पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घन्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।
हरेक दिन बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक ६ घन्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।
पहाड कटान गरी माटो र ढुंगा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताए । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो ।