- चीन, रुस र अमेरिकाबिच सञ्चार सुदृढ हुनु, मतभेद व्यवस्थापन गर्नु र सम्बन्धलाई स्थिर बनाउनु अन्तर्राष्ट्रिय अपेक्षाअनुरूप नै छ
बिहीबार सेन्जेनमा हुने चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखहरूको शिखरवार्ता इतिहासमै यी तीन देशका शीर्ष नेताबिचको पहिलो आमनेसामने भेट हुनेछ । ‘जिरो–सम गेम’ (एउटा यस्तो अवस्था, जहाँ एक पक्षको प्राप्ति अर्को पक्षको नोक्सानीद्वारा पूर्ण रूपमा सन्तुलित हुन्छ) मानसिकताबाट बढ्दो रूपमा ग्रस्त विश्वमा यी तीन देशका राष्ट्रप्रमुख संवादका लागि एकै ठाउँमा बस्नु विश्व समुदायका लागि खुसीको विषय हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी एक प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शिखर वार्तामा सहभागी राष्ट्रप्रमुखहरूले विश्व शान्ति कायम राख्ने र प्रमुख शक्ति राष्ट्रबिचको सम्बन्धमा रणनीतिक स्थिरता प्रवर्द्धन गर्नेबारेमा विमर्श गर्ने बताइन् ।
सेन्जेनमा बुधबार र बिहीबार ‘समृद्धिका लागि एसिया–प्रशान्त समुदायको निर्माण’ भन्ने नारासाथ ‘एसिया–प्रशान्त आर्थिक सहयोग’ (एपेक) का नेताहरूको ३३औँ बैठकको छेउमा हुने यो शिखर वार्ता अस्थिर विश्वमा थप निश्चितता ल्याउन र आपसी आदानप्रदानलाई सुदृढ पार्न शीर्ष नेताका निम्ति एउटा अवसर हो । वर्तमान परिस्थितिमा चीन, रुस र अमेरिकाबिच सञ्चार सुदृढ हुनु, विद्यमान मतभेद व्यवस्थापन गर्नु र सम्बन्धलाई स्थिर बनाउनु तीनवटै राष्ट्रको हितमा छ र यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप पनि छ । कुनैवेला माओले भनेझैँ यसले विश्वव्यापी स्थितिलाई स्थिर बनाउन तथा संवाद र सहकार्यलाई प्रवर्द्धन गर्न योगदान पुर्याउँछ ।
यी तीन प्रमुख राष्ट्रका राष्ट्राध्यक्षबिच हुने प्रत्यक्ष संवादले एक–अर्काका मुख्य सरोकार र ‘रेड लाइन’ (अतिक्रमण गर्न नहुने सीमा)का बारेमा समझदारी बढाउन सहयोग गर्नुका साथै रणनीतिक गलत आकलनलाई रोक्न सघाउँछ । साथै, यसले अन्य राष्ट्रलाई पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा संवेदनशील मुद्दाको उचित व्यवस्थापन गर्न प्रोत्साहित गर्न सक्छ ।
संयुक्त राष्ट्र संघका संस्थापक सदस्य तथा राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्यका रूपमा चीन, रुस र अमेरिकाले कुनै समय ‘विश्व फासीवादविरोधी युद्ध’मा विजय हासिल गर्न सँगै मिलेर लडेका थिए । एक शताब्दीयता नदेखिएका गम्भीर परिवर्तनको सामना गरिरहँदा विश्वव्यापी चुनौतीको सम्बोधन गर्न तथा विश्व शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्दै सहकार्य गर्ने साझा जिम्मेवारी यी तीन राष्ट्रकै काँधमा छ । युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न यी तीन मुलुक दृढ रहनुले उक्त व्यवस्थालाई चुनौती दिन ‘महाशक्ति प्रतिद्वन्द्विता’को भाष्यलाई उचाल्न खोजिरहेका केही देश र राजनीतिज्ञलाई स्पष्ट चेतावनी दिनेछ । तसर्थ, यो शिखर सम्मेलनले तीनवटै मुलुकलाई यो कुरा पुनः पुष्टि गर्ने अवसर प्रदान गर्नेछ कि प्रमुख राष्ट्रबिचको समन्वय नै स्थिरताको सही मार्ग हो र विश्वलाई परस्परविरोधी खेमामा विभाजन गर्ने प्रयासले विश्व शान्ति तथा समृद्धिलाई कमजोर पार्ने जोखिम निम्त्याउँछ ।
