- प्रधानमन्त्री शेरबहादुर देउवा आउने खबर पाएपछि पहिरोबाट विस्थापित डोटी कोइरेलीका ३० पीडित दुई घन्टा पैदल र एक घन्टा बस चढेर दु:ख बिसाउन भोकभोकै दिपायलस्थित सेनाको ५ नम्बर बाहिनी पुगेका थिए । जसमा अधिकांश महिला थिए । तर, ब्यारेकभित्र जिल्लाका ठूलाबडासँग छलफल गरेका प्रधानमन्त्री गेटबाहिरको चिसो भुइँमा कुरिरहेका पीडितलाई भेटै नदिई बझाङतर्फ उडे । पौने घन्टा ब्यारेकबाहिर कुरेका पीडित निराश बनेर फर्किए ।
- डोटीबाट उडेका प्रधानमन्त्री बझाङको चैनपुरस्थित सेनाको ब्यारेकमा उत्रिए । त्यहाँ पनि उनले पीडितलाई भेटेनन् । सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिलगायतलाई उद्धार र राहतमा जुट्न निर्देशन दिए । र, प्रभावित क्षेत्रको हवाई निरीक्षण गरे । जब कि प्रधानमन्त्री आउने सुनेर धेरै मानवीय क्षति भएका थलारा र खप्तडछान्नाका पीडित स्थानीय विद्यालयमा भेला भएका थिए । उनीहरू पनि निराश बनेर फर्किए ।

प्रधानमन्त्रीलाई भेट्न दिपायलको राजपुरस्थित सेनाको ५ नम्बर बाहिनीको गेटबाहिर कुरिरहेका पहिरोपीडित ।
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै बिहीबार हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सबैभन्दा बढी क्षति व्यहोरेका डोटी र बझाङका पीडितलाई भेट्दै नभेटी फर्किएका छन् । कतिसम्म भने पहिरोबाट विस्थापित पीडित नै गाउँबाट घन्टौँ हिँडेर सदरमुकाम आउँदासमेत प्रधानमन्त्री देउवाले भेट दिएनन् ।
प्रधानमन्त्री आउने खबर पाएपछि पहिरोबाट विस्थापित डोटीको दिपायल–सिलगढी नगरपालिका– ७ कोइरेलीका ३० पीडित दुःख बिसाउन बिहान भोकभोकै हिँडेर राजपुरस्थित नेपाली सेनाको ५ नम्बर बाहिनी पुगेका थिए । समूहमा अधिकांश महिला थिए । दुई घन्टा पैदल र एक घन्टा नगरपालिकाले नै उपलब्ध गराइदिएको बसमा चढेर उनीहरू ११:३० बजे राजपुर पुगेका थिए ।
प्रधानमन्त्री ११ बजे नै ब्यारेकमा उत्रिइसकेका थिए । उनी भित्र सिडिओ, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र स्थानीय नेताहरूसँग छलफल गर्दै थिए । पहिरोपीडित मनभरि संगालेका दु:ख प्रधानमन्त्रीलाई सुनाउन ब्यारेकबाहिर चिसो भुइँमा प्रतीक्षारत थिए । १२:१५ बजे प्रधानमन्त्रीले ब्यारेकभित्रको छलफल टुंग्याए तर, पीडितलाई भेटेनन् । सीधै हेलिकोप्टर चढेर बझाङका लागि उडे । जब कि उनलाई ब्यारेकबाहिर पीडितहरू कुरिरहेको जानकारी गराइएको थियो । आफूहरूलाई बेवास्ता गर्दै प्रधानमन्त्री देउवा उडेपछि पौने घन्टादेखि कुरिरहेका पीडित निराश बनेर फर्किए ।
प्रधानमन्त्रीको अनुहारसमेत देख्न नपाएपछि पहिरोपीडित विजय बोहोराले भने, ‘हामीले तीन दिनदेखि राम्रोसँग खाना खान पाएका छैनौँ, प्रधानमन्त्रीसहितको टोली आउने जानकारी पाएपछि आफ्ना पीडा सुनाउन भोकभोकै आयौँ, तर हामीलाई भेट दिनुभएन ।’
०६४ मा विपत् व्यवस्थापन समिति डोटीले कोइरेली गाउँ पहिरोको जोखिममा रहेको भन्दै बस्ती सार्नुपर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन भएन । यसपालिको अविरल वर्षामा कोइरेली फेरि पहिरोको चपेटामा पर्यो । पहिरोले ५० परिवार विस्थापित भएर स्थानीय दुर्गा आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् । बाढीपहिरोकै विषयमा निरीक्षणमा आएका वेला आफ्ना समस्या सुनाउन पाए समाधान गरिदिने आशा लिएर उनीहरू प्रधानमन्त्रीलाई भेट्न आएका थिए ।
‘प्रधानमन्त्रीलाई भेट्न पाइने आसमा हामी ब्यारेकको गेटमा कुरिरह्यौँ, जब हेलिकोप्टर उड्यो हाम्रा आशाहरू समाप्त भए । सरकारप्रति गरेको भरोसा सकियो,’ नरबहादुर विष्टले गुनासो गरे, ‘हुन त प्रधानमन्त्रीले हामी साना मान्छेको दुःखमा किन चासो दिन्थे र ? कुरा सुन्छु र हेर्छु भनेपछि भेटसम्म त दिनुपर्थ्यो ।’
प्रधानमन्त्रीले सूचना नै नपाएर कोइरेलीका पहिरोपीडितलाई नभेटेका पनि होइनन् । उनीहरू आइपुग्नुअघि नै दिपायल–सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीले पीडितहरू आउँदै गरेको जानकारी प्रधानमन्त्रीलाई ब्यारेकभित्रको छलफलकै क्रममा दिएकी थिइन् ।
‘म कोइरेली पुग्दा ५० परिवारको समस्या देखेकी हुँ । त्यो गाउँ स्थानान्तरण गर्नुपर्ने निर्णय ०६४ मै भएको रहेछ । प्रधानमन्त्री आएका वेला उनीहरूले आफ्ना दुःख सुनाउने भनेपछि मोटर गुड्ने ठाउँबाट नगरबसमा आउने व्यवस्था मैले नै मिलाइदिएकी हुँ,’ मेयर मलासीले भनिन्, ‘उनीहरू भेट्न आएका छन् भनेर प्रधानमन्त्रीको टोलीलाई छलफलका क्रममा सूचना पनि दिएकी हुँ । तर, प्रधानमन्त्रीले समय व्यवस्थापन गर्न सक्नुभएन कि के कारण हो मलाई थाहा भएन । हामीले नगरपालिकाको तर्फबाट ज्ञापनपत्र बुझायौँ ।’
चार दिनको अविरल वर्षापछि आएको बाढीपहिरोबाट सुदूरपश्चिममा सबैभन्दा बढी क्षति डोटीमै भएको छ । डोटीमा मात्रै पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ, एकजना बेपत्ता छन् । प्रभावित क्षेत्र निरीक्षणका लागि भन्दै सुरुमा डोटी नै पुगेका प्रधानमन्त्री सदरमुकामबाहेक अन्त गएनन् । प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गरेनन् ।
डोटीबाट उडेका प्रधानमन्त्री बझाङ सदरमुकाम चैनपुरस्थित नेपाली सेनाको पानकोट ब्यारेकमा उत्रिए । सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिलगायतसँग छलफल गरेका उनले उद्धार र राहतमा जुट्न निर्देशन दिए । हेलिकोप्टरमै प्रभावित क्षेत्र निरीक्षणमा निस्किए । तर, त्यहाँ पनि पीडितलाई भेटेनन् ।
जिल्लामा सबैभन्दा धेरै मानवीय क्षति भएको थलारा र खप्तडछान्ना गाउँपालिकाका स्थानीय प्रधानमन्त्री आउने खबर सुनेर विद्यालयमा भेला भएका थिए । तर, प्रधानमन्त्री आकाशबाटै निरीक्षण गरेर हिँडेपछि पहिरोपीडित परिवार निराश बने ।
‘प्रधानमन्त्री आएपछि केही राहत प्याकेज घोषणा होला भन्ने आशा थियो, तर आकाशमै फन्को मारेर जानुभयो । हामीले आफ्ना पीडा सुनाउन पनि पाएनौँ,’ थलारा– ४ डिक्लाका कलक सार्कीले गुनासो गरे, ‘घरमाथि आइपुगेका प्रधानमन्त्रीले नै एकछिन ओर्लिएर हाम्रा पीडा सुन्दैनन् भने के राज्य छ भन्नु ?’ पहिरोमा पुरिएर थलारामा दुईजनाको मृत्यु भएको छ भने २१ जना तीन दिनदेखि बेपत्ता छन् । बझाङ जिल्लाभर पहिरोमा परेर आठजनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १०१ पुग्यो, ४१ बेपत्ता, ४० घाइते
बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या एक सय एक पुगेको छ । प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा ६० जनाको ज्यान गएको छ । सुदूरपश्चिममा ३१, कर्णालीमा ७, लुम्बिनीमा दुई र बागमतीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै, ४१ जना बेपत्ता र ४० जना घाइते छन् । प्रदेश १ मा १९, सुदूरपश्चिममा १७, कर्णाालीमा चार घाइते छन् । सुदूरपश्चिममा २३, प्रदेश–१ मा १३, लुम्बिनीमा तीन, प्रदेश–२ र कर्णालीमा एक÷एक गरी ४१ जना बेपत्ता भएका छन् ।
