जाडोमा ठुलो संघर्षको तयारीमा रुस–युक्रेन

बुधबार, २८ असोज, २०८३
प्रिन्ट संस्करण
  • सम्भवतः युक्रेन र युरोप दुवैले आउँदो जाडोयाम पार गर्नेछन्, यद्यपि यस क्रममा उनीहरूले अनेकौँ क्षति, अभाव र पीडा भोग्नुपर्नेछ । उनीहरू अझै एक–दुई वर्ष लड्न सक्षम देखिन्छन्, त्यसपछि किभको हार निश्चित रहेको चिन्ता बढ्दै गएको छ ।

जाडो मौसम नजिकिँदै गर्दा रुसी डिजेल निर्यातमा लागेको प्रतिबन्ध हटेको छ । रुसले अहिले अमेरिका तथा अन्य देशलाई लाखौँ टन डिजेल बिक्री गर्ने तयारी गरिरहेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको सम्झौताको एक हिस्सा हो ।

ऊर्जा आपूर्ति र मूल्यलाई लिएर विश्वव्यापी संकट बढिरहेका वेला यो सम्झौता भएको हो । ट्रम्पका लागि अझ महŒवपूर्ण कुरा त के छ भने उनले अमेरिकी मध्यावधि निर्वाचनको केही हप्ताअघि मात्रै यसको घोषणा गरेका हुन् । उक्त निर्वाचनमा कंग्रेसका दुवै सदनमा आफ्नो रिपब्लिकन पार्टीले बहुमत गुमाउने जोखिम रहेको छ ।

यस सम्झौताको मुख्य महŒव राजनीतिक हो । अमेरिकी मतदातामाझ आफू उनीहरूको हितको ख्याल राख्ने नेताका रूपमा प्रस्तुत हुनुपर्ने ट्रम्पको तीव्र आवश्यकता छ । ट्रम्पले पुटिनको सहयोग लिनु र पुटिनले पनि त्यो सहयोग उपलब्ध गराउने स्थितिमा रहनुले विश्व ऊर्जा बजारमा रुसको निर्णायक भूमिकालाई उजागर गर्छ । तर, यसले आन्तरिक स्वार्थ पूरा गर्नका लागि कमजोर अवस्थामा रहेको आफ्नो साझेदारलाई यस प्रकरणमा युक्रेनलाई बिचमै अलपत्र पार्न वा त्याग्न ह्वाइट हाउस तयार छ भन्ने कुरा पनि छर्लंग पारेको छ ।

युक्रेन युद्धप्रतिको अमेरिकी दृष्टिकोणमा यो सम्झौताले कुनै महŒवपूर्ण मोड ल्याउँछ वा ल्याउँदैन भन्ने कुरा अझै स्पष्ट छैन । गत वर्ष ‘एन्कोरेज समझदारी’को जे हविगत भयो, त्यसलाई हेर्दा यस विषयमा सावधानी अपनाउनुपर्ने देखिन्छ । सम्झौतापछि ट्रम्पले अचानक ‘ऊर्जा युद्धविराम’ को कुरा उठाए, जुन रुसका लागि अस्वीकार्य छ, यसबाट अमेरिकी राष्ट्रपतिले मस्कोतर्फको कदम र किभ तथा युरोपेलीलाई आश्वस्त पार्ने कदमबिच सन्तुलन मिलाउन खोजेको देखिन्छ ।

जे भए पनि अमेरिकाको अस्पष्ट अडानले युक्रेन र उसका युरोपेली सहयोगीलाई मद्दत गरिरहेको छैन, उनीहरू अहिले ऊर्जा संकट र निरन्तरको क्षतिसँग जुधिरहेका छन् ।

यो द्वन्द्व सुरुदेखि नै युद्धमैदानमा हुने घटनाभन्दा धेरै फराकिलो विषयसँग जोडिएको छ । सन् २०२२ को वसन्त ऋतुमा जब अमेरिकाको नेतृत्वमा रहेको पश्चिमा जगत्ले ‘रुसको रणनीतिक पराजय’लाई आफ्नो मुख्य लक्ष्य घोषणा गर्यो, तब उनीहरूले पश्चिमी प्रतिबन्धले रुसी मुद्रा ‘रुबल’लाई ‘धुलोपिठो’ बनाउनेछन् भन्ने अपेक्षा गरेका थिए । यस्तो कि तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले चर्चित अभिव्यक्ति दिएका थिए । उनीहरूको बुझाइमा, यसले रुसी अर्थतन्त्रलाई तहसनहस पार्ने र अन्ततः रुसको सैन्य पतन गराउने थियो । तर, हामीलाई थाहा छ, यो योजना सफल भएन ।

