रो– टेबलमा बसेर काम गर्ने कर्मचारीले आफ्नो कार्यालय समयमा कम्तीमा आफ्नो कार्यकक्ष तथा कार्यस्थलमा उपस्थित भएर जिम्मेवारी पूरा गर्नुपर्ने व्यवस्था अनिवार्य गर्नुपर्छ । कर्मचारीले आफ्नो टेबलमा बसेर काम गर्नुभन्दा बाहिर डुल्ने वा अन्यत्रै काम गर्ने प्रवृत्तिले पनि विश्वविद्यालयको प्रशासनिक कार्यसम्पादनमा समस्या सिर्जना गरेको छ ।
चौथो– विद्यार्थीको नतिजा, आर्थिक अवस्था र नियमितताका आधारमा उनीहरूले पाउने सुविधा तथा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । यसले विद्यार्थीलाई नियमित हुन र अध्ययनमा राम्रो प्रदर्शन गर्न प्रेरित गर्छ ।
पाँचौँ– उपत्यकाभित्र तथा केन्द्रीय कार्यालयमा लामो समयदेखि जरा गाडेर बसेका र प्रशासनिक तथा प्राज्ञिक प्रभावका आधारमा ‘डनगिरी’ गर्ने प्रवृत्तिका कर्मचारी तथा शिक्षकलाई आवश्यकताअनुसार उपत्यकाबाहिरका क्याम्पसमा अनिवार्य सरुवा गर्नुपर्छ । उपत्यकाभित्रका क्याम्पसमा देखिएका कतिपय विकृति हटाउन नसक्नुको एउटा कारण लामो समयदेखि एउटै स्थानमा प्रभाव जमाएर बसेका शिक्षक तथा कर्मचारी पनि हुन् ।
छैटौँ– प्रशासनिक तथा प्राज्ञिक नियुक्तिमा पूर्ण मेरिटोक्रेसी लागू गर्नुपर्छ । प्रशासनिक तथा प्राज्ञिक नियुक्तिमा विगतमा देखिएको भागबन्डाले संस्थाप्रति भन्दा नियुक्ति दिलाउने व्यक्ति वा समूहप्रति बढी बफादार हुने प्रवृत्ति विकास गरेको छ । यसले विश्वविद्यालयमा विकृति निम्त्याएको छ ।
सातौँ– हाम्रा प्राध्यापक तथा डाक्टरहरूले लेखन र अनुसन्धानमा अनिवार्य रूपमा संलग्न हुनुपर्ने वातावरण बनाउनुपर्छ । प्राध्यापक तथा डाक्टरहरू आफ्नो प्राज्ञिक जिम्मेवारीभन्दा बाहिरका अभिव्यक्ति र गतिविधिमा बढी केन्द्रित हुने प्रवृत्तिले प्राध्यापक पदकै गरिमामा प्रश्न उठाएको छ । लेखन तथा अनुसन्धानलाई संस्थागत रूपमा अनिवार्य र प्रोत्साहित गर्दा यसले प्राज्ञिक पदको गरिमा बढाउनुका साथै अनुसन्धान र प्रकाशनमा समेत सकारात्मक योगदान पुर्याउनेछ ।
आठौँ– पूर्णकालीन शिक्षकलाई आफ्नो निर्धारित सिफ्टमा क्याम्पसमा अनिवार्य रूपमा रहने व्यवस्था गर्नुपर्छ । कम्तीमा आवश्यक टेबल–कुर्सी तथा आधारभूत पूर्वाधारको व्यवस्था गरी उनीहरूलाई आफ्ना प्राज्ञिक काम गर्ने वातावरण दिनुपर्छ । यसले पूर्णकालीन शिक्षकलाई जिम्मेवार बनाउनुका साथै केवल हाजिर गरेर बाहिरिने प्रवृत्ति अन्त्य गर्न सहयोग गर्छ ।
नवौँ– स्थायी शिक्षक, कर्मचारी तथा तिनका परिवारका सदस्यले निजी शैक्षिक संस्थामा लगानी गर्ने प्रवृत्तिलाई नियमन गर्नुपर्छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी निजी शैक्षिक संस्थामा प्रत्यक्ष लगानी गर्ने अवस्थालाई नियन्त्रण गर्दै त्रिभुवन विश्वविद्यालयप्रतिको पूर्ण व्यावसायिक प्रतिबद्धता सुनिश्चित गर्नुपर्छ । यस्ता लगानीका कारण काम निजी संस्थामा र तलब त्रिभुवन विश्वविद्यालयबाट लिने प्रवृत्ति बढ्न सक्छ, जसले संस्थागत विकृति निम्त्याउँछ ।
