विश्वका १९३ देशका दशौँ लाख मानिसहलाई सहभागी गराएर गत वर्ष संयुक्त राष्ट्रसंघले विश्वव्यापी रूपमा बहस चलायो । यसले केही महत्वपूर्ण सवालहरू उजागर गरेको छ। यसवर्षको संयुक्त राष्ट्रसंघको महासभाले विधिमा आधारित बहुपक्षीयतावादलाई विशेष महत्व दिएर ती सवालहरूको जवाफ दिनुपर्छ।
सुरुवाती चरणमा उक्त बहसले विश्वभरका महिला, पुरुष तथा युवाका आशाहरू समान रहेको पायो। आम जनता गुणस्तरीय स्वास्थ्य र शिक्षा चाहन्छन्। उनीहरू गरिबी र महामारीबाट सबैभन्दा धेरै आक्रान्त भएकाहरूप्रति अझ बृहत् विश्वव्यापी ऐक्यबद्धता पनि चाहन्छन्। ती बहसहरूमा आफ्नो मत राख्नेहरूको मुख्य चासो सँगसँगै सुरु भएकाे जलवायु परिवर्तन र बढ्दै गइरहेको जैविक विविधता ह्रासजस्ता समस्यामा केन्द्रित थियो। बहसमा सहभागी लगभग ९० प्रतिशतले आजको प्रमुख समस्यासँग जुध्न विश्वव्यापी सहकारिताको आवश्यकता छ भन्नेमा सहमत भए। कोरोना महामारीले विश्वव्यापी एकताको खाँचोलाई झन् टड्कारो बनाएको अधिकांशले बताए। विश्वभरका युवाहरूले यसरी अन्तर्राष्ट्रिय एकताको महसुस गर्नु विशेष रूपमा प्रशंसनीय छ।
गत वर्षको त्यो बहस अब व्यावहारिक रूपमा काम गर्नुपर्छ भन्ने आह्वान हो। युएनका महासचिव एन्टोनियो गुटरेसले ‘हाम्रो साझा एजेन्डा’ नामक प्रतिवेदन बाहिर ल्याएका छन्। जसलाई ‘युएन ७५ राजनीतिक घोषणा’का नाममा सदस्य राष्ट्रका सबै राष्ट्रप्रमुख तथा सरकारहरूले स्विकारीसकेका छन्। यो नयाँ एजेन्डाले हामी वर्तमान र भविष्यका चुनौतीहरूसँग कसरी जुध्ने भन्ने विषयमा साहसिक योजना बनाएको छ।
यसका लागि, पछिल्लो समय बिग्रिने खतरामा रहेको विश्व सम्बन्धलाई नयाँ रूपमा हेरिनुपर्छ । त्यसैले युएनको महत्वकांक्षी एजेन्डालाई वास्तविकतामा परिणत गर्न हामीले महासचिव गुटरेसको अग्रसरतालाई सहयोग गर्ने संकल्प गरिरहेका छौँ । अझै पनि हामी कोरोना महामारीसँग विश्वव्यापी रूपमा जुधिरहेका छौँ । यसले हामी अन्तरसम्बन्धित र अन्योन्याश्रित विश्वमा बाँचिरहेका छौँ भन्ने सन्देश दिएको छ। यसका अलावा, पछिल्ला केही महिनाहरूमा, तातो हावाको लहर, विनाशकारी बाढी र पछिल्लो इतिहासकै केही विशाल डढेलोका कारण प्रभावित हुनेको संख्याले नयाँ रेकर्ड बनाएको छ। यसले जलवायु परिवर्तनले ल्याएको खतरा विश्वव्यापी छ भन्ने धारणालाई फेरि एकपटक पुष्टि गरेको छ।
गत वर्ष संयुक्त राष्ट्रसंघले सुरु गरेको बहसले विश्वभरका आममानिसहरूले जलवायु परिवर्तन र महामारीजस्ता समस्याहरूलाई सम्बाेधन गर्न अझ बढी अन्तर्राष्ट्रिय सहकार्य चाहेका छन् भन्ने देखाउँछ। आममानिसको यस्तो माग पूरा गर्न विश्वका सबै नेतृत्वहरूले संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय संस्थाहरूलाई अझ बढी सुदृढ बनाउने संकल्प गर्नुपर्छ।
युएन विश्व व्यवस्थाको महत्वपूर्ण अंग हो । आजभन्दा ७६ वर्ष पहिले अन्तर्राष्ट्रिय समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य’ गर्न साझा संस्था बनाउनका लागि विश्व एक हुनु आफैँमा असाधारण उपलब्धि थियो। त्योभन्दा पनि महत्वपूर्ण त विविध चूनौती र कमीकमजारीका बाबजुद यो संस्था यतिका समयसम्म बाँचिराख्नु हो। यसले एकजनाले मात्रै जित्ने असमान प्रतिस्पर्धाभन्दा समझदारीले नै अझ बढी उत्तम, अझ बढी शान्त र दिगो भविष्य निर्माणका लागि मार्ग निर्देश गर्छ भन्ने देखाएको छ।