अहिले, युक्रेन र उसका युरोपेली सहयोगी अर्को कठिन जाडोको सामना गर्दै छन् । यो समयले लामो समयसम्म चल्ने र एक–अर्कालाई थकाउने प्रकृतिको युद्ध जारी राख्न उनीहरूको सहनशीलता र दृढताको परीक्षा लिनेछ ।

रुसी भूभागको भित्री क्षेत्रमा रहेका लक्ष्यहरूमाथि भीषण हवाई आक्रमणमार्फत द्वन्द्व चर्काउने उनीहरूको रणनीति पनि सफल भएन । युद्धको प्रत्यक्ष असर परेपछि त्यहाँका सर्वसाधारण जनताले आवाज उठाउने र क्रेमलिनलाई युद्धविरामका लागि सहमत हुन बाध्य पार्ने अपेक्षा गरिएको थियो, जसले युक्रेनलाई अति आवश्यक राहत प्रदान गर्थ्यो । तर, नतिजा भने ठिकविपरीत देखियो, क्रेमलिनका नीतिप्रति समर्थन घट्नुको साटो झन् बढ्यो ।

यस अभियानको जवाफमा रुसी सेनाले पनि आफ्नै आक्रमण अभियान सुरु गरेको छ, पुटिनले स्वीकार गरेअनुसार यस अभियानमा रुसको कुल गार्हस्थ उत्पादनको एक प्रतिशत खर्च भएको थियो । रुसी सेनाले यस क्रममा आफूले स्वेच्छाले अपनाउँदै आएको संयमता त्यागेको छ र पहिले आक्रमण नगरेका लक्ष्यहरूमाथि प्रहार गर्न थालेको छ, जस्तै युक्रेनतर्फ वा त्यहाँबाट सामान ओसारपसार गर्ने पानीजहाजहरू, निपर नदीमाथिका पुलहरू र डाटा सेन्टरहरू ।

केही पर्यवेक्षकहरूले सोचेका छन् कि रुसका लागि यो ‘तनाव बढाएर मत्थर पार्ने’ रणनीति त होइन । अर्थात्, छ देखि नौ महिनासम्मको तीव्र हवाई युद्ध र त्यससँगै जमिनमा गरिने सैन्य अग्रगमनमार्फत द्वन्द्वलाई अन्त्य गर्ने प्रयास ।

वास्तवमा, युक्रेनको अर्थतन्त्रले गम्भीर क्षति व्यहोरिरहेको छ । त्यहाँका काला सागरस्थित बन्दरगाहबाट अब गहुँको निर्यात सम्भव छैन । देशको स्पात उद्योगले उत्पादन बन्द गरेको छ र सञ्चालनयोग्य इन्जिनहरूको अभावका कारण रेलसेवा पनि अवरुद्ध भएको छ ।

यसैबिच, किएभमा दैनिक रूपमा मात्र नभई लगभग चौबीसै घण्टा ड्रोन र क्षेप्यास्त्र आक्रमण भइरहेका छन् । आगामी जाडोयामका लागि युक्रेनी राजधानीको अवस्था निकै भयावह देखिन्छ । स्थानीय अधिकारीले बासिन्दाहरूलाई सहर छोड्न आग्रह गर्न थालेका छन्, किनकि जाडोको कठ्यांग्रिँदो समय काट्नका लागि आवश्यक न्यानो पार्ने वैकल्पिक व्यवस्था तथा खाद्यन्न र पानीको मौज्दात अपर्याप्त हुन सक्छ ।

तैपनि, युक्रेनका नेता भ्लोदिमिर जेलेन्स्की पहिलेजस्तै दृढ अडानमा छन् । उनका लागि अब पछाडि फर्किने कुनै बाटो छैन । यदि उनले पुटिनको मागबमोजिम डोनेट्स्कको बाँकी भूभागबाट युक्रेनी सेना फिर्ता गर्न मञ्जुर गरे भने उनले आफ्नो ज्यानको खतरा मोल्नुपर्ने हुन्छ । यदि युक्रेनमा नयाँ राष्ट्रपतीय निर्वाचन भयो भने उनी स्पष्ट रूपमा पराजित हुनेछन् । पराजित हुनेबित्तिकै उनका समर्थकले उनलाई साथ छोड्नेछन्, ठिक त्यसरी नै जसरी उनीहरूले जर्जियाका पूर्वराष्ट्रपति मिखाइल साकास्भिलीलाई छोडेका थिए, जो अहिले त्बिलिसीको जेलमा सजाय काटिरहेका छन् ।