दसौँ– पूर्णकालीन शिक्षकको कक्षा कटाएर आंशिक वा स्थानीय करार शिक्षक राख्ने प्रवृत्ति पूर्ण रूपमा बन्द गर्नुपर्छ । यस्ता गतिविधिले नपढाई तलब खाने प्रवृत्तिलाई बढावा दिन्छ । पूर्णकालीन शिक्षकले लिनुपर्ने अनिवार्य तथा नियमानुसार लिन पाउने अतिरिक्त कक्षाभार पूरा गरेपछि मात्र आंशिक शिक्षकलाई कक्षा दिने व्यवस्था कार्यान्वयन गर्नुपर्छ । साथै, लामो समयदेखि त्रिविमा आंशिक तथा त्रिवि वा स्थानीय तहअन्तर्गत करारमा काम गरिरहेका शिक्षकको सेवा सुरक्षाका विषयमा पनि न्यायोचित समाधान खोजिनुपर्छ ।
एघारौँ– त्रिवि सेवा आयोगलाई नियमित र प्रभावकारी बनाउनुपर्छ । कम्तीमा वर्षमा एकपटक हरेक तहको विज्ञापन गरी नियुक्त गर्न सकिने गरी आयोगको पुनर्संरचना तथा कार्यप्रणाली विकास गर्नुपर्छ । बढुवालाई ज्येष्ठता र प्राज्ञिक कर्मका आधारमा व्यवस्थित गरी सबैका लागि प्रेरणादायी बनाउनुपर्छ । त्रिविका धेरै विकृतिको एउटा कारण नियमित विज्ञापन नहुनु पनि हो । नियमित विज्ञापन तथा दुई प्राथमिकता– ज्येष्ठता र प्राज्ञिक कर्मलाई आधार बनाउँदा लामो समयदेखि काम गरिरहेका तथा शिक्षण, लेखन र अनुसन्धानमा सक्रिय दुवै प्रकारका शिक्षकलाई समेट्न सकिन्छ । यसले शिक्षक तथा कर्मचारीलाई पदोन्नतिको न्यायोचित अवसर प्रदान गरी उनीहरूको मनोबल उच्च बनाउनसमेत सहयोग गर्छ ।
बाह्रौँ– त्रिभुवन विश्वविद्यालयमा रहेका अनुसन्धान केन्द्रलाई पुनः सक्रिय बनाउनुपर्छ । यस्ता केन्द्रमा नेतृत्व तथा जनशक्ति छनोट गर्दा हालसम्मको अनुसन्धान कार्यकुशलता, अनुसन्धानप्रतिको लगाव र भविष्यको सम्भावनालाई आधार बनाउनुपर्छ । नियुक्तिमै अनुसन्धान तथा प्रकाशनसम्बन्धी स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्छ र निर्धारित जिम्मेवारी पूरा नगरेमा पदमा निरन्तरता नदिने व्यवस्था गर्नुपर्छ ।
तेह्रौँ– त्रिभुवन विश्वविद्यालयका सबै प्रकारका परीक्षा परीक्षा नियन्त्रण कार्यालयमार्फत नै सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ । परीक्षा प्रणालीलाई प्रविधिमैत्री तथा आवश्यकताअनुसार प्रदेशस्तरमा विकेन्द्रीकृत गरी प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने बनाउनु आवश्यक छ ।
चौधौँ– त्रिविको सबैभन्दा सक्रिय हुनुपर्ने निकायमध्ये एक अनुगमन महाशाखा हाल निष्क्रियजस्तै छ । यसलाई सक्रिय बनाउने हो भने विश्वविद्यालयमा देखिएका धेरै विकृति नियन्त्रण गर्न सकिन्छ । त्यसैले, अनुगमन महाशाखालाई त्रिविका क्याम्पस तथा केन्द्रीय विभागहरूको नियमित एकेडेमिक अडिट गर्ने गरी सक्रिय र प्रभावकारी बनाउनुपर्छ ।
