ओ पजिटिभ रगतको अभावमा जिल्ला अस्पतालमा मृत्युसँग जुध्दै गरेकी दुर्गाथली गाउँपालिका– ६ की २७ वर्षीया कमला जाग्रीले नयाँ जीवन पाएकी छिन् । उनलाई जिल्ला स्वास्थ्य कार्यालय बझाङका तीनजना कर्मचारीले रगत दिएर बचाएका हुन् । हाल उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
धेरै ठाउँमा खोजी गर्दा पनि ओ पजिटिभ रगत नपाएपछि जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन महेन्द्र खड्का, मेडिकल ल्याब टेक्नोलोजिस्ट नरेश खड्का र अनमि सुनिता ओलीले जाग्रीलाई रगत दिएपछि उनको ज्यान जोगिएको बिरामीकी सासू रुमला जाग्रीले बताइन् ।
‘तीन महिनाको गर्भ खेर गई अत्यधिक रक्तस्राव भएपछि मंगलबार कमला जिल्ला अस्पताल आएकी थिइन्,’ उनले भनिन्, ‘रगत नपाएर ज्यान जाने अवस्थामा पुगेकी बुहारीलाई जिल्ला अस्पतालमा कार्यरत कर्मचारीले नै रगत दिई ज्यान जोगाएर ठूलो गुन लगाएका छन् ।’ ओ पजिटिभ रगत पाएपछि बिरामीको अवस्था खतरामुक्त भएको जिल्ला अस्पताल बझाङकी स्टाफ नर्स साधना खड्काले बताइन् ।