मुस्लिमलाई दोष थोपार्दैमा समाधान हुन्न युरोपको संकट

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • युरोपेली संसद्ले पारित गरेको एक प्रस्तावले राज्यबाट स्वतन्त्र रूपमा सञ्चालन हुने मुस्लिम संस्थालाई शंकाको घेरामा मात्र राखेको छैन, सार्वजनिक गतिविधिमा मुस्लिम नागरिक समाजको समावेशीकरणलाई घुसपैठको एक अंशका रूपमा समेत प्रस्तुत गरेको छ

गत साताको अन्त्यतिर फ्रान्समा भएको विरोध प्रदर्शन थप हिंसात्मक बन्दै जाँदा देशका अति दक्षिणपन्थीले हिंसाका लागि मुस्लिम युवालाई दोष थोपार्न तुरुन्तै जातिवादी भाषाको सहारा लिए । केही साताअघि जब हजारौँ आप्रवासीले छिमेकी मोरक्कोबाट स्पेनी भूमि सेउटामा प्रवेश गर्ने प्रयास गरे, स्पेनी अति दक्षिणपन्थीले मोरक्कोवासी र त्यहाँका मुस्लिमले गरेको संगठित आक्रमणबारे अर्थ्याएका थिए । उक्त घटनाक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मुस्लिमको कब्जा प्रयासका रूपमा लिन खोजेको’ दाबी गरेका थिए ।

अहिले इस्लामोफोबिया (मुस्लिमदेखि डराउने वा घृणा गर्ने) लाई बढावा दिन र संकटको फाइदा उठाउन अति दक्षिणपन्थीको तत्परता बढदो छ । तर, युरोपको बढदो समस्याका लागि मुस्लिम दोषी छन् भन्ने विचार अब युरोपेली राजनीतिक परिदृश्यका लागि उपयुक्त छैन । गत साता फ्रान्समा विद्यार्थी विरोध प्रदर्शन चर्किरहेका वेला युरोपेली संसद्ले चुपचाप ‘इस्लामी प्रवेशवाद र मुस्लिम ब्रदरहुड नेटवर्कको प्रभावको प्रतिरोध गर्न इयू रणनीतिको आवश्यकता’सम्बन्धी एउटा प्रस्ताव पारित गर्यो । यो प्रस्ताव युरोपेली संसद्को सबैभन्दा ठुलो समूह मध्य–दक्षिणपन्थी युरोपेली पिपुल्स पार्टी (इपिपी) द्वारा प्रस्तुत गरिएको थियो ।

उक्त प्रस्ताव १६७ को विरुद्धमा ३८१ मतले पारित भयो । १५ जना सांसद अनुपस्थित रहे । चार अन्य समूहले प्रस्तावलाई लगभग सर्वसम्मतिले समर्थन गरे । यी चार समूहमा युरोप र युरोपको सार्वभौम राष्ट्रका लागि अति दक्षिणपन्थी देशभक्त, उदारवादी युरोप,  युरोपेली कन्जर्भेटिभ र सुधारवादीहरू । सामाजिक डेमोक्य्राटहरू, वामपन्थीहरू र ग्रिन्सले विपक्षमा मतदान गरे तर यसलाई रोक्न सकेनन् ।

प्रस्तावले मुस्लिम समुदायमा व्यापक प्रभाव पार्ने बताइएको छ ।  यसले ‘इस्लामिस्ट इन्ट्रिजम’ (मुस्लिम प्रवेशवाद)लाई ‘प्रभाव पार्ने, क्रमशः संरचना निर्माण गर्ने, संस्थाभित्र प्रवेश गर्ने र वैचारिक वैधता प्रदान गर्ने एक राजनीतिक रणनीतिका रूपमा’ परिभाषित गर्छ । प्रस्तावको दाबी छ कि ‘इस्लामिस्ट प्रभाव विभिन्न संघसंस्था, प्रतिष्ठान तथा सांस्कृतिक, शैक्षिक, धार्मिक, परोपकारी, विश्वविद्यालय, युवा, विभेदविरोधी वा सामाजिक कार्यसँग सम्बन्धित संरचनाको एउटा फराकिलो तर छरिएको पारिस्थितिक प्रणालीमार्फत सञ्चालन हुन्छ ।’

अझ स्पष्ट रूपमा भन्नुपर्दा यसले भन्छ कि ‘विविधता, समानता, समावेशीकरण र भेदभावविरोधी ढाँचालाई अल्पसंख्यकको संरक्षणका लागि संस्थागत वाहकका रूपमा मोडन सकिन्छ ।’ अर्थात्, अर्को शब्दमा मुस्लिम ब्रदरहुडजस्ता सञ्जालले इस्लामोफोबियाविरोधी पहलमार्फत युरोपेली समाजमा घुसपैठ गर्छन् ।

यो प्रस्ताव बाध्यकारी छैन र युरोपेली संघका सदस्य राष्ट्रले यसलाई कार्यान्वयन गर्नुपर्दैन । ‘मुस्लिम ब्रदरहुड’ तथा त्यससँग सम्बद्ध व्यक्ति र संस्थालाई अतिवादी सूचीमा राख्न गरिएको आह्वान युरोपभरि कार्यान्वयन हुने सम्भावना कम छ, किनकि यो समूहले राजनीतिक औजारका रूपमा हिंसाको प्रयोगलाई त्यागेको छ । यद्यपि, यस प्रस्तावले एउटा यस्तो वैचारिक ढाँचालाई वैधता प्रदान गर्छ, जसले मुस्लिम समुदायका लागि गम्भीर परिणाम निम्त्याउन सक्छ । प्रस्तावले राज्यबाट स्वतन्त्र रूपमा सञ्चालन हुने मुस्लिम संस्थालाई शंकाको घेरामा राख्छ र सार्वजनिक गतिविधिमा मुस्लिम नागरिक समाजको समावेशीकरणलाई घुसपैठको एक अंशको रूपमा प्रस्तुत गर्छ । यसले ब्रसेल्सस्थित युरापेली नेटवर्क अगेन्स्ट रेसिज्म (इएनएआर) सहित धेरै संस्थालाई यस प्रकारको ‘इस्लामी’ व्यवहारलाई समर्थन गर्ने व्यक्तिको रूपमा नाम दिएको छ र इयू कोषमा पहुँच रोक्न र इयू कोषबाट वित्त पोषित कुनै पनि संस्थालाई उनीहरूसँग काम गर्नबाट प्रतिबन्ध लगाउन आह्वान गर्दछ । ‘मुस्लिम ब्रदरहुड नेटवर्क’को अस्पष्ट धारणाले लगभग जोकोहीका लागि पनि संघबाट दोषी महसुस गर्न सम्भव बनाउन सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा यो प्रस्तावले मुस्लिमलाई इस्लामवादी घुसपैठको षडयन्त्रको एक अंशका रूपमा आकार दिन्छ । यसले युरोपेली समाजमा इस्लामोफोबियालाई सम्बोधन गर्न खोज्ने पहल र सार्वजनिक बहसलाई प्रत्यक्ष असर गर्न सक्छ । सांकेतिक रूपमा यो प्रस्ताव युरोपका दक्षिणपन्थी तथा मुस्लिमविरोधी शक्तिका लागि एउटा ठुलो जित हो । यसले के देखाउँछ भने मध्य दक्षिणपन्थी शक्तिहरू अति दक्षिणपन्थीतर्फ निरन्तर नजिकिँदै जाँदा युरोपेली संसद्ले अति दक्षिणपन्थीविरुद्धको सुरक्षा घेरा हटाउन थालेको छ । युरोपेली पिपुल पार्टी (इपिपी)ले अति दक्षिणपन्थी एजेन्डालाई लगभग पूर्ण रूपमा आत्मसात् गरिसकेको देखिन्छ, तर यसलाई ‘राष्ट्रिय सुरक्षा’को शब्दावलीभित्र ढाकेर प्रस्तुत गर्ने प्रयास गरिरहेको छ ।