पछिल्लो समय युक्रेनी राजनीतिज्ञमा असन्तुष्टि बढ्दै गएको भए पनि युद्ध र शान्तिको विषयमा उनीहरू जेलेन्स्कीको साथ छोडिरहेका छैनन् । स्वदेशका राष्ट्रवादीहरू र पश्चिमा दातृ निकाय यो लडाइँ जारी राख्नुपर्ने अडानमा दृढ छन् ।

विशेषगरी युरोपका लागि यो युद्ध युक्रेनको विषय होइन, यो रुससँग सम्बन्धित छ । पूर्वसोभियत संघको दोस्रो ठूलो गणतन्त्र रहेको मुलुकलाई प्रयोग गरेर युरोपको ऐतिहासिक प्रतिद्वन्द्वी रुसलाई कमजोर पार्ने अहिलेको अवसर यस्तो छ, जसलाई गुमाउनुहुँदैन । किभको बजेटको आधा हिस्सा व्यहोर्ने युरोपले सायद ‘अन्तिम युक्रेनी’ बाँकी रहुन्जेलसम्म लडाइँ जारी राख्न सकिन्छ भन्ने ठानेको देखिन्छ, यसको उद्देश्य धेरैभन्दा धेरै रुसीहरूलाई मारेर उनीहरूको देशलाई थिल्थिलो पार्नु हो ।

यसको अर्थ रुसबाट आसन्न भनिएको खतरालाई कम आँक्नु होइन, वास्तवमा त्यो खतरा त केवल ध्यान अन्त मोड्ने चाल मात्र हो । युरोपेली संघलाई एकताबद्ध राखिरहन रुस नै त्यो ‘ढोकामै आइपुगेको’ वास्तविक शत्रु हो । ‘सैन्य केनेसियनवाद’ अर्थतन्त्रलाई पुनः गति दिने एउटा उपाय हो भने राजनीतिक प्रतिस्पर्धीलाई ‘पुटिनका एजेन्ट’को बिल्ला भिराउनु अत्यन्तै सुविधाजनक रणनीति हो । यसबाहेक, धेरै इयू/नेटो सदस्यहरूले गोप्य रूपमा ऐतिहासिक बदला खोजिरहेका छन्, १९४५ मा हिटलरको पराजयका लागि जर्मनी, यसको धेरै विभाजनका लागि पोल्यान्ड, रुसले आफ्नो महाशक्ति स्थिति समाप्त गरेकोमा स्विडेन, आफ्नो साम्राज्य गुमाएकोमा बेलायतले यस्तो बदला खोजेका छन् । अन्ततः, किभमा सयौँ अर्ब लगानी गरिसकेपछि युरोपले युक्रेनमा आफ्नो आर्थिक र राजनीतिक क्षति यसको युक्रेनी प्रतिनिधिको उपयोगिताभन्दा बढी नभएसम्म छाड्नेछैन ।

यस युद्धमा रुसको परीक्षण गरिएको लचिलोपन भौतिक हिसाबले युक्रेनको भन्दा र गैरभौतिक हिसाबले युरोपको भन्दा उच्च छ, जसले भविष्यमा के हुन्छ भनेर निर्धारण गर्नेछ । सम्भवतः युक्रेन र युरोप दुवैले आउँदो जाडोयाम पार गर्नेछन्, यद्यपि यस क्रममा उनीहरूले अनेकौँ क्षति, अभाव र पीडा भोग्नुपर्नेछ । उनीहरू भविष्यमा अर्थात् एक–दुई वर्ष (वा पुटिनले हालै संकेत गरेजस्तै अझ कम समय) भित्र पुनः संघर्ष गर्न सक्षम रहनेछन्, तर अन्ततः किभको हार निश्चित छ । साथै, युरोपले आफ्नो ‘संरक्षित पक्ष’को पराजयलाई अनिच्छापूर्वक स्वीकार गर्नुपर्नेछ, र सँगै युक्रेनको खुम्चिएको वा सीमित भूभागमा मात्र सीमित अस्तित्वलाई नै एकप्रकारको विजयको रूपमा देखाउने प्रयास गर्नेछ ।

(ट्रेनिन् रसियन इन्टरनेसनल अफेयर्स काउन्सिलका अध्यक्ष तथा मस्कोस्थित ‘हायर स्कुल अफ इकोनोमिक्स’का प्राध्यापक हुन् ।)

अलजजिराबाट

सुझावित समाचार