सरसफाइमा नागरिकको दायित्व

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • फोहोर उत्पादन घटाउने र पुनः प्रयोग गर्ने कार्यमा प्रत्येक नागरिकको सकारात्मक ऊर्जा र सत्प्रयासविना सफा देशको परिकल्पना पूरा हुन सक्दैन

सफाइ व्यक्ति, परिवार, कार्यालय, संघसंस्था र समाजका साथै राष्ट्रको परिचयको द्योतक हो । शरीरमा सकारात्मक ऊर्जा प्रवाह हुन अष्ठाङ्ग योगको महत्वपूर्ण अंग नियमको पाँचवटा पक्ष शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्राणीधानमध्ये शौचले शारीरिक, मानसिक र आद्यात्मिक स्वास्थ्यका पक्षलाई अंगालेको छ । नुवाइ, धुवाइलाई बाह्य सफाइ तथा बोली, व्यवहार र सकारात्मक सोचलाई मानसिक सफाइका रूपमा लिइन्छ । प्रत्येक व्यक्ति आफू स्वयं, आफ्नो घर, वरिपरिको वातावरण तथा कार्यस्थलको सरसफाइमा कति सचेत र जागरुक छ ? प्रश्न यहीँबाट सुरु हुन्छ । सरसफाइप्रति हाम्रो आचरण र व्यवहार कस्तो छ ? केही अभ्यास हेरौँ न । विदेशमा रहँदा नेपालीले चकलेटको खोल आफ्नो गोजीमा राख्छन्, तर तिनै नेपाली नेपालमा रहँदा निसंकोच चकलेट या अन्य कुनै वस्तुको खोल बाटोमा फाल्न कुनै असजिलो मान्दैनन् भन्ने भनाइ आम रूपमा स्थापित भएको छ । आखिर किन यस्तो हुन्छ त ? के हामीले सरसफाइलाई संस्कृतिका रूपमा आत्मसात् गरेका छैनौँ ? वा हाम्रा नीति, नियम प्रभावकारी छैनन् वा प्रभावकारी ढंगले कार्यान्वयन भएका छैनन् ? यी सबै विषयलाई आत्मसात् गरी सरकारले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३ जारी गरी दुई चरणको सरसफाइ सप्ताह अभियानका रूपमा मुलुकभर सञ्चालन गर्यो । हुन त विगतमा पनि खुला दिसामुक्त अभियान, वास कार्यक्रम, वातावरणमैत्री स्थानीय शासनको प्रारूप, २०७८ तयार गरी व्यापक रूपमा कार्यान्वयन नगरिएको पनि होइन । तर, यी सबै अभियान सञ्चालन हुँदाहुँदै पनि सरसफाइप्रति हामी स्वयंमा किन संवदेनशील भएनौँ ? एकपटक आफूले आफैँलाई हेरौँ त ।

राजमार्गमा यात्रा गर्दा सडक किनारामा प्लास्टिकका बोतल यत्रतत्र फालिएका पाइन्छन् । सहरका ढल प्लास्टिकै प्लास्टिकले भरिएका छन् । बागमती नदीबाट प्रत्येक साता टनका टन फोहर निकाल्नुपरेको छ । स्कुलका बसदेखि सरकारी र निजी गाडीका झ्यालबाट फोहोर फालिएकै छ । काठमाडौंको चक्रपथलगायत सडकका प्रत्येक बसस्टपमा पुकार, गुट्कालगायत वस्तुका प्लास्टिकका खोल यत्रतत्र फालिएका पाइन्छन् । आफ्नो घरअगाडि र आसपासको सरसफाइका लागि पनि हामी नगरपालिका आउँछ भनी मुख ताकेर बसेका छौँ । आफ्नो घरमा पालेका कुकुरलाई सार्वजनिक स्थल, पार्क तथा खुला चौरमा निसंकोच दिसा गराएकै छौँ । आखिर किन यस्तो भइरहेको छ ? के यो हामी नेपालीलाई सुहाउने विषय हो ?

