- इन्धन ढुवानीमा हप्तौँ लाग्ने र सम्झौतामा उल्लेख गरिएको परिमाण उलेख्य नभएकाले ट्रम्पले भनेजस्तो डिजेलको मूल्य घट्न कठिन छ
गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच रुसी डिजेल अमेरिकामा हुने आयातमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने एक सम्झौता भयो । सम्झौताले अमेरिकामा डिजेलको भाउ घट्ने ट्रम्पले दाबी गरेका छन् ।
शुक्रबार ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले रुससँग भएको डिजेल सम्झौताबारे सार्वजनिक गरेका थिए । पोस्टमा ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति निकै आक्रोशित देखिए । उनले इरान युद्धपछि बढेको इन्धनको मूल्य घटाउन रुसी समकक्षीसँग लाखौँ टन डिजेल आपूर्ति गर्ने सम्झौता गर्न आवश्यक परेको भन्दै सम्झौताको औचित्य पुष्टि गर्ने प्रयास गरे ।
ट्रम्पद्वारा घोषित सम्झौता प्याकेजमा ‘अमेरिकी तथा विश्व बजार’का लागि रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने, त्यसपछि नोभेम्बरमा पाँच लाख टन र त्यसपछि थप १० लाख टन डिजेल उपलब्ध गराउने उल्लेख छ । तर, यो निकै सानो परिमाण भएको ऊर्जा सूचना संकलन संस्था ‘युएस इनर्जी इन्फर्मेसन एड्मिनिस्ट्रेसन’ले बतायो । उसका अनुसार तीन लाख टन भनेको अमेरिकामा एक दिनमा खपत हुने डिजेलको करिब तीनचौथाइ भाग मात्र हो ।
‘अमेरिकी र अझ विश्वले डिजेलको मूल्य कीर्तिमानी दरमा तीव्र गिरावट देख्नेछ ! अमेरिकीहरू, विशेषगरी हाम्रा महान् किसान, पशुपालक र ट्रक चालकका लागि मूल्य घटाउनु मेरो उच्च प्राथमिकता हो,’ ट्रम्पले ट्रुथ सोसलको पोस्टमा भनेका छन् । तथापि, ट्रम्पको यो दाबी आधारहीन भएको ऊर्जा तथा विदेश मामिलाका विश्लेषकको ठम्याइ छ । सम्झौतामा उल्लेख डिजेलको परिमाण र आपूर्ति अमेरिका आइपुग्न लाग्ने समयलाई हेर्दा यस सम्झौताले डिजेलको उच्च मूल्यमा असर पार्न नसक्ने बताइन्छ ।
डिजेलको उच्च मूल्यका कारण अर्को महिना (नोभेम्बर ३ मा) हुने मध्यावधि निर्वाचनअघि रिपब्लिकन पार्टीको प्रदर्शनमा असर पर्न सक्ने पर्यवेक्षकको प्रक्षेपण छ । ‘अमेरिकन अटोमोबाइल एसोसिएसन’का अनुसार इरानसँगको युद्ध सुरु भएयता अमेरिकी बजारमा डिजेलको मूल्य करिब ७० प्रतिशतले बढेर प्रतिग्यालन ६.३० डलर पुगिसकेको छ । त्यस्तै बेलायतमा अक्टोबरको सुरुतिर डिजेलको औसत मूल्य प्रतिलिटर दुई पाउन्डको कीर्तिमानी स्तरमा पुगेको थियो ।
