डेमोक्य्राटले यसरी रोक्न सक्छ इरानमा ट्रम्पको युद्ध

शनिबार, ५ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • डेमोक्य्राटहरूको नियन्त्रणमा रहेको कंग्रेसले रक्षा बजेटमा एउटा यस्तो प्रावधान राख्न सक्छ, जसले इरानविरुद्धको शत्रुतापूर्ण कारबाहीका लागि रकम प्रयोग गर्न निषेध गर्छ । ट्रम्पले यसलाई भिटो प्रयोग गरी अस्वीकार गर्न सक्छन्, तर यसो गर्दा सेनामा कार्यरत सबैको तलबसमेत रोक्का हुन्छ ।

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्य्राटको सानदार जितले उनीहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका एजेन्डामा अवरोध पुर्याउन सक्ने बलियो स्थितिमा उभ्याएको छ । डेमोक्य्राटको जितमा इरानविरुद्ध ट्रम्पको अत्यधिक अलोकप्रिय र महँगो युद्ध पनि समावेश छ, जुन उनीहरूको पहिलो प्राथमिकतामध्ये एक हुन सक्छ । राष्ट्रपतिका रूपमा, ट्रम्पले युद्ध अन्त्य गर्ने उद्देश्यले ल्याएको कुनै पनि कानुनमाथि ‘भिटो’ (विशेषाधिकार) प्रयोग गर्न सक्छन् । तर, डेमोक्य्राटसँग अझै एउटा शक्तिशाली अस्त्र बाँकी छ, युद्धका लागि दिइने आर्थिक सहयोग वा बजेट रोक्का गर्नु । यद्यपि, यसमा केही जटिलता पनि छन् । इतिहासले के देखाउँछ भने यस्तो अधिकारको प्रयोग गर्दा राजनीतिक टकराव निम्तिन सक्छ, जसको परिणाम उल्टो पनि पर्न सक्छ । अनि, यदि डेमोक्य्राटहरू युद्ध अन्त्य गर्न सफल भए भने पनि यस युद्धले विश्वमञ्चमा अमेरिकाको प्रतिष्ठामा पुर्याएको क्षतिलाई भने सच्याउन नसक्ने अवस्था हुन सक्छ ।

कानुन निर्माणका सीमा
इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने प्रयासमा डेमोक्य्राटसँग मुख्यतः तीन विकल्प हुनेछन् । यद्यपि, यीमध्ये दुईवटा विकल्पका महत्वपूर्ण सीमा छन् । पहिलो र सायद सबैभन्दा स्पष्ट विकल्प कानुन निर्माणको विषय हो । यो कार्य गर्न केही फरक तरिका छन् । त्यसका लागि युद्ध अन्त्य गर्न आह्वान गर्ने प्रस्ताव पारित गर्नु हो । कंग्रेसले यसअघि जुन महिनामा यस्तै प्रयास गरेको थियो । उसले (केही रिपब्लिकनको समर्थनमा) एउटा संयुक्त प्रस्ताव पारित गर्यो, जसमा राष्ट्रपतिलाई इरानविरुद्धको शत्रुतापूर्ण कारबाहीबाट अमेरिकी सेना फिर्ता बोलाउन वा कारबाही जारी राख्नुअघि कंग्रेसको स्वीकृति लिन निर्देशन दिइएको थियो । यो कदम सन् १९७३ को ‘वार पावर्स रिजोलुसन’ (युद्ध अधिकारसम्बन्धी प्रस्ताव) अन्तर्गत चालिएको थियो ।

यद्यपि, यी तथाकथित प्रस्तावलाई व्यापक रूपमा गैरबाध्यकारी मानिन्छ । कंग्रेसको राय वा इच्छा व्यक्त गर्ने उद्देश्यले तिनीहरू सामान्यतया कंग्रेसभित्रका आन्तरिक मामिला सम्बोधन गर्न प्रयोग गरिन्छ । ट्रम्पले यसलाई बेवास्ता गरे । त्यसपछि सेप्टेम्बरमा सिनेटमा यस्तै प्रस्ताव असफल भयो । कंग्रेसले पारित गर्ने प्रस्तावलाई राष्ट्रपतिले सम्भवतः फेरि पनि भिटो प्रयोग गर्नेछन् । त्यो भिटोलाई पनि असफल पार्न डेमोक्य्राटसँग सदन र सिनेट दुवैमा दुईतिहाइ बहुमतको समर्थन चाहिन्छ । यसका लागि रिपब्लिकनको उल्लेखनीय संख्या आवश्यक पर्छ ।