सरसफाइ सप्ताहको सन्देश : वर्तमान सरकारले कार्यालयमा स्वच्छ र सुरक्षित कार्यवातावरण कायम गर्न नियमित सरसफाइ, फोहोर व्यवस्थापन, स्वस्थ र सुरक्षाका व्यावहारिक मापदण्डसहित तयार गरिएको मागदर्शनमा कम लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड तयार गर्न सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक संस्था, प्रदेश र स्थानीय तहलाई आह्वान गरेको छ । सरसफाइलाई सेवाप्रवाहको अभिन्न अंगका रूपमा आत्मसात् गरी सेवाग्राही र कर्मचारीको आचरणमै यसलाई आबद्ध (इनविल्ट) गर्न खोजिएको छ । यसो हुन सकेमा सरकारी निकाय, शैक्षिक संस्था, सामुदायिक संस्था तथा निजी क्षेत्रका सेवाप्रदायक सरसफाइमा नमुना निकायका रूपमा स्थापित हुनेछन् । यसका लागि स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न कार्यालय, अस्पताल, विद्यालयका शौचालय, क्यान्टिन, आसपासको क्षेत्रलगायत सार्वजनिक स्थल मात्र होइन, प्रत्येक घरका भान्साको सरसफाइका व्यावहारिक मानक निर्माण गरी कार्यान्वयन गर्नुपर्ने विषयमा मार्गदर्शनले दिशानिर्देश गरेको छ ।

विश्व सफाइ दिवस : विश्वमा एकातर्फ प्रत्येक दिन करोडौँ मेट्रिक टन खाना फोहोरका रूपमा फालिन्छ भने अर्कातर्फ अफ्रिकालगायत पश्चिम एसियाका कतिपय देशमा करोडौँ व्यक्ति भोकमरीको चपेटामा परेको तथ्यले देखाउँछ । हामीले खाना फालिरहेका छौँ, तर विश्वको अर्को कुनामा त्यही खानाको खोजीमा अर्को मानिस छट्पटाइरहेको छ । यसले हाम्रो मानवीय धर्मलाई उदांगो पारेको छ । यसरी फालिएको खाना तथा फोहोरबाट वातावरण तथा स्वास्थ्यमा परेको प्रतिकूल प्रभाव र यसले सिर्जना गरेको आर्थिक लागतलाई कम गर्नेलगायत जनचेतनामूलक कार्यक्रमसहित प्रत्येक वर्ष सेप्टेम्बर २० मा विश्व सफाइ दिवस मनाउने गरिएको छ ।

सन् २०२६ को नारा ‘फ्रम क्लिन प्लेटस् टु क्लिन सिटी’ रहेको छ । संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रमले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्येक दिन १.०५ बिलियन मेट्रिक टन खाना फोहोरका रूपमा फ्याँकिन्छ भने ६७३ मिलियन व्यक्ति अति उच्च भोकमरीको अवस्थाबाट गुज्रिरहेका छन् । खाना तथा फोहोरबाट प्रत्येक वर्ष एक ट्रिलियन अमेरिकी डलर आर्थिक लागत सिर्जना भएको पाइन्छ । युएन ह्याबिटेटका अनुसार प्रत्येक दिन यसरी फ्याँकिने फोहोरबाट हरितगृह ग्यास उत्सर्जनमा आठदेखि १० प्रतिशत नकारात्मक प्रभाव परेको छ । यसैले, खाना तथा फोहोर डस्टबिनमा फ्याँक्नुभन्दा फोहोर कम उत्पादन गर्नु अति आवश्यक छ, किनकि अव्यवस्थित फोहोरले वातारणीय स्वच्छता, स्वास्थ्य र आर्थिक भारमा नकारात्मक प्रभाव पार्छ ।

व्यक्तिगत तहदेखि राज्यतहसम्मको भूमिका : मानव सभ्यताको विकाससँगै मानिसमा सरसफाइप्रति सचेतना क्रमशः बढ्दै गएको पाइन्छ । सिंगापुर, जापान, कतार, युएई, युरोप, अमेरिका भन्नासाथ हाम्रो मानसपटलमा सफाइको चित्र आई नै हाल्छ । विकसित र सम्पन्न हुनु भनेको सफा हुनु पनि हो भन्ने भाष्य निर्माण भएको छ । ती देश सफाइको उच्चतम स्तरमा पुग्नुमा नागरिकको व्यक्तिगत आनिबानी, आचरणका साथै राज्यले अवलम्बन गरेको नीति र फोहोरमैला व्यवस्थापनमा गरेको लगानी मुख्य कारण बनेको देखिन्छ ।

व्यक्तिगत तह : सफा वस्तु या वातावरण हामी सबैलाई मन पर्छ । तर, आफूले प्रयोग गर्ने लुगाफाटो, ओछ्यान, कोठा, सवारी साधन, कार्यकक्ष, कार्यालय तथा घरभित्र र बाहिरका साथै वरिपरिको वातावरणलाई सफा र चिटिक्क राख्न हामी कति संवेदनशील छौँ ? अथवा, मलाई सफा वस्तु र वातावरण मनपर्छ, तर सरसफाइ भने अरूले गरिदिनुपर्छ भन्ने अस्वस्थ सोचबाट ग्रसित छौँ ? यस्तो सोचले हाम्रो आचरण, व्यवहार र भूमिकालाई प्रदर्शित गर्छ । यसैले, दैनिक शौचादि कर्मदेखि सेवा प्रवाहका विविध पक्षसँग जोडिएको सरसफाइलाई व्यक्तिले उच्च महत्व दिनु आवश्यक छ ।

