नेपाल–चीन सम्बन्धका दुई महत्वपूर्ण घटना

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

योगी नरहरिनाथको नेपालको सन्धिपत्र संग्रह ( भाग १) मा रहेका पुराना दस्ताबेजको आधारमा नेपाल अंग्रेज युद्धमा किन चीनले नेपाललाई सैनिक र आर्थिक सहयोग दिएन भन्नेबारेमा यहाँ लेखिनेछ । नेपाल–अंग्रेज युद्ध हुने पक्कापक्की भएपछि बालक राजा गीर्वाणयुद्धविक्रम शाहको नामबाट कमान्डर इन चिफ जनरल भीमसेन थापाले विसं १८७१ भाद्र महिनामा चीनको बादसाहलाई अंग्रेजविरुद्ध लड्ने सामग्रीको सहयोग र आर्थिक सहयोग पनि मागे । लेखिएअनुसार चिठीमा ‘अंग्रेजले नेपालबाट अघि बढेर भोट हान्न तयारी गरेको छ । उसले भोट जाने बाटोबारे खबर संकलन गर्न आएको थियो र हामीले सो काम गर्न वञ्चित गर्यौ । तापनि, उसले हामीलाई ६० देखि ७० लाख रुपैयाँसमेत दिएर भने पनि भोट हान्ने तर्खरमा छन् ।’  सोही कारण देखाई यसपटकलाई लडाइँ लड्ने हातहतियार र पैसा पठाइदिन लेखियो । उक्त पत्र सीधै चीन पठाउने प्रावधान नहुँदा ल्हासामा रहेका चिनियाँ अम्बा (राजाका दूत) मार्फत ल्हासामा रहेका नेपालका वकिल (राजाका दूत) ले पठाउँथे । नेपालले चीनका बादसाहलाई अंग्रेजविरोधी पत्र लेखेको कुरा अंग्रेजले सोही सालको भाद्र महिनाको अन्त्यमा थाहा पायो । चीनले नेपाललाई सहयोग गर्ने कुरा अंग्रेजले पत्याएन । तथापि, आफ्नो तयारी गर्दै रह्यो । नेपालको राजाको चिठी ल्हासा पुगेपछि अम्बाहरूले सो चिठी चीन नपठाई नेपाललाई जवाफ दिएर लेखे कि ‘आजसम्म चीनसँग अंग्रेजको झगडा भएको छैन, भोटमा हमला गर्ने बाटो हेर्न अंग्रेज आउने सम्भावना छैन । कदाचित आय भने चीन बादसाहको दक्षिणको ढोका कुरिबसेका (ढोका पाले) गोर्खाका राजाले सो कुराको ख्याल गर्नुस् । चीनको बादसाहले चीनबाहिर कसैलाई खरखजाना र नगद दिने गरेको छैन । छिमेकीसँग मिलेर बस्नू । अबदेखि पैसा नमाग्नू ।’

अम्बाहरूले अबदेखि पैसा नमाग भने पनि विसं १८७१ को चैत महिनाको आखिरमा राजा गीर्वाणको नामबाट फेरि अम्बामार्फत चीनमा पत्र पठाए । लेखिएको थियो कि– अंग्रेजहरू भोट जानका लागि १५ ठाउँमा आई बलिया सैन्य र हातहतियार लिएर हामीसँग लडाइँ गरी बसेका छन् । अंग्रेजहरू नेपाल भएर भोट छिर्न सक्नेछन् । धनदौलत पठाइदिनुस्, हामीले अंग्रेजहरूलाई हराई फर्काउनेछौँ । धन, हातहतियार, खरखजाना नदिने हो भने अंग्रेजलाई पत्र पठाई आफ्नो साँध–सीमाभित्र रहनू भन्ने हुकुम हुनुपर्यो ।’ नेपालको उक्त पत्रको जवाफ अम्बाहरूले १८७२ वैशाख १४ गते फर्काए । लेखे कि– ‘चीनले अरूलाई नगद, खरखजाना दिँदैन । आज नेपाललाई धनदौलत दिएमा भोलि अंग्रेज पनि धन माग्न आउनेछन् । छिमेकीसँग मिलेर बस । अब फेरि–फेरि यसबारे पत्र नलेख । अनि मानिस पनि नपठाऊ ।’ यही वर्षको जेठ महिनामा फेरि पनि नेपालका राजाले अम्बामार्फत चीन बादसाहलाई पत्र लेखे र अनुरोध गरे कि– ‘हामी नेपालीले चीन बादसाहलाई मानिरहेका छौँ र हामीलाई दुःख परेका वेला बादसाहबाट दया हुन्छ भन्ने आसमा थियौँ । अंग्रेजले हमला गरिरहेकाले सकेसम्म हामीले नेपाललाई जोगाउनेछौँ । अन्यथा भएमा चीन बादसाहमा सहयोग मागिदिने काम हजुरबाट नै होस् ।’