गृहजिल्ला डडेल्धुरा पुगेर प्रधानमन्त्रीले भने– काठमाडौं फर्केपछि राहत घोषणा गर्छु
प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेल्धुरामा सबैभन्दा धेरै समय बिताए । दिउँसो २:३० मा सदरमुकामस्थित सेनाको ब्यारेकमा उत्रिएका उनी ४:३० बजे उडे । पाँचौँपटक प्रधानमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला पुगेका हुन् । सेनाको ब्यारेकमै स्थानीय नेता, जनप्रतिनिधि, सुरक्षा अधिकारीहरूसँग छलफल गरे भने जोगबुडा पुगेर पीडितलाई पनि भेटे । जोगबुडामा पीडितहरूले ज्ञापनपत्र बुझाए । त्यसक्रममा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएलगत्तै पीडितहरूका लागि राहत घोषणा गर्ने बताए । ०६२ को बाढीबाट पीडितले समेत अहिलेसम्म राज्यबाट राहत नपाएको भन्दै स्थानीयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
बैतडीको प्रभावित क्षेत्र पुगे तर, पीडितका गुनासा सुनेनन्
बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाड बस्तीका पीडितले प्रधानमन्त्रीसँग आफ्ना दुःख सुनाउन नपाएको गुनासो गरेका छन् । बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा ढुंगाड ओर्लिएका प्रधानमन्त्रीले करिब २० मिनेट त्यहाँ बिताएका थिए । तर, प्रधानमन्त्रीले आफूहरूको पीडा नसुनेको उनीहरूको गुनासो छ ।
गत सोमबार रातिबाट सेती नदीमा आएको बाढीले दुईतिरबाट कटान गरेपछि ६० स्थानीय ६० घन्टासम्म टापुमा परिणत ढुंगाड बस्तीमा थुनिएका थिए । बुधबार बिहान नदीको बहाव घटेपछि मात्रै उनीहरू बस्तीबाट बाहिर निस्किएका थिए । तिनै पीडितलाई भेट्न प्रधानमन्त्री बिहीबार ढुंगाड पुगेका थिए । तर, प्रधानमन्त्रीले आफूहरूको कुरा नसुनेको बाढीपीडित राजेन्द्र चन्दले बताए । ‘प्रधानमन्त्रीले सम्बोधनको क्रममा धेरै बोल्नुभएन । काठमाडौं फर्किएर राहत प्याकेज घोषणा गर्छु मात्र भन्नुभयो,’ चन्दले नयाँ पत्रिकासँग भने, ‘त्यसपछि हामी पीडितहरूले हाम्रा कुरा पनि सुन्नुस् न प्रधानमन्त्रीज्यू भन्यौँ, तर उहाँले सुन्नुभएन । बरु, कुर्सीबाट उठेर सेतीको बगर हेर्न जानुभयो, त्यसपछि हेलिकोप्टर चढेर उड्नुभयो ।’
कञ्चनपुरको दोधारामा डेढ मिनेट सम्बोधन : पीडितलाई हप्काउँदै भने, ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’

करिब पाँच बज्नै लाग्दा प्रधानमन्त्री देउवा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए । करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा पनि एक पीडितलाई हप्काए । प्रधानमन्त्री देउवा सम्बोधन गर्न थालेपछि मञ्चको अगाडि बसेका एक पीडित युवाले गुनासो गर्दै भने, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न’ भनेका थिए । प्रधानमन्त्री देउवा त्यतिमै जंगिए र भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’ प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसे ।
सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भने, ‘बाढीपहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौं फर्किएपछि सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ । कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।’ यति भनिसकेपछि ‘अबेर भइसक्यो, अब म लागेँ’ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलालीको धनगढीतर्फ लागे ।