संस्थापनलाई सभापतिबाहेकका पदाधिकारी चयनमा सकस, इतर समूहलाई साझा सभापति छान्न महाभारत

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

समूहको बैठकमा सहमति नजुटेपछि वरिष्ठ नेता पौडेलले भने–सबै लड्ने नै हो भने राजनीतिबाट बिदा हुन्छु, घरमै आराम गर्छु 

महाधिवेशन सुरु हुन एक दिन मात्रै बाँकी रहँदा कांग्रेसको संस्थापन र इतर समूहलाई पदाधिकारीका उम्मेदवार छान्न नै हम्मे परेको छ । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिका निर्विकल्प दाबेदार छन्, तर अन्य पदाधिकारीका उम्मेदवार छान्न सकस भएको छ । उता इतर समूहलाई तीन दिन लगातार छलफल गर्दा पनि सभापतिको साझा उम्मेदवार छनोट गर्न महाभारत भएको छ ।कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । एक कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुनेछन् । 

संस्थापन समूहका नेताहरू बुधबार बुढानीलकण्ठस्थित देउवानिवासमा भेला भएर पदाधिकारीका उम्मेदवारबारे छलफल गरेका छन् ।  सभापतिबाहेक निर्वाचित हुने १२ पदाधिकारीका लागि झन्डै तीन दर्जन दाबेदार छन् । प्रत्येक प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको सूची तयार गर्न सात नेतालाई जिम्मा दिएर बैठक सकियो । 

त्यस्तै, सभापतिको साझा उम्मेदवार छान्न संस्थापनइतर समूहको बैठक बुधबार पनि चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको थियो । सिंह र डा. शेखर कोइरालाले सभापतिमा अडान कायमै राखेका छन् । नेता रामचन्द्र पौडेल उनीहरूलाई पनि मनाएर आफू साझा उम्मेदवार बन्ने योजनामा छन् । नेताहरूका आ–आफ्नै अडानका कारण बैठक विनानिष्कर्ष सकिएको छ । 

त्यसअघि यो समूहका जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्याशी र केन्द्रीय सदस्यसहितको बैठक गौशालास्थित अनुपम फुडल्यान्डमा बसेको थियो । जसले नेताहरूलाई सभापतिको साझा उम्मेदवारसहित महाधिवेशनमा जान दबाब दिएको छ । 

सभापतिका आकांक्षी

सभापतिका आकांक्षी क्रमश: शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि

चाक्सीबारी बैठकमा सभापतिका चार आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइराला सहमतिका लागि लचकता देखाउन तयार भए पनि सिंह र शेखरले भने अन्यलाई स्वीकार नगर्ने अडान राखेका छन् । नेता पौडेल सर्वसम्मत भए मात्रै सभापतिको उम्मेदवार बन्ने रणनीतिमा छन् । अरू कोही आकांक्षीको नाममा सहमति जुटे पनि उनी मैदान खाली गर्न तयार देखिएका छन् । आफू नभए सिंह वा शेखरमध्ये एकलाई सभापतिको उम्मेदवार बनाउने उनको योजना छ । 

त्यस्तै, महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेलमा सहमति जुटे आफू ‘त्याग’ गर्न तयार रहेको बताएका छन् । तर, अन्य आकांक्षीलाई सहयोग रहने–नरहनेबारे उनी बोलेका छैनन् । यद्यपि, शेखरले अन्तिममा महामन्त्री कोइरालाको समर्थन आफूलाई रहने विश्वास लिएका छन् । 

सिंह पार्टीमा आफू वरिष्ठ रहेको दाबीसहित सभापतिमा उम्मेदवार बन्नुपर्ने अडानमा छन् । उता शेखरले कोइराला परिवारको बिरासत र कांग्रेसलाई सही बाटोमा डो¥याउन सभापतिका लागि आफू उपयुक्त उम्मेदवार रहेको दावी गरेका छन् । 

