- मध्यावधि निर्वाचनमा विनाशकारी परिणामका बाबजुद ट्रम्पले रुस र युक्रेनबारे आफ्नो धारणा परिवर्तन गर्ने सम्भावना कमै छ
अमेरिकामा भर्खरै सम्पन्न मध्यावधि निर्वाचनले कंग्रेसको शक्ति सन्तुलन परिवर्तन गरिदिएको छ । यसका प्रभाव अमेरिकाभित्र र बाहिर दुवै भेगमा पर्न सक्छ । युक्रेनप्रति अमेरिकी नीति पनि यसैमध्ये एक हुनेछ । निर्वाचनमा युक्रेन मुद्दाले त्यति धेरै स्थान नपाएको भए पनि अमेरिकी राजनीतिमा ‘युक्रेन युद्ध’ अझै पनि महत्वपूर्ण मुद्दा रहेको छ । वास्तवमा, चुनावभन्दा केहीअघि ट्रम्प युक्रेनलाई दिइँदै आएको अमेरिकी समर्थन फिर्ता लिने वा घटाउने दिशामा सक्रिय थिए ।
त्यतिखेर ट्रम्पले आफ्नै पार्टीका केही सदस्यबाट समेत कडा विरोधको सामना गर्नुपरेको थियो । तर, ट्रम्प आलोचनाका बाबजुद रोकिएनन् । उनले युक्रेनलाई दिँदै आएको गुप्तचर सहयोग कटौती गर्नेदेखि रुसी तेलमाथिको वर्षौंदेखिको प्रतिबन्ध फुकुवा गरे । यसले अमेरिकी उपभोक्तालाई तेलको भाउ घटाउने र चुनाव प्रभाव हुने उनको विश्वास थियो । तर, ट्रम्पका कदमले रिपब्लिकनलाई मध्यावधिमा फाइदा पुर्याएन । तैपनि, धेरैजसो विश्लेषकले मध्यावधिको नतिजा ट्रम्पका लागि विनाशकारी भए पनि यसले उनको विदेश नीतिसम्बन्धी दृष्टिकोण (विशेषगरी युक्रेनप्रतिको नीति) मा खासै ठुलो प्रभाव नपार्ने बताएका छन् ।
वासिंटनस्थित ‘सेन्टर फर युरोपियन रिफर्म’का अनुसन्धानकर्ता तथा कंग्रेसका पूर्वसहयोगी जेम्स ग्रिनले हालै ‘ट्रम्प प्रशासनको विदेश नीतिलाई कारको गतिसँग तुलना गर्दै त्यसलाई कंग्रेसले गति कम गर्न सक्ने तर आगामी दुई वर्षको अवधिमा कंग्रेसले त्यसको समग्र बाटो बदल्नु निकै कठिन हुने बताए । यसको एउटा कारण अमेरिकामा विदेशनीति कसरी तय गरिन्छ भन्ने प्रक्रियासँग जोडिएको छ । कंग्रेसको पनि केही प्रभाव त हुन्छ नै, यसले सुनुवाइ गर्न सक्छ, कार्यकारी शाखाका अधिकारीलाई उपस्थित हुन आदेश दिन सक्छ, र मुख्यतः सरकारी बजेटमाथि नियन्त्रण राख्न सक्छ । तर, सेनाका ‘कमान्डर–इन–चिफ’ र राष्ट्रप्रमुखका रूपमा तथा विदेश नीतिसम्बन्धी विशाल कर्मचारीतन्त्रको साथ पाएका राष्ट्रपतिसँग विदेश नीतिसम्बन्धी महत्वपूर्ण अधिकार निहित हुन्छ ।
मध्यावधि निर्वाचनपछि डेमोक्य्राटहरूले युक्रेनी मुद्दालाई आफ्नो प्राथमिकताको केन्द्रबिन्दु बनाउने सम्भावना कमै देखिन्छ । उनीहरूसँग सम्बोधन गर्नुपर्ने अन्य अझ महत्वपूर्ण विषय हुनेछन्, जसमध्ये सबैभन्दा महत्वपूर्ण त सन् २०२८ मा राष्ट्रपति चुनाव जित्न सक्ने उम्मेदवार र कार्यक्रम कसरी तय गर्ने भन्ने नै हुनेछ । यद्यपि, धेरै डेमोक्य्राट र केही रिपब्लिकनले युक्रेन मुद्दामा लामो समयदेखि वकालत गर्दै आएका छन् ।
