बंगलादेशमा महिला अधिकारको अधुरो यात्रा

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • बंगलादेशको प्रगतिलाई महिला र बालिकाले सुरक्षित रूपमा बाँच्न तथा शिक्षा र आयआर्जन गर्न पाएका छन् कि छैनन् भनेर मापन गरिनुपर्छ

बंगलादेशले बालिका शिक्षा तथा सार्वजनिक र आर्थिक जीवनमा महिलाको सहभागिताका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । महिलाहरू कलकारखाना, खेतबारी, विद्यालय, अस्पताल, व्यावसायिक क्षेत्र र सार्वजनिक संस्थामा काम गर्छन् । उनीहरूले परिवारलाई सहयोग पुर्याउँछन् र राष्ट्रिय विकासमा योगदान दिन्छन् । तर, प्रगति हुनु र समानता हुनु एउटै कुरा होइन । धेरै महिलाका लागि शिक्षा, काम, विवाह, सुरक्षा र सार्वजनिक जीवनसम्बन्धी निर्णय लिने क्षमता अझै पनि हिंसा, आर्थिक परनिर्भरता र असमान अपेक्षाका कारण सीमित छ ।

संविधानले एउटा स्पष्ट सुरुवाती आधार प्रदान गर्छ । धारा २७ र २८ ले कानुनको अगाडि समानताको प्रत्याभूति दिन्छन् र राज्य तथा सार्वजनिक जीवनका सबै क्षेत्रमा महिलालाई पुरुषसरह समान अधिकार हुने उल्लेख गर्छन् । चुनौती भनेको ती प्रत्याभूतिलाई घर, विद्यालय, कार्यस्थल, अनलाइन क्षेत्र र सार्वजनिक संस्थामा वास्तविक रूपमा कार्यान्वयन गर्नु हो ।

अक्टोबर २०२५ मा प्रकाशित ‘बंगलादेश तथ्यांक ब्युरो’ र ‘युएनएफपिए’को ‘महिलाविरुद्ध हिंसासम्बन्धी सर्वेक्षण २०२४’ अनुसार ७६ प्रतिशत महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको ‘अन्तरंग साथी’बाट हुने हिंसा भोगेका छन्, जबकि ४९ प्रतिशतले विगत १२ महिनाभित्र यस्तो हिंसा भोगेका छन् । सर्वेक्षणले यो पनि देखाएको छ कि हिंसाबाट पीडित धेरै महिला आफूले भोगेको हिंसाबारे खुलाउँदैनन् । यो तथ्यांक केवल संख्या मात्र होइन । यसले सुरक्षा, स्वास्थ्य, मर्यादा र समान सहभागिताको बाटोमा रहेका अवरोधलाई दर्साउँछ ।

पीडित व्यक्ति डर, सामाजिक लाञ्छना, आर्थिक परनिर्भरता, वैवाहिक सम्बन्ध जोगाइराख्ने दबाब, बालबालिकाप्रतिको चिन्तालगायत कारण चुपचाप बस्छन् । तसर्थ, हिंसाका घटनाबारे उजुरी दिन महिलाप्रति पूर्वाग्रह देखाउनुहुँदैन् । प्रहरी, स्वास्थ्य सेवा, कानुनी सहायता प्रदायक, स्थानीय सरकार र सामुदायिक संस्थाहरूले गोप्य, सहज, पहुँचयोग्य र पीडितकेन्द्रित सहयोग उपलब्ध गराउनुपर्छ । अनुसन्धान समयमै हुनुपर्छ, सुरक्षाका उपाय व्यावहारिक हुनुपर्छ, र जवाफदेहिता महिलाको आम्दानी वा सामाजिक प्रभावमा निर्भर हुनुहुँदैन ।

बालविवाह समानताको बाटोमा रहेको अर्को अवरोध हो । युनिसेफको ‘बंगलादेश मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०२५’ को प्रारम्भिक नतिजाअनुसार २० देखि २४ वर्ष उमेर समूहका ४७.२ प्रतिशत महिलाको पहिलो विवाह १८ वर्ष नपुग्दै भएको थियो । यस तथ्यांकको पछाडि ती किशोरी छन्, जसको शिक्षामा अवरोध आउन सक्छ र वयस्क हुनुअगावै स्वास्थ्य, रोजगारी तथा पारिवारिक जीवनसम्बन्धी उनीहरूको छनोटको दायरा साँघुरिन सक्छ ।