बैठकमा वरिष्ठ नेता पौडेलले सबै उम्मेदवार नै बन्ने भए आफू राजनीतिबाटै सन्न्यास दिने बताएका थिए । ‘हुन त पार्टीभित्र सबैका लागि उपयुक्त उम्मेदवार म हुँ । तैपनि तपाईंहरू सहमति गरेर आउनुहुन्छ भने म बाधक बन्दिनँ । सहमति गर्न सक्नुहुन्न भने मेरो पक्षमा सहमति गर्नुस् । होइन, सबै नै लड्ने हो र कसैले कसैलाई नछोड्ने हो भने म राजनीतिबाट बिदा हुन्छु । पार्टीबाट बिदा हुन्छु र घरमै आराम गर्छु,’ स्रोतका अनुसार पौडेलको भनाइ थियो । 

तीन दिनको लगातार संवादले विषयवस्तु साँघुरिएको केन्द्रीय सदस्य गुरुराज घिमिरेको दाबी छ । ‘हाम्रो समूहमा एकसे एक नेता हुनुहुन्छ । सभापति बन्ने आकांक्षामा एक–अर्कामा टसलजस्तो देखिएको छ । तर, त्यो साँघुरिएर नजिकै आएको छ,’ घिमिरेले भने । 

तर, केन्द्रीय सदस्य चन्द्र भण्डारीले बिहीबार सर्वसम्मत उम्मेदवार बनाउने कोसिस हुने र सफल नभए पहिलो चरणमा छुट्टाछुट्टै उम्मेदवारी हुन सक्ने बताए । ‘हामीले बृहत् छलफल गर्दा पनि समाधान निस्किएन । अब बिहीबार बैठक बस्छौँ, मिलेन भने छुट्टाछुट्टै उम्मेदवारी दिने तयारीमा छौँ ।’

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अझै केही प्राविधिक र राजनीतिक कुरा टुंग्याउन बाँकी रहेको बताए । ‘अन्तिम टुंगो लगाइसकेका छैनौँ । केही प्राविधिक र केही राजनीतिक विषय टुंग्याउन बाँकी छ । यसमा संयोजन गर्ने–गराउनेबारे बिहीबार छलफल हुन्छ,’ केसीले भने । 

अनुपम फुडल्यान्डमा भएको बैठकले सहमतिका लागि नेताहरूलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकको सुरुमा सहभागी भएका वरिष्ठ नेता पौडेल ‘स्वतन्त्र रूपमा छलफल गर्नुस्’ भन्दै बाहिरिएका थिए । बैठकमा पाँच दर्जन नेताहरू सहभागी थिए । 

सिंह र डा. शेखरको अडानले बुधबारको बैठक निष्कर्षविहीन भएपछि संस्थापनइतर पक्षका नेताहरू बिहीबार पनि छलफलमा बस्दै छन् । सभापतिका चार आकांक्षीबाहेक केन्द्रीय सदस्यहरूले सहमति जुटाउने प्रयासस्वरूप बिहीबार छलफल गर्न लागेका हुन् । केन्द्रीय सदस्य जीवन परियारका अनुसार बिहीबार केन्द्रीय सदस्यहरूले सहमतिको विकल्पमाथि छलफल गर्नेछन् । 

बैठकमा रामचन्द्र पौडेलले भने– सबै लड्ने हो भने सन्न्यास लिन्छु 
हुन त पार्टीभित्र सबैका लागि उपयुक्त उम्मेदवार म हुँ । तैपनि तपाईंहरू सहमति गरेर आउनुहुन्छ भने म बाधक बन्दिनँ । सहमति गर्न सक्नुहुन्न भने मेरो पक्षमा सहमति गर्नुस् । होइन, सबै नै लड्ने हो र कसैले कसैलाई नछोड्ने हो भने म राजनीतिबाट बिदा हुन्छु । पार्टीबाट बिदा हुन्छु र घरमै आराम गर्छु ।

संस्थापन पक्षको बैठक : सभापतिमा देउवा निर्विकल्प, पदाधिकारीमा छान्न हम्मे
सभापति देउवाको निवास बुढानीलकण्ठमा बुधबार बसेको संस्थापन पक्षका नेताहरूको बैठकमा पदाधिकारीका आकांक्षी धेरै देखिएका छन् । सभापतिमा दोहोरिने तयारी गरेका देउवाले सम्भावित समीकरण हुँदा र नहु“दाको अवस्थामा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका दाबेदारको व्यवस्थापन गर्नका लागि बुधबार परामर्श बैठक डाकेका थिए । त्यहीअनुसार अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल भएको केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले बताए । 

मन्सुरका अनुसार छलफलमा पदाधिकारीका आकांक्षीले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । ‘बैठकमा सभापतिबाहेकका आकांक्षीको विषयमा छलफल भयो । मुख्य कुरा जित भएकाले त्यो कसरी हासिल गर्ने भन्नेमै छलफल केन्द्रित रह्यो । जित्न सहज हुने गरी टिम घोषणा गर्न सुझाव आएको छ,’ मन्सुरले भने । 

बैठकमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा दाबी गरेका थिए । सभापतिपछिको पदका लागि आफू सबैभन्दा योग्य दाबेदार रहेको गच्छदारको भनाइ थियो । खड्का हाल महामन्त्री रहेकाले अव उपसभापति बन्नुपर्ने तर्क राखेका छन् । त्यस्तै, महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाण र विश्वप्रकाश शर्माले दाबी पेस गरेका थिए । महामन्त्रीमै ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदको पनि दाबी छ । 

सभापति देउवाले भने प्रवक्तासमेत रहेका शर्मालाई महामन्त्रीमा नभई सहमहामन्त्रीको तयारी गर्न सुझाएका थिए । ‘उहाँ (शर्मा)ले महामन्त्रीमा दाबी रहेको बताएपछि सभापतिले सहमहामन्त्रीको उम्मेदवार बन्न सुझाव दिनुभएको छ,’ एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । त्यसमा शर्माले थप प्रतिक्रिया नजनाएको ती सदस्यको भनाइ छ । पदाधिकारीका अन्य दाबेदाको सम्बन्धमा भने देउवा मौन रहेको छलफलमा सहभागी एक नेताले बताए । 

सहमहामन्त्रीतर्फ महिला क्लस्टरबाट डिना उपाध्याय, पार्वता डिसी चौधरी, पुष्पा भुसाल र अम्बिका बस्नेत, दलित कोटाबाट मानबहादुर विश्वकर्मा, मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर, खस–आर्य क्लस्टरबाट किशोर सिंह राठौर, मोहन बस्नेत र सुनील थापा, थारू क्लस्टरबाट रामजनम चौधरी, मधेसीतर्फबाट महेन्द्र यादव र अजय चौरसियाले दाबी गरेका थिए । नेता रमेश लेखकले सभापतिबाहेकका पदाधिकारीमा आफ्नो दाबी रहने बताएका थिए । 

केन्द्रीय सदस्य विश्वकर्माका अनुसार आकांक्षीले आफ्नो दाबी प्रस्तुत गरे पनि देउवाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । ‘सभापतिले आकांक्षीका कुरा सुन्नुभयो । कसरी टिम बनाउने भन्नेबारे प्रतिक्रिया दिनुभएको छैन,’ उनले नयाँ पत्रिकासँग भने । 

नेताहरूको कुरा सुनिसकेपछि सभापति देउवाले आकांक्षीलाई समेटेर लैजाने प्रयास गर्ने बताएका थिए । ‘आकांक्षी धेरै देखिनुभएको छ । सबैजना अटाउने अवस्था छैन । यसैमध्येबाट समेटेर निर्णय गरौँला,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने । बैठकमा कतिपय केन्द्रीय सदस्यले सहमहामन्त्री थप गर्न प्रस्ताव गरेका थिए । आठ सहमहामन्त्री क्लस्टरबाट मात्रै रहेकाले खुलातर्फबाट पनि सहमहामन्त्री थप गर्न केन्द्रीय सदस्यको सुझाव थियो ।