साथै, रुस र भ्लादिमिर पुटिनबारे आमअमेरिकीको धारणा कस्तो छ भन्ने कुरा पनि उनीहरूले बिर्सने सम्भावना छैन । ‘प्यू रिसर्च सेन्टर’को सन् २०२५ को तथ्यांकअनुसार ६७ प्रतिशत अमेरिकी पुटिनलाई विश्वास गर्न नसकिने सोच राख्छन् भने १० जनामध्ये ६ जनाले रुसलाई शत्रु ठान्छन् । उसो त डेमोक्य्राटहरू पनि देशलाई युरोपेली युद्धमा फसाइराख्न नचाहन सक्छन् । तर, भर्खरै भारी बहुमतसहितको जित हासिल गरेका उनीहरूले कमजोर बनेका ट्रम्पमाथि आक्रमण अझ तीव्र पार्दा राजनीतिक लाभ मिल्ने सोच राख्नेछन् ।
अब फेरि पनि भनिरहनुपर्दैन कि मध्यावधि निर्वाचनको नतिजाले डेमोक्य्राटका लागि विभिन्न अवसर सिर्जना गरेको छ भने ट्रम्पका लागि चुनौती खडा गरेको छ । तर, यसले पुटिनका लागि पनि एउटा सम्भावित अवसर प्रदान गरेको छ । रुसी राष्ट्रपतिले ट्रम्पको आन्तरिक राजनीतिक स्थितिको फाइदा उठाउँदै यस्तो कुनै सम्झौताको प्रस्ताव राख्न सक्छन्, जसले अमेरिकी राष्ट्रपतिलाई आफूले जित हासिल गरेको दाबी गर्ने मौका दिनेछ ।
नोभेम्बरको उत्तरार्द्धमा ‘एसिया–प्यासिफिक इकोनोमिक को–अपरेसन’ (एपेक) शिखर सम्मेलनका लागि विभिन्न राष्ट्रप्रमुख चीन जाँदा त्यही वेला एउटा शिखर वार्ता गर्ने विषयमा अमेरिका, चीन र रुसका अधिकारीबिच कुराकानी भइरहेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले आगामी दिनमा यो भेटवार्तालाई अन्तिम रूप दिने आशा राखेको बताएका छन् । ट्रम्प पनि यस्तो भेटवार्ताका लागि उत्तिकै इच्छुक देखिन्छन् । अक्टोबरमा पत्रकारसँग कुरा गर्दै उनले उक्त भेटमा युक्रेनबारे छलफल हुने बताए । ‘युद्ध अन्त्य गर्न म जे पनि गर्न सक्छु, म त्यसका लागि जोसँग पनि भेट्न तयार छु,’ ट्रम्पले भनेका थिए ।
सुन्दा तर्कपूर्ण लाग्छ । युक्रेनको भाग्यको निर्णय ऊविना भएको वार्ताबाट निर्णय गर्ने प्रयास गर्ने र दुई अधिनायकवादी मुलुकसँग मिलेर कुनै सम्झौता गर्ने कुरालाई पक्कै पनि अमेरिकी कंग्रेसमा बलियो बनेको डेमोक्य्राटिक पार्टीले चुपचाप स्विकार्नेछैन । ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’का अनुसार रुसले ‘जेट–इन्जिनजडित ड्रोनको विकास गरेकै समयमा युक्रेनसँग ब्यालेस्टिक मिसाइल रोक्न सक्ने ‘प्याट्रियट’ मिसाइलहरूको अभाव हुँदा युक्रेनी आकाशमा अस्थायी फाइदा हासिल गरेको’ अवस्था छ । तर, उक्त संस्थाले औँल्याएझैँ जबसम्म पश्चिमा सैन्य सहायता पूर्ण रूपमा बन्द हुँदैन, तबसम्म रुसको जित निश्चित भएको मान्न सकिँदैन ।
उता ट्रम्पले भने रुस र युक्रेनबारे आफ्नो धारणा परिवर्तन गर्ने सम्भावना कमै छ । उनको दृष्टिकोणमा रुस सम्भावित साझेदारका रूपमा रहिरहनेछ । जबकि, युक्रेनको भने अमेरिकाबाट सहयोग लिने तर ‘दुःखबाहेक अरू केही पनि नदिने’ मुलुकको छवि छ । तर, अहिले कंग्रेसमा डेमोक्य्राटहरूको नियन्त्रण कायम भएको समयमा रुस र युक्रेनका सन्दर्भमा आफ्नै मात्र एजेन्डा अघि बढाउनु ट्रम्पका लागि चुनौतीपूर्ण हुने देखिन्छ ।
(कक्स ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’का अन्तर्राष्ट्रिय सम्बन्धका अवकाश प्राप्त प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट