ट्रम्प, सी र पुटिनबिचको शिखर वार्ताले गर्ला त इरान र युक्रेन युद्ध अन्त्य ?

मंगलबार, १ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • अमेरिका र रुस आफैँले रोजेको युद्धलाई चीनले पार लगाइदिने आशाका साथ ट्रम्प र पुटिन सीसँगको शिखर सम्मेलनमा सहभागी हुँदै

अर्को साता चीनमा हुने एपेक शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच त्रिपक्षीय भेटवार्ता हुँदै छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की भने कतै यो भेटवार्ता ‘अर्को याल्टा सम्मेलन’ हुने त होइन भनेर चिन्तित छन् । यस्तो चिन्ता व्यक्त गर्ने जेलेन्स्की एक्ला भने होइनन् ।

कूटनीतिमा तपाईं वार्ताको टेबलमा हुनुहुन्न भने तपाईंका मूल्य–मान्यता वार्ताको विषय बन्न सक्ने जोखिम हुन्छ । सेन्जेनमा हुने विश्वका तीन शीर्ष नेताको शिखर सम्मेलनमा पनि युक्रेनदेखि पूर्वी युरोप र ताइवानदेखि इरानसम्मको निर्णय हुन सक्ने चिन्ता हुनु स्वाभाविक हो । आखिर पुटिनले चाहेको र ट्रम्पले समर्थन गरेको जटिल भूराजनीतिक लेनदेनमा उल्लेखित क्षेत्रले धेरै कुरा गुमाउन सक्छन् ।

फेब्रुअरी १९४५ मा जोसेफ स्टालिनको आग्रहमा क्रिमियाको दक्षिणी तटमा रहेको जारशाही रिसोर्टमा अमेरिकी राष्ट्रपति फ्य्रांकलिन डी रुजवेल्ट र ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिल सम्मिलित याल्टा सम्मेलन भएको थियो । पुटिनले लामो समयदेखि याल्टा सम्मेलनको नयाँ स्वरूपको प्रस्ताव राख्दै आएका छन् । त्यसकै झल्को दिने गरी सेन्जेनमा हुन लागेको सम्मेलनमा ट्रम्प एक उत्साही पाहुनाको भूमिकामा छन् । जबकि, आयोजक देशका राष्ट्रपति सी भने परम्परागत विश्वव्यापी महाशक्तिको हैसियत अँगाल्न अनिच्छुक देखिन्छन् । तीन नेताको भेटवार्तामा के होला भनेर  अहिले नै कसैले भन्न सक्ने अवस्था छैन । सम्मेलनमा सहभागिता मात्र पनि पुटिनका लागि एक प्रकारको जित हो । उनले युरोपेली संघ (इयू)भन्दा सात गुणा सानो अर्थतन्त्र हुँदाहुँदै रुसलाई अझै विश्व राजनीतिमा प्रभावशाली खेलाडीका रूपमा प्रस्तुत गरेको दाबी गर्न सक्नेछन् ।

रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले रुसी टिभीलाई भने, ‘मुख्य उद्देश्य भनेको युरोपमा बृहत्तर सुरक्षाको एक व्यापक प्रणाली सिर्जना गर्नु हो, जुन आधुनिक याल्टा बन्नेछ । यस्तो सुरक्षा प्रणाली सिर्जना गर्न सफल भयौँ भने हामीले दशकौँसम्म, सायद शताब्दीसम्म नै युरोपमा अमनचैन सुनिश्चित गर्नेछौँ ।’

जबजब पुटिन र ट्रम्प वार्ताको टेबुलमा बस्छन्, त्यसको मारमा किभ पर्ने जेलेन्स्कीको चिन्ता छ । याल्टा सम्मेलनका क्रममा आठ दिनसम्म विश्वयुद्धका विजेता देशले युद्धपछिको संसारलाई आकार दिएका थिए । सम्मेलनमा जुनजुन देशबारे निर्णय हुँदै थियो, तिनै देशका नेता अनुपस्थित थिए । तत्कालीन अमेरिकी राष्ट्रपति रुजबेल्ट नयाँ बन्ने संयुक्त राष्ट्र संघमा रुसको निरन्तर समर्थन र जापानविरुद्ध हुन लागेको युद्धमा रुसी सहभागिता कायम गर्न चाहन्थे । बदलामा उनले पोल्यान्डमा रुसको उपस्थिति स्वीकार गरे । नाजी शासनबाट मुक्त देशमा ‘सार्वभौम अधिकार र स्वशासन’को सिद्धान्त प्रबल हुनुपर्छ भन्ने विषयलाई घोषणापत्रमा समावेश गरी स्टालिनलाई हस्ताक्षर गर्न लगाई रुजबेल्टले आफ्नो विश्वासघात ढाकछोप गर्ने प्रयास गरेका थिए । स्टालिनले उक्त हस्ताक्षरको सम्मान गर्नेछन् भनेर थोरैले मात्र आशा गरेका थिए ।