‘खासमा यस सम्झौताले डिजेलको मूल्यमा कुनै असर गर्दैन । अमेरिका पठाउन लागिएको पहिलो खेपको परिमाण निकै सानो छ,’ इन्भेस्टमेन्ट बैंक ‘पानम्योर लिबेरम’ ऊर्जा विश्लेषक एसली केल्टीले भने, ‘त्यसबाहेक यसमा समय पनि लाग्नेछ । किनकि, तेल ढुवानीका लागि पहिले जहाजहरू भाडामा लिनुपर्छ । तिनमा इन्धन भर्नुपर्छ र अमेरिकातर्फ ढुवानी गर्नुपर्छ । यसमा कम्तीमा तीन साता लाग्नेछ । अर्थात्, अक्टोबरको अन्त्यतिर वा मध्यावधि निर्वाचनभन्दा करिब एक साताअघि मात्र तेल आइपुग्न सक्छ ।’
केल्टीका अनुसार रुसी डिजेल अमेरिका ढुवानी गरिँदा विश्वव्यापी आपूर्ति शृंखलामा जटिलता आउने पनि बताए । विशेषतः रुसी तेल आपूर्ति गर्ने बहुराष्ट्रिय कम्पनीले आफ्ना कुन जहाजको आपूर्ति रुसबाट आएको हो भनेर विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि, युरोपलगायत अन्य क्षेत्रमा अझै रुसी तेलमाथि प्रतिबन्ध जारी छ । सम्झौतापछि अमेरिकी वित्त मन्त्रालयले रुसी उत्पादनमा लागेका अन्य प्रतिबन्ध यथावत् राख्दै आगामी वर्ष ७ अप्रिलसम्म रुसी डिजेल निर्यातमा कायम प्रतिबन्ध मात्र फुकुवा गरेको छ ।
उता ट्रम्पले रुससँग गरेको डिजेल सम्झौताप्रति असन्तुष्ट युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसलाई ‘कमजोर निर्णय’को संज्ञा दिए । यसबाट हुने आयका कारण रुसलाई युक्रेनमाथि आक्रमण जारी राख्न प्रोत्साहन दिने उनले दाबी गरे । तर, ट्रम्पले भने इन्धनको मूल्यवृद्धिका लागि रुसी ऊर्जा पूर्वाधारमा किएभले गरिरहेको आक्रमणलाई दोष दिएका छन् । ट्रम्पले त युक्रेनी जनताले ‘नयाँ नेता (राष्ट्रपति)’ चुन्न आवश्यक रहेकोसमेत बताए । आइतबार जेलेन्स्कीले यदि रुसले युक्रेनी ऊर्जा पूर्वाधारमाथि गरिरहेको आक्रमण रोक्यो भने आफू रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण बन्द गर्न तयार रहेको बताए । पछि ट्रम्पले ‘ट्रुथ सोसल’मा एक पोस्ट गरे– ‘तत्काल लागू हुने गरी, रुस र युक्रेनबिचको युद्धमा ‘ऊर्जा युद्धविराम’ कायम गरिएको छ । दुवै पक्ष यसमा सहमत भएका छन् । यसलाई नतोड्नुहोस् !’
राजनीतिक जोखिमसम्बन्धी परामर्शदाता संस्था ‘एनमेटेना एड्भाइजरी’का संस्थापक तथा ‘फरेन पोलिसी रिसर्च इन्स्टिच्युट’का फेलो म्याक्सिमिलियन हेसले अमेरिकाले रुससँग गरेको डिजेल सम्झौताका सम्पूर्ण सर्त पूरा हुने सम्भावना निकै कम रहेको बताए । मुख्य कारण रुसी तेल प्रशोधन केन्द्रमा भएका युक्रेनी ड्रोन आक्रमणका कारण त्यहाँ डिजेल उत्पादन घट्नु हो । त्यसैले, यसबाट अमेरिकाको आन्तरिक वा अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै खास प्रभाव पर्ने सम्भावना छैन । ‘पुटिन त यो सम्झौता असफल भए नै खुसी हुनेछन् । त्यसो भए उनले सबै दोष युक्रेनमाथि थोपरेर ट्रम्प तथा जेलेन्स्कीबिच तनाव बढाउन सक्छन् । वास्तवमा, यो योजनाले काम गर्न पनि थालिसकेको छ,’ हेसले भने ।
(गुड्ली वित्त पत्रकार हुन्)
गार्जियनबाट