फेरि पनि अम्बाहरूले नेपालबाट ल्हासा र पेकिङ मान्छे पठाउन मिल्दैन र राजाले आफ्नो देशको बलियो रक्षा गरेमा फिरंगीले केही गर्न सक्नेछैन भनी लेखे । ल्हासामा रहेका अम्बाहरूले चीनका बादसाहलाई पत्र पठाउन पटक–पटक अवरोध गरेपछि नेपालले १८७२ सालको असारमा बादसाहलाई सीधै पत्र लेख्यो कि फिरंगीहरू नेपाल भई भोटमाथि हमला गर्नका लागि बाटोघाटो हेर्न नेपालमाथि हमला गर्न धेरै ठाउँमा जम्मा भएर बसेका छन् । यो देश बाँचेमा बादसाहको पनि राम्रो हुनेछ । नेपालले बादसाहको दक्षिणको ढोका कुरेर बसेको छ । हामीले पटक–पटक ल्हासाका अम्बामार्फत बादसाहकोमा बिन्तीपत्र पठाउँदा अम्बाहरूले मद्दत गरेनन् । आजसम्म नेपालले बादसाहलाई मानिआएको हो र मानिरहनुपर्छ भन्ने हो भने दौलत र खजानाको मद्दत पाऊँ । अन्यथा, बादशाहबाट फिरंगीलाई नै मान भन्ने हुकुम होस् ।

यसैबिच जुम्लामा रहेका नेपाली सैनिक कमान्डरले ताक्लाकोटमा रहेका भोटे सेनाका कमान्डरसँग लडाइँ लड्न सहयोग मागे । नेपाली सेनालाई तलब बाँड्न पैसा नभएकाले भोटसँग पैसाको सहयोग पनि मागे । तर, भोटले पनि लडाइँ नगर्नू, मिलेर बस्नू । अहिले कुनै किसिमको सहयोग नहुने जवाफ दियो । चीनले र भोटले नेपाल–अंग्रेज युद्धमा पटक्कै सहयोग दिएनन् । वेत्रावतीको सन्धिअनुसार चीनले नेपाललाई सैनिक र आर्थिक सहयोग दिनुपर्ने बाध्यता पनि थियो । तर, नेपाल आफैँले कुरो बिगारेर झुटो पत्राचार सुरु गरेपछि चीन बिच्किएको हो । नेपालले अंग्रेजसँग युद्ध हार्यो । यो ठुलो पीडा भयो, नेपालका जनरल भीमसेन थापालाई समेत । उनी सुरुमा जर्नेल बने । अनि, अन्त्यमा कमान्डर इन चिफ अर्थात् मुख्तियार बने । मुख्तियार भनेको प्रधानसेनापति हो । जुन पद २००८ सालसम्म थियो नेपालमा । जनरल भीमसेन थापाले जिन्दगीमा एक सेक्सन पनि सेना कमान्ड गरेका थिएनन् भने एक दिन कुनै लडाइँ गरेका थिएनन् । सेना हाँकेको र लडाइँ लडेको अनुभव नहुँदाका कारण उनले सञ्चालन गराएको नेपाल–अंग्रेज युद्ध हारिएको थियो ।