पन्ध्रौँ– संकाय तथा संस्थानका डिन कार्यालयलाई अति आवश्यक प्रवेश परीक्षाबाहेक अन्य नियमित परीक्षाको व्यवस्थापनबाट क्रमशः अलग गरी फ्याकल्टी डेभलपमेन्ट तथा प्राज्ञिक कार्यमा सक्रिय बनाउनुपर्छ । यसले डिन कार्यालयलाई प्रशासनिक परीक्षामुखी कार्यबाट मुक्त गरी शैक्षिक गुणस्तर, पाठ्यक्रम विकास, अनुसन्धान र प्राध्यापक विकासमा केन्द्रित गर्न सहयोग गर्छ ।
सोह्रौँ– त्रिभुवन विश्वविद्यालयमा रहेका नवप्रवर्तन केन्द्र तथा अनुसन्धान व्यवस्थापन केन्द्रहरूलाई सशक्त बनाउँदै विश्वविद्यालय र समाजबिचका समस्या तथा सम्भावनाको पहिचान गर्नुपर्छ । स्थानीय ज्ञान, सिप र सम्भावनाको प्रवर्द्धन गरी तिनलाई व्यावसायिकतामा रूपान्तरण गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्नु अत्यन्त आवश्यक छ ।
सत्रौँ– त्रिभुवन विश्वविद्यालयअन्तर्गत हुने अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्नुका साथै तिनको गुणस्तर अनुगमन र अझिवृद्धि गर्न विज्ञहरूको टोली निर्माण गरी नियमित अन्तर्त्रिया गर्न आवश्यक छ । यस्ता कार्यले जनशक्तिको सशक्तीकरण गर्नुका साथै अनुसन्धान तथा प्रकाशनको गुणस्तर अभिवृद्धि गर्न सहयोग गर्छ ।
अठारौँ– विद्यार्थी, कर्मचारी तथा प्राध्यापकका संघ–संगठन आफ्ना हक, अधिकार तथा सेवा सुरक्षाका विषयमा केन्द्रित हुनुपर्नेमा राजनीतिक आबद्धता तथा पहुँच विस्तारमा बढी केन्द्रित भएका देखिन्छन् । त्यसैले, यस्ता संघ–संगठनलाई आफ्ना सदस्यका हक, अधिकार र सेवा सुरक्षाको सही आवाज उठाउने काममा केन्द्रित हुने गरी पुनर्संरचना गर्नुपर्छ । यसले संघ–संगठनका कारण निम्तिएका कतिपय विकृति न्यूनीकरण गर्न सहयोग पुर्याउँछ ।
निष्कर्ष : त्रिवि सुधारको सोझो बाटो भनेको सर्वप्रथम हाल कायम रहेका नियमको प्रभावकारी कार्यान्वयन गर्नु हो । शैक्षिक संस्थामा हुने आधारभूत कुराहरू– विद्यार्थी नियमित रूपमा उपस्थित भएर पढ्ने, शिक्षकले आफ्नो नियमित कक्षा पढाउने र कर्मचारीले कार्यालय समयमा आफ्नो कार्यस्थलमा उपस्थित भएर जिम्मेवारी पूरा गर्ने कुरालाई चुस्तदुरुस्त बनाउनुपर्छ । यस्ता आधारभूत पक्ष व्यवस्थित गरेपछि उल्लेखित थप सुधारका काम कार्यान्वयन गर्नु आवश्यक छ ।
यसले मात्र त्रिविको गिर्दो साखलाई उकास्न र विश्व विश्वविद्यालय वरीयतामा यसको स्थान सुधार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । ठुल्ठुला योजना कार्यान्वयन गर्न सकिए राम्रै हुन्छ । तर, कार्यान्वयन हुन नसक्ने योजनाको छायामा वर्तमान विकृतिलाई निरन्तरता दिन खोज्ने प्रवृत्तिप्रति विश्वविद्यालयका पदाधिकारी सजग हुनुपर्छ । आधारभूत कामलाई व्यवस्थित गर्दै क्रमशः विश्वविद्यालयको पुनर्संरचनातर्फ अघि बढ्नु नै सुधारको सबैभन्दा व्यावहारिक र सोझो बाटो हो ।
(शर्मा धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन्)