समुदाय तह : समुदायका सदस्यले सामूहिक रूपमा प्रयोग गर्ने पाटीपौवा, मठमन्दिर, पार्क, बाटोघाटो, खानेपानीका मुहान, ढल, सामुदायिक भवन, वाचनालय आदिको सामूहिक रूपमा साप्ताहिक वा पाक्षिक रूपमा सफा गर्ने व्यवस्था मिलाउनुपर्छ । समुदायस्तरमा सरसफाइको विषयलाई संस्थागत गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । समुदायस्तरबाट सञ्चालित हुने शुभकामना आदानप्रदान, रक्तदान, वृक्षरोपणलगायत कार्यबाट उत्सर्जन हुने फोहोर सामूहिक रूपमै व्यवस्थापन गर्नेलगायत कार्यमा युवा क्लब, महिला समूह, सहकारी, धार्मिक संघसंस्था आदि स्वयं क्रियाशील हुनुपर्छ । यसैगरी, आफूले सरसफाइप्रति देखाएको क्रियाशीलताले समुदायमा बस्ने अर्को व्यक्तिलाई प्रेरित गर्ने काम पनि हामीले गर्नुपर्छ ।

राज्य तह : जुनसुकै मुलुकका सरकारका लागि फोहोर व्यवस्थापन उच्च प्राथमिकताको विषय हो । नेपालको संघीय संरचनामा संघ, प्रदेश र स्थानीय तहले फोहोर व्यवस्थापन चक्रका क्रियाकलाप एकल र सामूहिक प्रयत्नबाट गर्नुपर्छ, किनकि फोहोरको दिगो व्यवस्थापन एउटा मात्र तहको एकल प्रयासबाट सम्भव छैन । नेपालको संविधानमा आधारभूत तहको सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ भने दुई वा दुईभन्दा बढी स्थानीय तह जोडिएका विषयमा प्रदेश तथा राष्ट्रिय नीति, कानुन र मापदण्ड निर्माणमा संघीय सरकारको जिम्मेवारी रहेको छ ।

नेपालको संविधानबमोजिम नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक तथा खानेपानी र सरसफाइसम्बन्धी मौलिक हक सुनिश्चित गराउन तथा तीनवटै तहका सरकारको कार्य जिम्मेवारी र भूमिकासहित फोहोरमैलासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता पनि भएको छ । यसरी व्यक्तिगतदेखि व्यावसायिक तहबाट हुने फोहोरमैलाको उत्सर्जन, संकलन, विसर्जन र व्यवस्थापनलाई व्यवस्थित गर्न जसले फोहोर गर्छ, उसले त्यसको मूल्य तिर्नुपर्छ ‘पोलुटर्स पे’ भन्ने सिद्धान्तलाई आत्मसात् गरी निर्माण गरिएका नीति, कानुन र मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि पनि तहगत सरकारको साझा जिम्मेवारीका रूपमा लिनुपर्छ ।

अन्त्यमा हिन्दु, बौद्ध, मुस्लिम, जैन आदि विभिन्न सम्प्रदायमा शारीरिक सरसफाइका साथसाथै मानसिक, आत्मिक र वातावरणीय शुद्धीकरणलाई महत्व दिई सोहीबमोजिमको आचार, विचार, आहार र व्यवहार गर्नु मानव मात्रको धर्म हो भनिएको छ । सोहीबमोजिम दसैँ, तिहार, छठ, बुद्ध पूर्णिमा, रमजान, उँधौली, उँभौलीलगायत पर्वको सुरुवात नै सरसफाइबाट हुन्छ भने समापन पनि व्यवस्थित सफाइबाट नै हुन्छ । विद्यार्थी, शिक्षक, नेता, कर्मचारी, व्यापारी, उद्योगी, गृहिणी जे भए पनि हाम्रो साझा पहिचान ‘म’ नेपाली हो । यसैले, आजैबाट फोहोर उत्पादन कम गर्ने, पुनः प्रयोग गर्नेलगायत कार्यमा आफ्नो भूमिका निभाउने प्रणसहित प्रत्येक नागरिकको सकारात्मक ऊर्जा र सत्प्रयास आवश्यक छ । 

(लेखक नेपाल सरकारका सहसचिव हुन्)

सुझावित समाचार