यो प्रस्तावले युरोपेली इस्लामोफोबिया कसरी विकसित भएको छ भनेर पनि देखाउँछ । डर अब आप्रवासीलाई अपरिचितको रूपमा गरिने व्यवहारमा होइन, बरु ती मुस्लिमका लागि हो, जो आफ्ना लागि बोल्न र आफ्नो नागरिक स्वतन्त्रताको रक्षा गर्न संघर्षशील  छन् ।

मध्य–दक्षिणपन्थीका लागि यो (प्रस्ताव) इस्लामोफोबिया ढाँचा राजनीतिक लाभसँगै आउँछ । यो मुस्लिमविरोधी डर फैलाउने कामबाट चुनावमा लाभ उठाउन सक्षम मात्र होइन, बरु यो जातिवादलाई अस्वीकार गर्ने र मुस्लिम समुदायको पक्षमा उभिने वामपन्थीमाथि पनि प्रहार गर्न सक्षम छ ।

फ्रान्सको राजनीतिक परिदृश्यमा ‘इस्लामोलेफ्टिज्म’ (जसलाई फ्रेन्च भाषामा इस्लामोगोसिज्म भनिन्छ) को अवधारणालाई अघि बढाइनु कुनै आश्चर्यको विषय होइन । वामपन्थी दल ‘ला फ्रान्स इन्सुमिज’का ज्याँ लुक मेलन्सोन सीमान्तकृत समुदायमाझ विशेष लोकप्रिय छन् र उनी राष्ट्रपतिको पदका लागि एक बलियो दाबेदार हुन् । अहिले उनीमाथि ‘दंगाकारी’लाई प्रोत्साहन दिएको आरोप लगाइएको छ र यहाँ संकेत गरिएअनुसार ती दंगाकारी मुस्लिम हुन् ।

वामपन्थी र मुस्लिममाथिको यो दोहोरो प्रहार ‘यहुदी–बोल्सेभिक षडयन्त्र सिद्धान्त’सँग मेल खान्छ, जसले पश्चिमी सभ्यतालाई ध्वस्त पार्ने उद्देश्यका साथ साम्यवाद फैलाएको आरोप यहुदीमाथि लगाएको थियो । आज सन्् १९६० को दशकयता जातीय विभेद र असमानता हटाउने सन्दर्भमा पश्चिमा जगतले हासिल गरेको सामान्य प्रगतिका विरुद्ध ‘प्रति–क्रान्ति’ पूरा गर्ने प्रयासमा ‘इस्लामोलेफ्टिजम’लाई रुढिवादी, उदारवादी र अति दक्षिणपन्थीहरू सबैले ‘बलिको बोका’का रूपमा प्रयोग गरिरहेका छन् । उनीहरूको यो परियोजना मुस्लिमविहीन युरोप निर्माण गर्ने दिशामा लक्षित देखिन्छ ।

‘इस्लामी प्रवेशवाद’ प्रस्तावको आधार जतिसुकै कमजोर किन नहोस्, हामीले व्यक्तिगत सदस्य राष्ट्रमा रुढिवादी गठबन्धनद्वारा राज्य नियन्त्रणबाहिर मुस्लिम एजेन्सीलाई रोक्न थप कानुनी रूपमा शंकास्पद कदमको अपेक्षा गर्नुपर्छ । यसैबिच, डर फैलाउनेहरूले सामाजिक रोगहरू र मितव्ययिताविरुद्धको वैध विरोधका लागि इस्लामलाई दोष दिइरहनेछन र राजनीतिज्ञले आफ्नै शासन् असफलताबाट ध्यान विचलित गर्न मुस्लिम समुदायमाथि जनताको क्रोधलाई निर्देशित गरिरहनेछन् । अहिले आवश्यक कुरा भनेको सबैका लागि नागरिक स्वतन्त्रताको दृढ प्रतिरक्षा गर्दै यस रुढिवादी प्रतिक्रान्तिको सशक्त प्रतिवाद गर्नु हो ।

अलजजिराबाट

(हाफेज जर्जटाउन विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता हुन् ।)
 

सुझावित समाचार