कहिले मनाउने समानतामूलक छठ ?

शनिबार, २८ कार्तिक, २०८३
डिजिटल संस्करण
  • हाम्रा जति पनि पर्व छन्, पितृसत्तात्मक कोणबाट अभ्यास हुँदै आएका छन्, यिनले महिलालाई धेरै नै जिम्मेवारी थोपरिदिन्छन्

हिन्दु धर्मअनुसार द्वापर युगबाट छठ पर्व सुरु भएको मानिन्छ । महाभारतमा उल्लेख भएअनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास रहेका वेला पाण्डवहरूले यो व्रत गरेका थिए । छठ विशेषतः प्रकृतिको पूजा हो । यो वेला सूर्य, नदी, पोखरी, जलाशयलाई पूजा गरिन्छ । पौराणिक कालदेखि नै छठ मनाउन थाले पनि भारतको उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएको मधेश प्रदेशमा धेरै पहिलादेखि मनाउन थालियो । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन् । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यो पर्वले मंगल र कल्याण गर्ने जनविश्वास छ ।

छठ पर्वमा पहिलो दिन नुहाइधुवाइ सात्विक भोजन (जस्तैः भात, चनाको दाल, लौकाको तरकारी) गरिन्छ । दोस्रो दिन व्रतालुहरू दिनभर निराहार व्रत बस्छन् । बेलुकीपख सक्खर हालेर बनाइएको खिर (रसियाव) र लौकाको तरकारी भगवान्लाई चढाएर प्रसादको रूपमा ग्रहण गर्छन् । तेस्रो दिन पानीसमेत नपिई कठोर व्रत बस्छन् । बाँसको टोकरी (सुप/डगरी)मा ठेकुवा, कसार, उखु, केरा, कागतीलगायत विभिन्न मौसमी फलफूल सजाइन्छ । बेलुकीपख नजिकैको नदी, पोखरी वा जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । राति घाटमा जाग्राम बस्ने र भजनकीर्तन गरिन्छ । चौथो दिन बिहान सबेरै उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । सूर्यलाई अर्घ्य दिएर प्रसाद ग्रहण गरेपछि चारदिवसीय कठोर व्रतको समापन गरिन्छ ।

कुनै वेला छठ मधेशमा मात्र सीमित थियो । काठमाडौंमा छिटपुट रूपमा मनाइन्थ्यो । पछिल्लो समय मधेश मात्र होइन, काठमाडौंसहित हिमाल, पहाडमा पनि धेरै विस्तार भइसकेको छ । यो पर्वलाई सबै समुदायले अपनत्व ग्रहण गरेका छन् । नेपाली रहेका विभिन्न देशमा समेत छठ मनाउन थालिएको छ । छठकै अवसरमा विभिन्न देशमा सांगीतिक कार्यक्रम हुन थालेका छन् । ती सांगीतिक कार्यक्रममा लागि नेपालदेखि गायक–गायिका अस्ट्रेलिया, दुबई, कतार गइरहेका छन् । अर्थात्, जहाँ–जहाँ नेपाली–मधेशी समुदायको बसोवास छ, त्यहाँ यसको विस्तार भइरहेको छ । यो एउटा सांस्कृतिक पर्व भए पनि पहिचानका रूपमा र पछिल्लो समय व्यवसायका रूपमा पनि फस्टाउँदै गएको छ । छठ अझै व्यापक र विस्तार हुँदै गएको छ ।

छठ, जितिया, तिजका उपवासमा महिला नै मुख्य भूमिकामा हुन्छन् । अधिकांशको घरमा सासू, सासू नसक्ने भएपछि बुहारी, कतिपय ठाउँमा छिमेकीले समेत छठमा अर्घ्य दिन्छन् । केही ठाउँमा पुरुषले पनि अर्घ्य दिन्छन् । तर, उपवास बस्ने, छठको प्रक्रिया पूरा गर्ने, उत्सवका रूपमा मनाउँदा घरको सबैजसो काम महिलाकै जिम्मेवारी हुन्छ । हाम्रा जति पनि पर्व छन्, पितृसत्तात्मक कोणबाट अभ्यास हुँदै आएको छ । महिलालाई धेरै नै जिम्मेवारी अर्थात् बोझ थुपारिन्छ ।

छठमा पहिला गाउँघरमा सामान्य तरिकाले पूजा हुन्थ्यो । अहिले जहाँ बसे पनि छठपूजा गर्न सकिन्छ । अहिले यो विस्तार भएको छ । तर, छठभित्र हुने जातीय विभेद अझै कायम छ । गतवर्ष रौतहटमा एक–दुई घटना भए, गैरदलितले दलितलाई एउटै पोखरीमा छठ पर्व मनाउन दिएनन् । दलित र गैरदलितले छुट्टाछुट्टै छठ पर्व मनाएको समाचारसमेत बने । यसपटक महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले कात्तिक १८ गते एक विज्ञप्ति नै जारी गरेर छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न तथा छुट्टै घाट नबनाउन आग्रह गरिसकेकी छिन् ।

छठले मधेश, पहाड र हिमाललाई जोडेको छ । कांग्रेस सभापति गगन थापा छठ मनाउन सर्लाही जाँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि छठ मनाउन जनकपुर जाने भएका छन् । यसले राजनीतिक रूपले पनि छठलाई मान्यता दिइरहेको देखिन्छ । तर, दलित समुदायले अझै पनि छुट्टै छठ मनाउनुपर्ने अवस्था छ । यस्तो खालको जातीय विभेद हुने अवस्था आउनुहुँदैन । छठमा प्रयोग हुने बाँसका सामग्री नाङ्लो, ढकियालगायत डोम समुदायले बनाउँछन् । डोम समुदायले बनाएको सामग्री शुद्ध हुने त्यही समुदायसँग छठ मनाउँदा अशुद्ध र छुवाछुत हुने ?

यही सर्न्दभमा धीरेन्द्र प्रेमर्षीको मैथिली भाषामा एउटा निकै चर्चित गीत पनि छ ।

हमरे डाला–पन पथियासँ देवतो–पितर पुजाई छै ।
कहू यौ बाबू तैयो हम्मर देह ई किए छुआई छै ।

अर्थात्, हामीले बनाएको सामग्रीबाट छठ गर्दा शुद्ध हुने, देवता खुसी हुने अनि हामीलाई चाहिँ अछुत मान्ने ? गीत मार्मिक छ ।

छठ पहिले सामान्य तरिकाले मनाइन्थ्यो । घरमै सबै सामग्री तयार पारेर छठ मनाइन्थ्यो । अहिले जसरी तिज पार्टी प्यालेस पुगेको छ, त्यसरी नै छठ खर्चिलो हुन थालेको छ । देखासिखी गर्ने, सुन, गरगहना लगाउने चलन धेरै देखिन थालेको छ । तडकभडक धेरै नै भएको छ । छठलाई पहिलाकै अवस्थामा कायम राख्न पाएहुन्थ्यो, यसले कमजोर वर्गका मानिस झनै थिचिने थिएनन् । व्रत बस्ने, तयारी गर्ने सबै जिम्मेवारी महिलाले सम्हाल्नुपर्ने भएपछि झनै गाह्रो हुन्छ । त्यसैले, छठ समावेशी र समानतामूलक पनि हुनुपर्छ ।

(अध्येता साहसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित) 

सुझावित समाचार