याल्टामा गरिएको विश्वासघातलाई लिएर अमेरिकामा केही हदसम्म लज्जाबोध कायम रह्यो । यतिसम्म कि मे २००५ मा ‘युरोपको विजय दिवस’को ६०औँ वार्षिकोत्सवमा सहभागी हुन मस्को जाँदै गरेका राष्ट्रपति जर्ज डब्लु बुसले लात्भियामा बोल्ने क्रममा ‘याल्टा सम्मेलनले दसौँ लाख मानिसलाई कम्युनिस्ट बन्धनमा धकेलिदिएको’ स्विकारे । ‘स्थिरताका लागि स्वतन्त्रतालाई बलि चढाउने उक्त प्रयासले एउटा महादेशलाई विभाजित र अस्थिर बनाइदियो,’ बुसले भनेका थिए । खासमा यही धारणा युरोपभर व्याप्त थियो । बुसले व्यक्त गरेको रिपब्लिकन धारणालाई ट्रम्पले खारेज गरिदिएका छन् । सन् २०२५ मा ट्रम्प प्रशासनले जारी गरेको राष्ट्रिय सुरक्षा दस्ताबेजमा याल्टा सम्मेलनमा ‘जित्नेबिच प्रभाव क्षेत्र बाँडेको’ उल्लेख गर्दै त्यसको प्रशंसा गरिएको छ । सोही दस्ताबेजमा पश्चिमी गोलार्द्धलाई अमेरिकाको प्रभाव क्षेत्र भनिएको छ । अझ प्रतिवेदनले रुस र चीनका प्रभाव क्षेत्रप्रति सम्मान व्यक्त गरेको छ ।

अमेरिका र रुस आफैँले रोजेको युद्धलाई चीनले पार लगाइदिने आशाका साथ शिखर सम्मेलनमा जाँदै छन् ।सी अहिले याल्टामा स्टालिनको जस्तो भूमिकामा छन् । ‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन’का अध्यक्ष तथा त्रिपक्षीय शिखर सम्मेलनका प्रारम्भिक समर्थक डा. वाङ हुइयाओले आगामी शिखर सम्मेलनमा चीन महत्वपूर्ण भएको तर्क गरे । उनले इरानमा बेइजिङले सुनिश्चितता प्रदान गर्न सक्ने बताउँदै यसलाई इरानी नेतृत्वले पनि स्विकार्ने बताए ।

निश्चित रूपमा चीनले मध्यपूर्वमा ट्रम्पलाई उनी फसेको दलदलबाट निकाल्न मद्दत गर्न सक्छ । यसमा उसको स्वार्थ पनि छ । आखिर, चीनको तेलको असीमित माग पूरा गर्न हर्मुज जलमार्ग खुला हुनु आवश्यक छ । तर, युक्रेन युद्धका सम्बन्धमा भने उसको अडान स्पष्ट छैन । त्यस युद्धलाई चीनले मूलतः युरोपेली सुरक्षा मुद्दाको रूपमा हेर्ने गरेको छ । यस मामिलामा चीन न पुटिनलाई धोका दिन इच्छुक छ, न युरोपको सहमतिविना भएको सम्झौतालाई समर्थन गर्न नै तयार छ ।

सन् २०२५ देखि चिनियाँ औद्योगिक क्षेत्रमा देखिएको अति–क्षमताको परिणामस्वरूप युरोपेली बजारमा चिनियाँ सामानको बाढी देखियो । त्यसयता युरोप आफूसँग नचिढियोस् भनेर चीन अन्य देशसँगको सम्बन्ध सुधारमा केन्द्रित छ । यस्तोमा नयाँ युरोपेली सुरक्षा संरचनाअन्तर्गत पुटिनको दृष्टिकोणलाई चीनले अँगालेको देखिएमा इयूको मुख्य देश जर्मनी र समग्र युरोपेली आयोग चिढिने जोखिम छ ।

‘उदार अन्तर्राष्ट्रियतावाद’का सिद्धान्तकार जोन इकेनबेरीलगायतले अमेरिकी राष्ट्रपतिले निरंकुश देशसँग मिलेर संसारलाई आफ्नो प्रभावमा राख्ने कार्यलाई राम्रो मानेका छैनन् । उनका विचारमा अझै पनि लोकतान्त्रिक देशबिच व्यावहारिक गठबन्धन सम्भव छ । तर, ‘काउन्सिल अन फरेन रिलेसन्स’का वरिष्ठ फेलो चार्ल्स कुप्चनले भविष्यमा धेरै ‘याल्टा’ सम्मेलन हुने भविष्यवाणी गरे ।

‘हामीले भूराजनीतिक र वैचारिक विभाजन रेखा पार गर्न सिक्नुपर्छ । अहिले अमेरिका र यसका लोकतान्त्रिक सहयोगीहरू प्रमुख गठबन्धनमा बाँधिएका छैनन् । बरु चीनसँगै उदाइरहेका ठुला विकासोन्मुख देश भारत, ब्राजिल, इन्डोनेसिया, सबै प्रभाव विस्तारमा केन्द्रित छन् । तिनीहरूमध्ये धेरैको अमेरिकासँग भन्दा चीनसँग नजिकको आर्थिक सम्बन्ध छ,’ कप्चनले भने, ‘यस्तोमा हामीले निरंकुश देशसँग काम गर्न र उनीहरूसँग व्यवहार गर्दै अघि बढ्न सिक्नुपर्नेछ । निश्चित रूपमा त्यसको नकारात्मक जोखिम छ ।’

(ब्रिटिस पत्रकार प्याट्रिक कूटनीतिबारे लेख्छन्)

द गार्जियनबाट
 

सुझावित समाचार