विश्वव्यापी ठुला प्राविधिक समस्याले सिकाएको पाठ

जुनसुकै कारणले प्राविधिक कटौती भए पनि अत्यावश्यक सेवा प्रदान गर्ने प्रणालीको सञ्चालन सुनिश्चित गर्नु सरकारहरूको कर्तव्य हो

सोमबार, ७ मंसिर, २०८३
प्रिन्ट संस्करण

गत सता विश्वका ठुला प्राविधिक कम्पनीले दिने सेवामा पटकपटक कटौती भयो । छोटो समयमा देखिएका यी प्राविधिक समस्या साँच्चै संयोग मात्र हुन् या अन्य केही भनेर धेरैले प्रश्न गरिरहेका छन् ।

सुरुमा विश्वभर माइक्रोसफ्टका प्रयोगकर्ताले अवरोध सामना गरेपछि इमेल र व्यापारिक सञ्चार नै अवरुद्ध हुन पुग्यो । त्यसपछि अमेरिकाभर विमान उडानमा समस्या देखियो । हजारौँ उडान प्रभावित भए ।

लगत्तै ‘जेपी मोर्गन चेज’को सेवा प्रभावित हुँदा कैयौँ अमेरिकी बैंकका ग्राहकले आफ्नै पैसा प्रयोग गर्न सकेनन् । अनि आयो एप्पलको सेवामा अवरोध । अर्को घटनामा, साइबर अपराधीहरूले वैध मानिने ‘थर्ड–पार्टी (तेस्रो–पक्ष)’ सफ्टवेयर ‘अप्टिमाइज्ली’मार्फत बिबिसी, सिएनएन र जुमसहित कैयौँ लोकप्रिय वेबसाइटहरूमा खराब ‘कोड’ हालिदिए । 

जेनेरेटिभ ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ले परिष्कृत ह्याकिङलाई सहज बनाइदिएको पृष्ठभूमिमा यी फरकफरक घटना कतै एआईकै सहयोगमा घटाइएका साइबर अपराध त होइनन् भन्ने बहस पनि भइरहेको छ । यद्यपि, हालसम्मका जानकारीका आधारमा जटिल तस्बिर देखिन्छ । 

हालैका प्राविधिक अवरोधको अन्तरसम्बन्ध :  छोटो समयको अन्तरालमा भए पनि यी अवरोध एकआपसमा सम्बन्धित थिए भन्ने कुनै प्रमाण भेटिएको छैन । माइक्रोसफ्टले गरेको प्रारम्भिक अनुसन्धानले उसमा आएको समस्याको कारण महिनौँदेखि लुकेको सफ्टवेयरको खराबी रहेको औँल्याएको छ ।

अमेरिकी उड्डयन अधिकारीले उडान समस्याका पछाडि प्रणालीलाई ‘अपग्रेड (अद्यावधिक)’ गर्न नयाँ जोडिएका नेटवर्क उपकरण रहेको बताएका छन् । उता, एप्पलले आफ्नो प्रणालीमा आएको अवरोध आन्तरिक ‘अपडेट’को प्रतिफल भएको बताएको छ । बुधबार, अमेरिकाको ‘नेसनल सेक्युरिटी एजेन्सी (एनएसए)’ले यसको गुप्तचर आन्तरिक प्रणालीमा 
समस्या देखिएको बतायो । र, समस्या पूर्वनिर्धारित मर्मतसम्भारको समयमा भएको भनिएको छ ।

उल्लिखित घटनाहरूमा एक मात्र साइबर आक्रमण ‘अप्टिमाइज्ली’ सफ्टवेयरमार्फत भएको थियो । विश्वका प्रमुख वेबसाइटहरूले प्रयोग गर्ने यो अनलाइन मार्केटिङ प्लेटफर्मलाई अहिले ग्राहक भुक्तानी चोर्न र लगभग सात हजार डलरबराबरको क्रिप्टोकरेन्सी भुक्तानीलाई अन्यत्र मोड्न प्रयोग गरियो । यस घटनामा साइबर अपराधीले सधैँ पूरै प्रणालीलाई ठप्प पार्न चाहँदा रहेनछन् भन्ने देखायो । आक्रमणकारीले प्रणालीलाई यथावत् राखी करिब १७० भन्दा बढी वेबसाइटबाट एउटा विश्वसनीय सफ्टवेयर प्रयोग गरेर चुपचाप चोरी गरेका थिए । 

एकैचोटि यति धेरै प्राविधिक विफलता 
किन : अहिलेको समस्या बुझ्न चीन र अमेरिकाका केही सहरमा प्रयोग हुन थालेको स्वचालित ‘सेल्फ ड्राइभिङ’ कारलाई हेरौँ । परीक्षणमा अत्यन्त राम्रोसँग काम गर्ने एउटा ‘सेल्फ–ड्राइभिङ’ कारले भिडभाडयुक्त सहरमा अप्रत्याशित ट्राफिक, पैदलयात्री र अन्य अवरोधको सामना गर्छ ।

अर्थात् वास्तविक सडकको यात्रा कुनै पनि परीक्षण वातावरणभन्दा बढी जटिल हुन्छन् । र, परीक्षणका क्रममा नदेखिएका एउटा समस्याले एकैपटक सम्पूर्ण सवारीसाधनलाई प्रभावित बनाउन सक्छ । उड्डयन नेटवर्कदेखि बैंकिङसम्म र माइक्रोसफ्टजस्ता ठुला आपूर्तिकर्ताजस्ता आधुनिक डिजिटल प्रणालीले यस्तै खालको चुनौतीको सामना गर्छन् ।

नयाँनयाँ सुरक्षा चुनौती सम्बोधन गर्नदेखि र ‘बग’ भनिने डिजिटल विकार हटाउन मात्र नभई नयाँ सुविधा थप्नका लागि प्रविधि प्रणालीलाई ‘अपडेट’ गरिरहनुपर्छ । ठुलो प्रविधि प्रणाली अपडेट गर्नुअघि इन्जिनियरहरूले ‘अफलाइन’ परीक्षण गर्छन् । परीक्षणका क्रममा सफल ‘अपडेट’ पछि लाखौँ अनुरोध तथा हजारौँ अन्तरसम्बन्धित सर्भरमा भने असफल हुनसक्छ । अहिले भएको त्यही हो । 

आगामी दिनका लागि पाठ :  जुनसुकै कारणले प्रविधिक कटौती भए पनि अत्यावश्यक सेवा प्रदान गर्ने प्रणालीको सञ्चालनलाई यथावत् राख्ने क्षमतालाई ‘सञ्चालन लचिलोपन’ भनिन्छ । ‘सञ्चालन लचिलोपन’का लागि फेरि कलम र कागजमा फर्कनु उपयुक्त विकल्प होइन । कागजी रेकर्डहरू किराना पसलका जस्ता ससाना कारोबारमा सहयोगी हुनसक्छ । तर, विशाल व्यवसायका लागि बब ‘डाटा’मा आधारित प्रणाली अत्यावश्यक बनिसकेको छ । 

अत्यावश्यक सेवाहरू जुनसुकै अवस्थामा चलाइराख्न सरकारको कर्तव्य हुन आउँछ । यसका लागि केही चुनिएका प्राविधिक क्षमतालाई देशभित्रै कायम राख्न सक्नुपर्छ । यसले गर्दा संवेदनशील सेवा विश्वव्यापी प्रणाली अवरुद्ध हुँदा पनि सञ्चालन जारी राख्न सम्भव हुनेछ । यसको अर्थ सरकारले विश्वव्यापी सेवाप्रदायकसँग समन्वय गरेर अत्यावश्यक सेवा सञ्चालन प्रविधिलाई देशभित्र पनि स्थापना गर्न समन्वय गर्नुपर्छ ।

नियमित रूपमा परीक्षण गरिने यस्ता स्थानीय प्रणालीले अस्पताललगायत विभिन्न आपत्कालीन सेवादेखि संवेदनशील राष्ट्रिय सुरक्षाजस्ता मुख्य कार्य सञ्चालनमा राख्न सक्छन् । पछिल्लो समय देखिएजस्तो माइक्रोसफ्टजस्ता विश्वव्यापी प्लेटफर्म अवरुद्ध हुँदा पनि स्थानीय सर्बरले सेवालाई रोकिन दिँदैन । 

दुई कदम थप सहयोगी हुनसक्छ । पहिलो, विश्वव्यापी प्रविधि सेवाप्रदायकहरूले उनीहरूको आवश्यक सेवामा परिवर्तन कार्यान्वयन गरिँदा देशका सरकारहरूलाई पनि समावेश गर्नुपर्छ । अहिलेजस्तो परिवर्तन हुन लागेको जानकारी गराएर मात्र पुग्दैन ।

नियम विश्वव्यापी हुनुपर्छ । कुनै पनि एकल परिवर्तन एकैचोटि राष्ट्रको सबै आवश्यक सेवामा पुग्नु हुँदैन, तत्काल सुरक्षाले अपवाद समाधान गर्छ । दोस्रो, सरकारी निकायले गर्ने स्वतन्त्र समीक्षा साइबर आक्रमणहरूमा मात्र सीमित गर्नु हुँदैन । 
(लेखक ‘सिक्यु–युनिर्भसिटी अस्ट्रेलिया’का ‘सूचना र सञ्चार प्रविधि’ विषयका वरिष्ठ लेक्चरर हुन्) द कन्भर्सेसनबाट

सुझावित समाचार