महाकालीपश्चिम सतलजसम्मको (जैथकबाहेक) लडाइँ हारेपछि नेपाललाई अंग्रेजले भनेजस्तो सन्धि गर्न दबाब दियो । तर, नेपाल नमान्दा फेरि दोस्रो चरणमा अंग्रेजले मकवानपुर र हरिहरपुर मोहोडाबाट युद्ध बढायो । यो कठिन अवस्थामा नेपालले १८७२ सालको फागुन महिनामा चिनियाँ अम्बाहरूलाई ल्हासामा फेरि पत्र लेखी अनुरोध गर्यो कि– अंग्रेजहरू ज्यादै ठुलो सेना लिएर काठमाडौं आउँदै छन् । दुई दिनको बाटोमा आइपुगेको छ । यिनलाई हामी रोक्न सक्दैनौँ । तसर्थ, चिनियाँ बादसाहका हजुरमा चिठी लेखी तुरुन्त अंग्रेजलाई नेपालको जमिन फिर्ता गरी फर्क भन्ने आदेश पठाइदिनुपर्यो । होइन भने नेपालले फिरंगीलाई मान, चीनको बादसाहलाई मान्नुपर्दैन भन्ने यकिन गर्ने जवाफ दिनुहोला । नेपालको पत्रको जवाफ चीनको बादसाहका तर्फबाट १८७३ वैशाखमा काठमाडौं आइपुग्यो । जवाफमा लेखिएको थियो कि चीनको बादसाह भनेको संसारका १० हजार मुलुकको मालिक हो । सबैलाई बराबरी गरेर हेर्छ । कसैको पक्षमा लाग्दैन । तिमीहरूले फिरंगीलाई मान, चीनको बादसाहलाई मान्नुपर्दैन भनी तुरुन्त लेखिपठाऊ भन्ने घटिया पत्र पठाएछौ । तिमी नेपालको राजाले बुझ कि धेरै वर्षदेखि तिमीले चीनका बादसाहको गुलामी गर्दै आएका छौ । गुलामी जस्तै हौ । फिरंगी र नेपालबिचको युद्ध चीनको साँधबाहिरको हो । यस्तो ठाउँमा फौज खटाउने हाम्रो चलन छैन । पहिला नेवार (मल्ल राजाहरू) हरूको राज्य तिमी (गोर्खाली राजाहरू)ले लियौ । हामीले फिर्ता गर भनेका छैनौँ । त्यसैगरी जुम्लाको आधा राज्य तिमीले लियौ, यदि हामीले सो राज्य फिर्ता देऊ भन्यौ भने तिमी के गर्छौ ?

अत्यन्त खतराजनक चिनियाँ पत्र प्राप्त भएपछि जनरल भीमसेन थापाले नेपालको राजाको नामबाट थरिथरिका सौगात र पत्रसमेत कर्नेल भक्तावीर थापा (काजी बखाताबर सिंह पनि भनिएको छ यिनलाई), जनरल रणवीर सिंह थापा, काजी दलन भन्जन पाण्डे, जनरल माथावर सिंह थापाहरूमार्फत पठाउने निधो भयो । १८७३ असोज महिनामा यो टोली दिर्गाचा पुग्यो र त्यही नेपालका राजाले पठाएका अर्जी पत्र र सौगात चिनियाँ अम्बामार्फत चीन बादसाहलाई पठाइयो । अर्थात्, नेपालले क्षमापूजा गर्यो चीनका बादसाहलाई र यो किचलो टुंगियो । विसं १८४९ अर्थात् सेप्टेम्बर ३०, १७९२ मा नेपाल चीनबिच भएको वेत्रावतीको सन्धिअनुसार नेपालमाथि अरू कुनै देशले हमला गरेमा चीनले सहयोग गर्ने भन्ने कुरो पक्का छ । यद्यपि, कूटनीतिक सम्बन्ध आपसी विश्वासमा अडेको हुन्छ । यस घटनामा भने नेपालले अंग्रेजको हमलाबारे चीनलाई सही कुरो लेख्नुपर्थ्यो ।

