प्रदेश २ अधिवेशनमा कांग्रेसको शक्तिसंघर्ष : महाधिवेशनपछि बन्यो देउवाविरुद्ध कोइराला–निधि समीकरण

बुधबार, ७ पुष, २०७८
डिजिटल संस्करण

केन्द्रीय सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवासँग सहकार्य गरेका विमलेन्द्र निधिले प्रदेश २ को अधिवेशनमा भने डा. शेखर कोइराला समूहसँग समीकरण बनाएका छन् । बुधबार हुने प्रदेश अधिवेशनमा कोइराला समूहले निधिनिकट नेता रामसरोज यादवलाई सभापतिमा सघाउने गरी समीकरण तय भएको छ । 

कांग्रेसको १४औँ महाधिवेशनपछि प्रदेश २ मा हुन लागेको प्रदेश अधिवेशनमा नयाँ समीकरण बनेको छ । प्रदेश २ को अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेता शेखर कोइराला र विमलेन्द्र निधिले समीकरण बनाएका हुन् । महाधिवेशनमा सुरुमा सभापतिमा प्रतिस्पर्धा गरेको निधिले दोस्रो चरणमा देउवालाई सहयोग गरेका थिए । 

पार्टीको महाधिवेशनअगावै अन्य सबै प्रदेशका अधिवेशन सम्पन्न भए पनि प्रदेश २ मा आन्तरिक विवादका कारण बाँकी नै थियो । राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा अगाडि नै अधिवेशन सकाउनुपर्ने भएकाले कांग्रेसले प्रदेश २ मा अधिवेशन गर्न लागेको हो । प्रदेश २ नेतृत्वका लागि कोइराला–निधी समुहले रामसरोज यादवलाई अगाडि सारेरको छ । यादब निधी निकट नेता हुन् । महाधिवेशनमा सभापतिको मतपरिणाम सार्वजनिक भएलगत्तै कोइराला समूहका नेताहरू चन्द्र भण्डारी नवनिर्वाचित महामन्त्री गगन थापा निधीसँग प्रदेश २ को समिकरणबारे छलफल गर्न उनकै निवास पुगेका थिए । स्रोतका अनुसार प्रदेश २ मा नयाँसमिकरण बनाउनेबारे कोइराला र निधीबीच पहिले टेलिफोन संबाद भएको थियो । 

टेलिफोन सम्बादमा दुबै सकारात्मक भएपछि नेता भण्डारी र महामन्त्री थापा निधी निबासबानेश्वरमा पुगेर यसबारे थप छलफल गरेका थिए । ‘कोइराला र निधीबीच सकारात्मक कुरा भएपछि नेता चन्द्र भण्डारी र गगन थापाले निधीसँग भेट गरेर समिकरणको बिषय टुंगो लगाउनुभएको थियो,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘त्यसपछि ग्राउण्ड मै गएर सहमति कार्यान्वयन गर्न हामीले सहमतिअनुसार उमेद्वारी दर्ता गराएका छौँ ।’

बानेश्वरमा निधी निकट यादवलाई प्रदेश सभापतिमा कोइराला पक्षले समर्थन गर्ने, ४ पदाधिकारी कोइराला समुहबाट उमेद्वार बनाउने र कोषाध्यक्ष कोइराला समुहलाई दिने सहमति बनेको थियो । त्यस्तै मनोनित हुने सदस्यमा पनि बराबरी संख्यामा मनोनित गर्ने सहमति बनेको छ । सहमति अनुसार नेताहरू प्रदेश अधिबेशनको मुकाम जनकपुरमा केन्द्रीत भएका छन् । दुबै पक्षका केन्द्रीय नेताहरू अहिले जनकपुर केन्द्रीत भएका छन् ।

सभापति देउवा संस्थापन पक्षले कृष्ण यादवलाई अगाडि सारेको छ । संस्थापन पक्षकाम नेताहरू गृहमन्त्री समेत रहेका बालकृष्ण खाण,सहमहामन्त्री महेन्द्र यादव,केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल सहितका नेताहरू यादवलाई विजयी बनाउन दौडधुपमा लागेका छन् ।  

१४औँ महाधिबेशनमा दोस्रो चरणको मतदान हुँद्या निधीले सभापतिमा देउवालाई समर्थन गरेपछि यो समिकरण बन्ने अपेक्षा गरिएको थिएन । नेता सिंहका कारण सभापतिमा चौँथो मत पाएका निधीले परिणाम नआउने भएपछि देउवालाई समर्थन गरेका थिए । सहमति अनुसार विजयी गराउन जनकपुरमा रहेका कोइराला–निधी पक्षका एक नेताले समिकरणसँगै देउवा इतर शक्ति संगठित हुँदै जाने सन्देश दिन खोजिएको बताए । ती नेताले समिकरण तत्काल निर्वाचन मात्रको नभई आगामी राजनीतिको पनि आधार रहेको बताए । 

थप ३४ केन्द्रीय सदस्य निर्वाचित
१४औँ महाधिवेशनअन्तर्गत मंगलबार थप ३४ केन्द्रीय सदस्य निर्वाचित, मंगलबारसम्म १३ पदाधिकारी र ८४ केन्द्रीय सदस्यको मतगणना

बाँकी ३७ केन्द्रीय सदस्यको मतगणना आज

दलित नौ, आदिवासी–जनजाति १५ र खस–आर्यतर्फका १३ सहित ३७ केन्द्रीय सदस्यको मतगणना बुधबार सक्ने निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताए

मुक्ताकुमारीलाई हालसम्मकै सर्वाधिक मत
मतगणनामा मधेसी (महिला) कोटामा उम्मेदवारी दिएकी मुक्ताकुमारी यादवले हालसम्मकै सर्वाधिक मत पाएकी छिन् । उनले तीन हजार नौ सय ६० मत पाइन् । निर्वाचन समितिका अनुसार ४६ सय ७१ मत खसेकोमा १३ मत बदर थियो ।

यसअघि डा. शशांक कोइराला तीन हजार आठ सय ३६ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए । मधेसी आरक्षण कोटामा निर्वाचित उद्योगी विनोद चौधरीले विजयी हुनेमध्ये तेस्रो बढी मत प्राप्त गरेका थिए । चौधरीले दुई हजार दुई सय ६ मत प्राप्त गरेका छन् । 

थप ३४ केन्द्रीय सदस्य निर्वाचित : दलित नौ, आदिवासी–जनजाति १५ र खस–आर्य १३ जनाकोे मतगणना बुधबार 

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंगलबार थप ३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबारसम्म १३ पदाधिकारी र ८४ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बाँकी ३७ केन्द्रीय सदस्यको मतगणना बुधबार हुने निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताए । समितिका अनुसार दलित नौ, आदिवासी–जनजातिबाट १५ र खस–आर्य १३ जनाकोे मतगणना बुधबार सक्ने तयारी छ । 

प्रदेशतर्फ सातै प्रदेशको मतगणना सकिएको छ । दुई खुला र एक महिला गरी हरेक प्रदेशबाट तीन केन्द्रीय सदस्य निर्वाचित भएका छन् । प्रदेश १ मा खुलामा अमृत अर्याल (२,३८९) र राजीव कोइराला (२,१५३) तथा महिलातर्फ महेन्द्रकुमारी लिम्बू (२,२२९) विजयी भएका छन् । प्रदेश २ मा यसअघि नै खुलातर्फ आनन्द ढुंगाना (निर्विरोध) र रमेश रिजाल (निर्विरोध) तथा महिलामा चित्रलेख यादव निर्वाचित भइसकेका थिए । 

बागमती प्रदेशमा खुलातर्फ ध्यानगोविन्द रञ्जित (२,४१९) र राजेन्द्रकुमार केसी (२,१२९) तथा महिलातर्फ उर्मिला नेपाल केसी (२,३४९) ले जित निकालिन् । यसबाहेक गण्डकी प्रदेशमा खुलातर्फ कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले र महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएका छन् । 

लुम्बिनीमा खुलातर्फ देवेन्द्रराज कँडेल (२,७२७) र चन्द्रबहादुर केसी (२,२६७) तथा महिलामा शिला शर्मा खड्का (२,३७३) विजयी भएका छन् । कर्णाली प्रदेशमा खुलातर्फ राजीवविक्रम शाह (२,८२०) र कर्णबहादुर बुढा (२,२००) तथा महिलामा जानकी सिंह (२,६२४) विजयी भएका छन् । सो पदका निकटतम प्रतिस्पर्धी उम्मेदवार हृदयराम थानी एक मतले मात्र पराजित भए । यसबाहेक सुदूरपश्चिममा खुलातर्फ डा. रणबहादुर रावल (२,६६९) र यज्ञराज जोशी (२,०४४) तथा महिलातर्फ सुशीला मिश्र भट्ट (२,४२२) विजयी भए । 

मधेसीतर्फ खुलामा पाँच केन्द्रीय सदस्यमा अजयकुमार चौरसिया (२,५२२), विनोदकुमार चौधरी (२,२०६), डा. चन्द्रमोहन यादव (२,१३८), महेन्द्रकुमार राय (१,९८४) र दिनेशकुमार यादव (१,९५९) निर्वाचित भए । त्यसैगरी, मधेसी महिलातर्फका चारजनामा मुक्ताकुमारी यादव (३,९६०), मीनाक्षी झा (३,०१२), मञ्जुकुमारी यादव (२,८८६) र नागिना यादव (२,८४६) विजयी भएका छन् । 

मुस्लिम खुला दुई सिटमा अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) तथा मुस्लिम महिलातर्फ जाबेदा खातुन (१,९००) निर्वाचित भएका छन् । थारू खुलामा दुई सिटमा रामजनम चौधरी (२,५०३) र योगेन्द्र चौधरी (२,१९८) तथा थारू महिला दुई सिटमा कल्पना चौधरी (२,५२४) र जीवन राना (२,३४९) विजयी भए । 

सुझावित समाचार