यसका साथै, आपूर्ति शृंखलाको स्थिरता, क्षेत्रीय द्वन्द्व व्यवस्थापन तथा खाद्य र ऊर्जा सुरक्षा, जलवायुसम्बन्धी कार्य र जनस्वास्थ्यका क्षेत्रमा हुने प्रगति— यी सबै कुरा प्रमुख राष्ट्रले संवाद र सहकार्यमार्फत आपसी विश्वास निर्माण गर्न सक्छन् वा सक्दैनन् भन्नेमा निर्भर गर्छन् । उनीहरूले यस्तो विश्वास कायम गर्न सके भने मानवताको साझा हितका लागि आफ्ना विश्वव्यापी जिम्मेवारी पूरा गर्न उनीहरूले मिलेर नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेछन् ।
कृत्रिम बुद्धिमत्ता (एआई) ले जटिलताको अर्को तह थप्छ । सीमापार गर्ने प्रविधिका लागि बनाइएका नियम तब प्रभावहीन हुनेछन्, जब तिनका मुख्य विकासकर्ता एक–अर्कासँग सहकार्य गर्न अस्वीकार गर्छन् । आगामी सम्मेलनले यी समस्याको समाधान गर्नेमा विश्व समुदाय आशावादी छ ।
इतिहासले देखाउँछ कि प्रमुख राष्ट्रका शीर्ष नेतामा रहने रणनीतिक दूरदृष्टि, सुझबुझ र विभिन्न क्षेत्रमा स्रोत–साधन परिचालन गर्न सक्ने क्षमताका कारण उनीहरूबिच हुने प्रत्यक्ष भेटघाटले प्रायः गहिरो र दूरगामी महत्व राख्छन् । उनीहरूबिचको आमनेसामनेको संवादले रणनीतिक मार्गदर्शन प्रदान गर्न सक्छ । यसले सहमतिलाई ठोस कार्य र नतिजामा परिणत गर्न मद्दत पुर्याउँछ ।
जटिल मुद्दाहरू (जहाँ पूर्ण समाधान निकाल्न सम्भव हुँदैन) का विषयमा पनि प्रमुख राष्ट्रका शीर्ष नेताबिच हुने यस्ता फ्रत्यक्ष अन्तर्त्रियाले उनीहरूको मनसाय स्पष्ट पार्न, संकट व्यवस्थापनका माध्यम स्थापना गर्न र एक–अर्कालाई केही हदसम्म छुट दिने वा सम्झौता गर्ने ठाउँ सिर्जना गर्न मद्दत पुर्याउन सक्छ । सेन्जेन शिखर सम्मेलनले जटिल मुद्दाहरूको समाधानका सन्दर्भमा खतरालाई केही मात्रामा भए पनि कम गर्ने दिशामा सामान्य कदम चाल्न सक्यो भने यसको महत्वलाई कम आँक्नु हुँदैन ।
इतिहास, वर्तमान युग र जनताद्वारा उठाइएका प्रश्नको जवाफ दिने दायित्व प्रमुख राष्ट्रहरूको हुन्छ । त्रिपक्षीय शिखर सम्मेलनका लागि आधार तयार पार्दै चीनले आफ्ना जिम्मेवारी वहन गर्न तथा विश्व शान्ति, स्थिरता र साझा विकासका लागि अपरिहार्य सहकार्यलाई अघि बढाउन आफू तत्पर रहेको देखाएको छ । विश्वलाई यस्ता प्रमुख राष्ट्रहरूको आवश्यकता छ, जो त्यस दिशामा चीनसँग बिचको बाटोमा भेट्न तयार होऊन् । सेन्जेन शिखर सम्मेलनले यो सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ ।
चाइना डेलीको सम्पादकीय