इतर पक्षको टिम हेरेर आफ्नो टिम बनाउने देउवाको रणनीति 
स्रोतका अनुसार देउवा आफ्नो टिम निर्माणपूर्व वरिष्ठ नेता रामचन्द्र पौडले समूहलाई पर्खने रणनीतिमा छन् । देउवापक्षीय एक केन्द्रीय सदस्यले पौडेल समूहको निर्णयपछि मात्र आफ्नो समूहबाट महाधिवेशनका लागि उम्मेदवार तय हुने बताए । ‘कांग्रेसको परम्परा नै छ, महाधिवेशनको दुई घन्टाअघि मात्र पनि टुंगो लाग्न सक्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘अर्को पक्षले टिम घोषणा गरेपछि हामी आफ्नो रणनीतिअनुसार टिम बनाउछौँ ।’

संस्थापन समूहले विभिन्न क्लस्टरबाट पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका उम्मेदवारको सूची तयार गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । जिम्मेवारी पाउनेमा प्रदेश १ मा ज्ञानेन्द्र कार्की, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा सहमहामन्त्री डा. प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही तथा सुदूरपश्चिममा एनपी साउद छन् । 

आज कार्यसमिति बैठक
१४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयबारे छलफलका लागि कांग्रेसले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान साढे ११ बजे सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । 

प्रारम्भिक नामावलीमा ४,३१९ महाधिवेशन प्रतिनिधि
१४औँ महाविधेशनका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । सूचीमा पार्टीका भ्रातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका करिब एक सय ५० जना महाधिवेशन प्रतिनिधिको नाम थप हुन बाँकी छ । सर्लाहीका चार संघीय निर्वाचन क्षेत्र र महोत्तरीको एक संघीय निर्वाचन क्षेत्रका एक सय ३० जना महाधिवेशन प्रतिनिधिको नाम पनि सूचीमा छैन । कांग्रेस महाविधेशनमा जम्मा चार हजार सात सयभन्दा केही बढी महाधिवेशन प्रतिनिधि हुनेछन् । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिकाबमोजिम शुक्रबार प्रकाशन गरिनेछ । कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।

उम्मेदवार र महाधिवेशन प्रतिनिधिलाई आचारसंहिता मतदानस्थलभित्र मोबाइल लैजान निषेध
कांग्रेसले १४औँ महाधिवेशनका उम्मेदवार र महाधिवेशन प्रतिनिधि आचारसंहिता जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले मतदानस्थलमा मोबाइल लैजान नपाउनेलगाायत प्रावधानसहितका आचारसंहिता जारी गरेको हो । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जारी गरेको आचारसंहितामा उम्मेदवारको प्रचारप्रसार गर्नुपर्दा भिजिटिङ कार्ड र सामान्य अपिल मात्र वितरण गर्न पाइने उल्लेख छ । त्यस्तै, व्यक्तिगत चरित्रमा लाञ्छना नलाग्ने गरी प्रचार गर्न र शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार गर्न समितिले अनुरोध गरेको छ । केन्द्रीय कार्यालय र भृकुटीमण्डप क्षेत्रमा पाँच सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार र माइकिङ गर्न निषेध गरिएको छ । आचारसंहितामा मतदानस्थलभित्र मोबाइल लैजानसमेत निषेध गरिएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

२४ मंसिर  

  • बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन

२५ मंसिर

  • बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
  • बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध र जाँचबुझ
  • बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधउपर निर्णय
  • बेलुका ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन

२६ मंसिर

  • बिहान ११ सम्म मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय 
  • दिउँसो १२:१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन 

२७ मंसिर

  • बिहान ८ बजेबाट राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान

दोस्रो चरणमा गएलगत्तै निर्वाचन
सबै पदाधिकारीका लागि मतदान सकिएपछि मतगणना सुरु । सभापतिमा ५१ प्रतिशत मत प्राप्त हुन नसके र दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा लगत्तै गर्ने, सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै जानकारी गराइने । समितिले सभापतिबाहेकका पदाधिकारी र सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा ।

सुझावित समाचार