कंग्रेसमार्फत शृंखलाबद्ध छानबिन
डेमोक्य्राटहरूका लागि दोस्रो विकल्प भनेको युद्ध जसरी सञ्चालन गरियो, त्यस विषयमा कंग्रेसमार्फत शृंखलाबद्ध छानबिन अघि बढाउनु हो । यसमा सार्वजनिक सुनुवाइ, साक्षी वा प्रमाणका लागि आदेश जारी गर्ने र ट्रम्प प्रशासनसँग विभिन्न कागजात माग गर्ने प्रक्रिया समावेश हुन सक्छन् । साथै, डेमोक्य्राटहरूले ट्रम्प प्रशासनका उच्चपदस्थ अधिकारीविरुद्ध महाभियोग लगाउने प्रयास पनि गर्न सक्छन् । यदि तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) का भावी सभामुखका रूपमा चर्चा गरिएका डेमोक्य्राट नेता हाकिम जेफ्रिजले आफ्नो दलभित्रका केही प्रगतिशील विचार राख्नेलाई (वा इरान युद्ध तथा ट्रम्पको विरोधमा कडा अडान लिने पक्षलाई) खुसी पार्न चाहेमा रक्षामन्त्री पिट हेगसेथमाथि महाभियोग लगाउन सक्नेछन् ।

तर, यस चरणमा यस्तो कारबाहीका आधार स्पष्ट छैनन् । सिनेटमा डेमोक्य्राटहरूको नयाँ बहुमत भए पनि रिपब्लिकनका तर्फबाट ठुलो संख्यामा समर्थन नमिलेसम्म उनी दोषी ठहरिने सम्भावना कमै छ । अझ महत्वपूर्ण कुरा त के हो भने कंग्रेसद्वारा गरिने अनुसन्धान निकै लामो प्रक्रिया हो र यसबाट युद्ध छिट्टै अन्त्य हुने सम्भावना भने देखिँदैन ।

कोषमाथिको नियन्त्रण
तेस्रो विकल्प कोषमाथिको नियन्त्रण हो । युद्धलाई तत्काल अन्त्य गर्न कंग्रेससँग रहेको सबैभन्दा प्रत्यक्ष अधिकार अमेरिकी संविधानको धारा १ को खण्ड ९ मा उल्लेख छ । यस खण्डमा भनिएको छ– कानुनद्वारा विनियोजन नगरिएसम्म सरकारी ढुकुटीबाट कुनै पनि रकम निकाल्न पाइनेछैन । यसलाई ‘कोषमाथिको नियन्त्रण’ भनिन्छ । जनवरीमा नयाँ कंग्रेस (संसद्) ले शपथग्रहण गरेपछि ट्रम्पको युद्ध विभागले खर्च गर्न चाहेको हरेक नयाँ डलरका लागि तल्लो सदन र माथिल्लो सदनको स्वीकृति आवश्यक पर्नेछ । डेमोक्य्राटहरूको नियन्त्रणमा रहेको कंग्रेसले रक्षा बजेटमा एउटा यस्तो प्रावधान राख्न सक्छ, जसले इरानविरुद्धको शत्रुतापूर्ण कारबाहीका लागि रकम प्रयोग गर्न निषेध गर्छ । ट्रम्पले यसलाई भिटो प्रयोग गरी अस्वीकार गर्न सक्छन्, तर यसो गर्दा सेनामा कार्यरत सबैको तलब भुक्तानीसमेत रोक्का हुन्छ ।

डेमोक्य्राटहरूले सन् २००७ मा पनि यस्तै प्रयास गरेका थिए, जसमा उनीहरूले इराकबाट अमेरिकी सेना फिर्ता लैजाने समयतालिका लागू गर्न दबाब दिएका थिए । तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले यसलाई भिटो प्रयोग गरे र अन्त्यमा यो विषय राजनीतिक विवादको केन्द्र बन्यो । दुवै पक्षले एक–अर्कालाई अमेरिकी सेनाका लागि आवश्यक रकम उपलब्ध नगराएको आरोप लगाए ।

मतदाताको आक्रोशको जोखिम बढ्दै गएपछि डेमोक्य्राटहरू अन्ततः पछि हटे । आज पनि यस्तै कदम चाल्दा उस्तै जोखिम हुन सक्छ । यदि राष्ट्रपतिले डेमोक्य्राटहरूमाथि अमेरिकी सैनिकलाई धोका दिएको आरोप लगाए भने के उनीहरू आफ्नो राजनीतिक विश्वसनीयता दाउमा राख्न तयार होलान् ?

गम्भीर आत्मसमीक्षा गर्दै रिपब्लिकन
बुधबार ट्रम्प स्वयंले स्वीकार गरे कि इरानसँगको युद्ध रिपब्लिकन पार्टीको नराम्रो हारको एउटा कारण थियो । तर, उनले आफ्नो निर्णयको बचाउ गर्दै भने कि यदि इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न आवश्यक परेमा उनी फेरि पनि त्यही कदम चाल्नेछन् । अर्थात्, उनले युद्धलाई निरन्तरता दिनेछन् । उपराष्ट्रपति जेडी भान्सले भने यस विषयमा बचाउ गर्ने प्रयास गरेनन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको विस्तृत विज्ञप्तिमा भान्सले स्पष्ट रूपमा भने कि रिपब्लिकनहरूको हारको कारण इरान युद्ध थियो । उनले थपे, ‘अब हामी अगाडि कसरी बढ्ने भन्नेबारे गरिने कुनै पनि इमानदार छलफलको सुरुवात यहीँबाट हुनुपर्छ ।’

भान्सले लामो समयदेखि विदेशका द्वन्द्वमा अमेरिकी सैन्य संलग्नताको आलोचना गर्दै आएका छन् । तर, उपराष्ट्रपति पदमा रहँदा उनले इरानविरुद्ध ट्रम्पले चालेका कदमको सार्वजनिक रूपमा समर्थन गरेका छन् । यस हप्ता डेमोक्य्राट पार्टीले हासिल गरेको अत्यधिक जितले भान्स र अन्य रिपब्लिकनलाई अब राष्ट्रपतिभन्दा फरक अडान लिन निकै सहज बनाइदिएको छ ।

शक्ति सन्तुलनमा आएको परिवर्तन
ट्रम्पका लागि अहिले युद्ध अन्त्य गर्नु भनेको अपमान सहनुसरह हुनेछ । अमेरिकाले हालसम्म एउटा यस्तो सैन्य अभियानमा करिब ५० अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ, जसबाट ठोस उपलब्धि भने नगण्य मात्र हात लागेको छ । यति मात्र होइन, इरानले यो बुझेको छ कि ‘स्ट्रेट अफ हर्मुज’ एउटा यस्तो रणनीतिक बिन्दु हो, जसलाई उसले आफ्नो नियन्त्रणमा राख्न सक्छ । यस्तै अवस्था यमनको तटनजिक रहेको ‘बाब अल–मानदेव स्ट्रेट’को पनि छ, जहाँ इराननिकट हुथी विद्रोहीले व्यावसायिक जहाजमाथि आक्रमण गरेका छन् ।

यी लागत ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिएपछि पनि कायम रहनेछन् । यो युद्धले शीतयुद्धको अन्त्यपछि वासिंटनले खडा गरेको एकध्रुवीय विश्व व्यवस्थालाई पूर्ण रूपमा अन्त्य गरिदिन सक्छ । यसबाट सबैभन्दा ठुलो लाभ उठाउने पक्ष तेहरान नभई बेइजिङ हुन सक्छ ।

  • (वाग्नर कानुनका प्राध्यापक तथा युनिभर्सिटी अफ वोलोन्गोंगस्थित ‘युओडब्लु ट्रान्सनेसनल ल एन्ड पोलिसी सेन्टर’का निर्देशक हुन् । द कन्भर्सेसनबाट सुभाष शर्माको अनुवाद ।)

सुझावित समाचार