एआईले घटाउँदै छ रोजगारीको संख्या

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • बैंकिङ र धितोपत्रसम्बन्धी विश्वव्यापी लगानी गर्ने कम्पनी गोल्डम्यान स्याक्सको एक रिपोर्टले एआईले प्रविधि र रोबोटिक्स क्षेत्रमा ३० करोड पूर्णकालिक रोजगारी खोस्न सक्ने अनुमान गरेको छ ।

जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा भएको प्रगतिको तीव्र गतिले अर्थव्यवस्था, व्यवसाय र समाजलाई कसरी प्रभाव पार्छ भनी पूर्वानुमान गर्न निकै कठिन बनाएको छ । तर, एउटा कुरा स्पष्ट देखिन्छ कि एआईका नयाँ अनुप्रयोगले थोरैलाई अथाह लाभ पुर्याउनेछ, रोजगारीको संख्या घटाउनेछ र सरकारसामु ठुला नीतिगत चुनौती खडा गर्नेछ ।

अब आर्थिक वृद्धिका तीन प्रमुख घटक पुँजी, श्रम र उत्पादकत्वलाई एआईले कसरी प्रभाव पार्छ, त्यो हेरौँ । पुँजीको सन्दर्भमा एआई इनोभेसनका लागि विशाल लगानी आवश्यक पर्ने हुँदा यसबाट लाभान्वित हुने पनि त्यो परिमाणमा लगानी जुटाउन सक्ने तिनै थोरै फर्महरू नै हुनेछन् । अर्थात्, त्यो संख्या निकै साँघुरो र अधिक केन्द्रित हुनेछ । आ–आफ्ना बजारमा एकाधिकार जमाएका ठुला प्रविधि कम्पनी मात्र लार्ज ल्यांगवेज मोडेल (एलएलएम)हरूको विकास र प्रशिक्षणसँग सम्बन्धित विशाल लागत वहन गर्न समर्थ हुनेछन् ।

यस्तो लागतमध्ये पनि ठुलो लागत उन्नत ग्राफिक्स प्रोसेसिङ युनिट (जिपियू)को सञ्चालन र विशाल डेटा सेन्टरको पावरिङ र कुलिङमा जानेछ । मल्टिभर्सका प्रमुख प्रविधिसम्बन्धी अधिकृत साम मुगेलका अनुसार एलएलएमको अर्को पुस्तालाई तालिम दिन कम्तीमा एक अर्ब डलर खर्च हुनेछ । सन् २०२३ मा मात्र संयुक्त राज्य अमेरिकाका शीर्ष सात प्रविधि कम्पनी (म्याग्निफिसेन्ट सेभेन)ले अनुसन्धान र विकास (आरएन्डडी)का लागि संयुक्त रूपमा ३७० अर्ब अमेरिकी डलर छुट्याएका थिए । यो भनेको लगभग युरोपियन युनियनको अनुसन्धान र विकासको समग्र बजेट (व्यवसाय र सार्वजनिक क्षेत्र दुवैको गणना गर्दा) बराबर हो ।

एआईसँग सम्बन्धित लाभ र हानि अर्थव्यवस्थामा कसरी वितरण हुनेछन्, वा यसमा को विजेता हुनेछन् र कसले क्षति व्यहोर्नुपर्नेछ भनी अहिले नै अनुमान गर्नु धेरै हतार हुनेछ । गोल्डम्यान स्याक्सको एक रिपोर्टले एआईले अटोमेसन क्षेत्रमा ३० करोड पूर्णकालिक रोजगारी खोस्न सक्ने अनुमान गरेको छ । तर, वर्ल्ड इकोनोमिक फोरमले ८०३ कम्पनीमा गरेको सर्वेक्षणले भने एआईले हरित संक्रमण (ग्रिन ट्रान्जिसन) र जलवायु परिवर्तन अनुकूलनमा योगदानबाट सिर्जना हुने रोजगारीको मध्यनजर निकै कम मात्र खुद घाटा हुने औँल्याएको छ । धेरैलाई एआईले दीर्घकालीन संरचनात्मक बेरोजगारीमा योगदान पुर्याउँदै बेरोजगार दर (दक्ष र अदक्ष कामदार दुवैमा) सिर्जना गर्ने डर छ । माथिका अनुमानले के हुन सक्छ भन्ने कुराको आधार रेखा प्रदान गरे पनि यो विषयमा हाम्रो सोचलाई परिष्करणको पर्याप्त सम्भावना छ । हामी चिप म्यानुफ्याक्चर, एआई पूर्वाधार र एआई अनुप्रयोगबाट स्वास्थ्य सेवा, शिक्षा र दूरसञ्चारजस्ता क्षेत्रमा सर्दै गर्दा रोजगारीमा यसको प्रभाव व्यापक रूपमा भिन्न हुन सक्छ ।

यी क्षेत्र एआई नवप्रवर्तनबाट लाभ उठाउन तम्तयार छन् । टेक्नोलोजीको आधारमा, चिप म्यानुफ्याक्चर (जस्तै एनभिडिया)हरूले फ्याब्रिकेसन (चिप उत्पादन गर्ने कारखाना) सुविधाहरू निर्माण र एआई क्रान्तिलाई ड्राइभ गर्ने गरी उत्पादन क्षमतामा लगानी गर्ने क्रममा पहिले नै विशाल वृद्धि र रोजगारी सिर्जना गरिसकेका छन् । नयाँ प्रविधिको प्रयोग कसरी हुनेछ वा यसले कस्तो प्रभाव पार्न सक्छ भनेर कसैले पनि भविष्यवाणी गर्न नसक्ने भएकाले यसबाट अन्यत्र कति रोजगारी सिर्जना हुने वा गुम्ने भन्ने कुरा स्पष्ट छैन । दीर्घकालीन दक्षता र उत्पादकत्व वृद्धिमा एआईको प्रभावका प्रारम्भिक संकेत उत्साहजनक छन् ।

उदाहरणका लागि, एरिक ब्रायनजोल्फसन, डेनियल ली र लिन्डसे आर रेमन्डले सन् २०२३ मा पाँच हजार कामदारमा गरेको एक अध्ययनले एआई उपकरणले कामदारको उत्पादकत्व औसतमा १४ प्रतिशत र नयाँ र अदक्ष कामदारमा ३४ प्रतिशतले वृद्धि गरेको पाएको थियो । धेरै पहिलेदेखि नै प्रविधिगत प्रगतिमा व्यापार र दूरसञ्चारमा विश्वव्यापी कनेक्टिभिटी बढाउने, स्वास्थ्य सेवा र शिक्षाजस्ता सार्वजनिक वस्तुमा पहुँच विस्तार गर्ने, नवप्रवर्तनलाई गति दिने, जीवनस्तर सुधार गर्ने र अन्ततोगत्वा व्यापक आर्थिक वृद्धिलाई सशक्त बनाउने इतिहास रहिआएको छ । एआईले पनि यसो गर्दैन भनेर सोच्नुपर्ने कुनै कारण छैन ।

यसबाहेक, एआई पूर्ववर्ती प्रविधिभन्दा छिटो व्यापक अर्थव्यवस्थामा फैलन सक्छ । जसको अर्थ एआईसँग सम्बन्धित उत्पादकता र दक्षताको लाभ छिटै प्राप्त हुन सक्छ भन्ने नै हो । पहिलेका सामान्य प्रयोजनका प्रविधि (जस्तै वाष्प इन्जिन, विद्युतीकरण र पर्सनल कम्प्युटर)का लागि आधारभूत पूर्वाधार निर्माण गर्न विशाल खर्चको आवश्यकता पर्थ्यो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सुपर साइकलले उत्पादकत्व वृद्धि र मजबुत आर्थिक वृद्धिलाई सन् २०३० सम्ममा विश्वव्यापी रूपमा १६ ट्रिलियन अमेरिकी डलर पुर्याउने पिडब्लुसीको आकलन छ । तर, यी लाभ मुख्यतया पुँजीका मालिकलाई नै प्राप्त हुनेछ । संकुचनको सम्भावना रहेको श्रमशक्तिलाई खासै लाभ प्राप्त हुनेछैन ।

कम श्रमप्रधान आर्थिक वृद्धिको आजको युगमा धेरैजसो कम्पनी र उद्योगले आफ्ना व्यवसायका मोडललाई अनुकूलन गर्नेछन्, अर्थात् रोजगारीमा पुँजीको अनुपात बढाउनेछन्, जसका कारण सरकारले पनि कर र कल्याणकारी नीतिको पुनः मूल्यांकन गर्न आवश्यक छ । यदि अधिक आर्थिक लाभ पुँजीका मालिकमा प्रवाह भइरहेको छ भने करहरू तदनुसार परिवर्तन गर्न आवश्यक हुन्छ । उदाहरणका लागि स्वचालन र थोरैभन्दा थोरै कार्यबलद्वारा सिर्जित अतिरिक्त मुनाफामा हिस्सा लिन सरकारलाई कर्पोरेट करका उच्चदर आवश्यक हुन सक्छ । 

– प्रोजेक्ट सिन्डिकेटबाट

(मोयो लेखक तथा अर्थविज्ञ हुन्)

सुझावित समाचार