भीमसेन थापाले ‘अंग्रेजहरू ठुलो फौज लिएर नेपालको सिमानामा आई भोटमाथि हमला गर्दै छ र नेपालले भोट जान बाटो दिएमा अंग्रेजले नेपाललाई ६० देखि ७० लाख रुपैयाँ दिन्छु भनेको छ’ भनी चीनको बादसाहका लागि ल्हासामा भएका अम्बामार्फत चिठी पठाउनु भुल थियो । यही झुटबाट चीन आगो भयो । नेपालका बालक राजा गीर्वाणयुद्ध विक्रमको नामबाट झुटो कुरा लेखी पठाएर चिनियाँ बादसाह र अम्बाहरूका गालीगलोजले भरिएका पत्रमार्फत राजाको इज्जत फालिदिनु नेपालका भारदारले ठुलो भुल गरे । यो जघन्य अपराध नै थियो । यदि नेपालले सही कुरो लेखेर पठाएको भए चीनका बादसाहले सैनिक सहयोग नदिए पनि नेपालमाथि अंग्रेजलाई हमला नगर्न चेतावनी दिन सक्ने सम्भावनालाई नकार्न मिल्दैन ।

चीन जान खोजेका थिए राजा त्रिभुवन  
पंक्तिकारले विसं २०८१ असार १७ गते काठमाडौं महानगरपालिका वडा नं. १३, ताहाचलनिवासी काजी कृष्णलाल चित्रकारका सुपुत्र इन्जिनियर रवीनलाल चित्रकारसँग कुराकानी गरेको थियो । उनै चित्रकारसँगको कुराकानीका आधारमा यो विवरण तयार पारिएको हो । श्री ५ महाराजधिराज त्रिभुवनवीरविक्रम शाहले विसं २००७ मा राजगद्दी छाडेर भारतीय दूतावासमार्फत परिवारसहित (जेठा छोरातर्फका माइला नाति ज्ञानेन्द्रबाहेक) नयाँदिल्ली प्रस्थान गर्नुभन्दा केही समयअगाडिदेखि चीनको सहायताबाट नेपालमा जहानियाँ राणाशासनको अन्त्य गर्ने प्रयास गरेका रहेछन् । उनले यसबारे अंग्रेजी भाषाबाट चीनका तत्कालीन शासक माओत्सेतुङलाई गोप्य पत्र पठाएका थिए । त्यो पत्रको जवाफमा माओले ‘हामी भौगोलिक दूरी र यातायातको साधनबाट धेरै टाढा छौँ । हजुरको इच्छालाई साथ दिने चाहना हुँदाहुँदै पनि चीनले भन्दा यो मामिलामा भारतले छिट्टै र भरपर्दो मद्दत दिन सक्छ । तसर्थ, भारतसँग पहल गर्नुहुन सुझाव दिन्छु,’ भनी गोप्य जवाफ दिएका रहेछन् ।

त्यस बखत भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र माओत्सेतुङको सम्बन्ध अति घनिष्ठ थियो । यसबारे माओत्सेतुङले नेहरूलाई समेत पूर्वजानकारी दिएका थिए । चीनबाट गोप्य रूपमा जवाफ पाएपछि राजाले धर्मभक्त डंगोल र विदेशी नर्स एरिकामार्फत भारतीय दूतावासमा सम्पर्क गरेका थिए । केही समयमै भारतीय दूतावासमार्फत उनी भारतको राजधानी नयाँदिल्ली पुग्न सफल भएका थिए । श्री ५ त्रिभुवनवीरविक्रम शाह चीनमा भर्खरै सशस्त्र विद्रोहमार्फत शासन हात पारेका माओत्सेतुङसमक्ष चिठी पठाउन कसरी सफल भए ? हामीमा यो जिज्ञासा उत्पन्न हुनु स्वाभाविक हो । काठमाडौंको हिटी मिनाक्षे निवासी काजी कृष्णलाल चित्रकार श्री ५ त्रिभुवनका विश्वासी व्यक्ति थिए । उनले काठमाडौंको बौद्ध निवासी चिनियाँ लामालाई राजा त्रिभुवनको इच्छाबारेको यो खबर सुनाएपछि चिनियाँ लामा चीनका शासकसमक्ष राजाको गोप्य पत्र लैजान तयार भएछन् । त्यसपछि राजा त्रिभुवनले अंग्रेजी भाषामा सीधै माओत्सेतुङलाई सम्बोधन गरेर नेपालमा प्रजातन्त्र ल्याउन सहयोग गर्न र आफ्नो परिवारलाई पेकिङ पुग्ने व्यवस्था गरिदिन अनुरोध गरी पत्र लेखेका रहेछन् । त्यो गोप्य पत्रलाई गीताको पुस्तकको बाहिरी कडा जिल्द (कभर)लाई खुर्केर त्यसभित्र गोप्य रूपमा लुकाएर, गीता पुस्तकको कभर बनाई जिल्दभित्र लुकाइएको रहेछ ।

त्यो गीताको पुस्तक चिनियाँ लामाले विशेष सूत्रबाट उतारी माओत्सेतुङसमक्ष चीन पठाइएको अनि सोही तरिकाले माओको जवाफ राजा त्रिभुवनसमक्ष प्राप्त भएको रहेछ । यो काममा काजी कृष्णलाल र उनकी छोरीको हात रहेछ । माओत्सेतुङको असमर्थताको जवाफपछि मात्र श्री ५ त्रिभुवन भारततर्फ फर्केका रहेछन् । अर्को महत्वपूर्ण कुरा के पनि रहेछ भने विसं २००७ फागुनमा राजा त्रिभुवन दिल्लीबाट नेपाल फर्कनुअघि बेलायतको योजनामा संयुक्त राष्ट्र संघका प्रतिनिधि नेपाल पठाएर के साँच्चै नेपाली जनताले राजा श्री ५ त्रिभुवनलाई स्विकार्छन् वा स्विकार्दैनन् ? भनी बुझ्न लगाइएको रहेछ । यसक्रममा संयुक्त राष्ट्र संघले एउटा विमान चार्टर गरेर आफ्नो प्रतिनिधि नेपाल पठाएको थियो, त्यो विमान काठमाडौंको गौचरणमा उत्रिएको थियो । यसबारे काठमाडौंको भारतीय दूतावासले थाहा पाएको हुनाले दूतावासको प्रायोजनमा राणा सरकारविरोधी प्रजातन्त्रवादी नेतालाई समयमै खबर गरिदिएछ, राणा सरकारका प्रतिनिधिको आँखा छलेर सयौँको संख्यामा नेपाली जनता गौचरणस्थित विमानस्थलमा पुगेर राजा त्रिभुवनको जय भन्न थालेछन् ।

गौचरण विमानस्थलमा संयुक्त राष्ट्र संघका प्रतिनिधि हवाईजहाजबाट उत्रिएर उपस्थित जनतासमक्ष, के तपाईहरू राजा त्रिभुवनलाई राजा भएको हेर्न चाहनुहुन्छ ? भनी प्रश्न गर्न थालेछन् । त्यहाँ उपस्थित करिब सबै जनताले नेपाली भाषामा हामीलाई राजा त्रिभुवन नै हुनुपर्छ भन्ने जवाफ दिएछन् । युएनका प्रतिनिधि विमानस्थलमा केही समय रोकिएर त्यहीँबाट फर्केछन् । यो रिपोर्ट संयुक्त राष्ट्र संघ  पुगेपछि बेलायतमार्फत भारत हुँदै राजा त्रिभुवनलाई नेपाल फर्काउने र पुनः राजगद्दीमा स्थापित गराउने प्रयास भएको रहेछ । काजी कृष्णलाल चित्रकार १६ वर्षको उमेरमा राजा त्रिभुवनको राज्यकालमा नारायणहिटी राजदरबारमा राजप्रासाद सेवामा प्रवेश गरेका थिए । उनले श्री ५ महाराजधिराज महेन्द्रवीरविक्रम शाह र श्री ५ महाराजधिराज वीरेन्द्रवीरविक्रम शाहको राज्यकालमा समेत कुल ७४ वर्ष सेवा पूरा गरेर अवकाश पाएका थिए । 

सुझावित समाचार