बालविवाह रोक्न विवाह तय भइसकेपछि गरिने कानुनी वा प्रशासनिक कारबाही मात्र पर्याप्त हुँदैन । परिवारहरूलाई सामाजिक सुरक्षा र आर्थिक सहयोगको आवश्यकता पर्छ ।  विद्यालयहरू सुरक्षित र पहुँचयोग्य हुनुपर्छ । अनि किशोरीहरूलाई गुणस्तरीय माध्यमिक शिक्षाका साथै आफूले भरोसा गर्न सक्ने वयस्कको साथ आवश्यक हुन्छ । समुदायका अगुवा र स्थानीय संस्थाले ‘बालविवाह गरिबी वा असुरक्षाको समाधान हो’ भन्ने धारणालाई चुनौती दिनुपर्छ । कुनै पनि किशोरीको भविष्यलाई परिवारको त्यस्तो ‘बोझ’का रूपमा हेरिनुहुँदैन, जसलाई विवाहका माध्यमबाट अरू कसैलाई हस्तान्तरण गर्न सकियोस् ।

महिलाको आर्थिक योगदान उल्लेख्य छ, तर अवसरको अवस्था भने असमान नै छ । विश्व बैंकको ‘जेन्डर डाटा पोर्टल’ले अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमानित तथ्यांकलाई  आधार मान्दै सन् २०२५ मा बंगलादेशमा श्रमशक्तिमा महिलाको सहभागिता ३८.६ प्रतिशत रहेको जनाएको छ, जबकि पुरुषहरूको हकमा यो दर ८०.४ प्रतिशत थियो ।  श्रमशक्तिसम्बन्धी यी तथ्यांकले पारिश्रमिक नपाइने हेरचाह र घरायसी कामको पूर्ण मूल्यलाई समेट्दैनन्, जसमध्ये धेरैजसो काम महिलाले नै गर्छन् ।

त्यो खाडल पुर्नका लागि सुरक्षित यातायात, किफायती बाल हेरचाह सुविधा, निष्पक्ष भर्ना तथा पदोन्नति, समान मूल्यको कामका लागि समान पारिश्रमिक, मातृत्व सुरक्षा, सीपमूलक तालिम र वित्तीय स्रोतमा पहुँच आवश्यक पर्छ । अनौपचारिक तथा घरमा काम गर्ने महिलालाई अझ बलियो सुरक्षाको आवश्यकता छ । उद्यमशीलतासम्बन्धी कार्यक्रम केवल उत्प्रेरणा दिने सन्देशमा मात्र सीमित हुनुहुँदैन ।

महिला अधिकार केवल महिलाको मात्र सरोकारको विषय होइन । भेदभावलाई चुनौती दिन पुरुष तथा बालबालिका, परिवार, शिक्षक–शिक्षिका, रोजगारदाता, पत्रकार, धार्मिक तथा सामुदायिक अगुवा र सार्वजनिक पदाधिकारी, सबैको भूमिका हुन्छ । समानताको सुरुवात सामान्य निर्णयबाट हुन्छ, जस्तै– छोरीलाई पढाइ जारी राख्न प्रोत्साहन गरिन्छ कि गरिँदैन, घरभित्रको हेरचाहसम्बन्धी काममा सहभागिता जनाइन्छ कि जनाइँदैन, दुर्व्यवहारलाई गम्भीरतापूर्वक लिइन्छ कि लिइँदैन, र महिलाको विचारको सम्मान गरिन्छ कि गरिँदैन ।

बंगलादेशलाई मापनयोग्य प्रतिबद्धताको आवश्यकता छ, बालविवाह न्यूनीकरण गर्ने, लैंगिक हिंसाको रोकथाम तथा प्रतिकार्यलाई सुदृढ पार्ने, न्याय र सहायता सेवामा पहुँच सुधार गर्ने, सुरक्षित तथा मर्यादित रोजगारीका अवसर विस्तार गर्ने र नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने । यसका लागि ग्रामीण भेगका महिला, अपांगता भएका महिला, न्यून आय भएका परिवारका महिला तथा विविध प्रकारका बहिष्करण वा वञ्चितीकरणको सामना गरिरहेका महिलामा विशेष ध्यान दिनुपर्छ ।

(हुसेन लेखिका तथा मानव अधिकारकर्मी हुन्)
ढाका ट्रिब्युनबाट

सुझावित समाचार