विश्वका अन्तर्राष्ट्रिय संगठनहरू निर्माण गरिनुको प्रारम्भिक उद्देश्य अन्तरप्रादेशिक चुनौतीहरूको समाधान गर्नु थियो । यस्ता संगठनहरू आर्थिक संकट, महामारी, आतंकवाद, अपराध सञ्जाल तथा जलवायु परिवर्तनजस्ता सीमापार समस्याहरूको समाधानका लागि स्थापना गरिएका थिएनन् । त्यसैले हामीले हाम्रा बहुपक्षीय संगठनहरूलाई वैश्विक तथा अन्तरपुस्तीय चुनौतीहरूको सामना गर्न सक्ने गरी पुनर्जागृत गर्नुपर्छ।
युएनको स्थापना हुँदाको विश्व र वर्तमान विश्वबीचको फरकलाई मूल्यांकन गरेर गत वर्ष हामीले युएन सुरक्षा परिषद्लाई पुनर्जागरण गर्ने हेतुले विमर्श गर्ने निर्णय गर्यौँ। युएनको महासभालाई पुनर्जीवन दिँदै आर्थिक र सामाजिक परिषद्लाई अझ प्रभावकारी बनाउने प्रण गर्यौँ । त्यसका लागि सन् २०२० को नोभेम्बर १० मा मड्रिडमा साझा वक्तव्यमा हामीले हस्ताक्षर पनि गरेका छौँ । त्यसैको आधारमा बहुपक्षीयतावादलाई सुदृढ गर्ने हाम्रो सझा लक्ष्यका लागि उक्त वक्तव्यमा उठाइएका प्रमुख तीनवटा क्षेत्रलाई प्राथामिकतामा राखेर भावी यात्रा तय गर्नुपर्छ।
पहिलो, हामीले अन्तर्राष्ट्रिय सहकार्यका लागि नयाँ संकल्प गर्नु आवश्यक छ । तल्लो तहमा प्रभाव पार्ने गरी काम गर्नका लागि बहुपक्षीय संगठनहरूलाई स्रोत, साधन र आमविश्वासले सुसज्जित पार्नुपर्छ। युएन्, क्षेत्रीय संगठनहरू तथा अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूबीचको सहकार्य नीति निर्माण र कार्यान्वयनको दुवै चरणमा हुनुपर्छ। बहुपक्षीय व्यवस्था युवा, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञिक क्षेत्रलगायतलाई अवसर दिन सक्ने खुला र समावेशी हुनुपर्छ।
यसलाई हामीले कार्यान्वयन गर्न सुरु पनि गरिसकेका छौँ। यो वर्षको महासभा सुरु हुनुभन्दा अगाडि नै ‘डेलिभरिङ द युएन कमन एजेन्डा : एक्सन टु एचिभ इक्वालिटी एन्ड इन्क्लुजन’ नामको भर्चुअल कार्यक्रम पनि भइसकेको छ। हामीले सबैको आवाजलाई सम्बाेधन गर्ने अठोट गर्नुपर्छ।
दोस्रो, महासचिव गुटरेसको एजेन्डालाई प्राथामिकतामा राखेर गरिबी तथा असमानता, समावेशीताको सुनिश्चितता, समान सहभागिता र न्यायका लागि साथै बढ्दो जैविक विविधता ह्रास तथा भावी दिनमा आउन सक्ने महामारीजस्ता चुनौतीहरूसँग लड्ने क्षमता अभिवृद्धिका लागि हामीले आफूले आफैँलाई दक्ष बनाउनुपर्छ।
कोभिडले ल्याएको संकटबाट हामीले महामारी, युद्ध, बढ्दै गइरहेको साइबर हमला, वातावरणीय संकट तथा भविष्यमा आउन सक्ने जटिल समस्याहरूसँग जुध्न सक्ने सामूहिक क्षमतालाई अझ दरिलो बनाउनपर्छ भन्ने सबक सिकेका छौँ। त्यसैले हामीले एउटा नयाँ वैश्विक ‘आपतकालीन मञ्च’को प्रस्तावसहित वैश्विक दुरदर्शिता र जोखिम व्यवस्थापनको क्षमता मजबुत पार्नका लागि महासचिव गुटरेसको सुझाबलाई स्वागत गरेका छौँ।
तेस्रो, सन् २०२३ मा आयोजना गरिने ‘समिट फर द फ्युचर’को प्रस्तावलाई पनि हामीले स्वागत गरेका छौँ। यस अवसरलाई अन्तर्राष्ट्रिय एकता बलियो बनाउनका लागि प्रयोग गर्नुपर्छ। वर्तमान विश्वमा अन्तर्राष्ट्रिय तथा अन्तरपुस्तीय समस्याहरू देखिएका छन्। त्यसैले प्रभावकारी, चुस्त र जवाफदेही बहुपक्षीय व्यवस्थाको निर्माण गर्ने अभियानमा यस क्षणलाई बेवास्ता गर्नुहुँदैन। किनभने, त्यस्तो व्यवस्थाले मात्रै सबै नागरिकको भलाइका लागि काम गर्न सक्छ र अहिले आइरहेका विश्वव्यापी चुनौतीहरूसँग जुध्नका लागि हामीलाई तयार पार्छ। यो प्रयासका लागि हामी अग्रपंक्तिमा उभिनुपर्छ। हामीले एकीकृत रूपमा मात्र विधिमा आधारित, सुदृढ र अझ बढी समावेशी युएनसहितको बहुपक्षीयतावादलाई पुनर्ऊर्जा दिन सक्छौँ। यसो गर्नु नै हाम्रो समयको महान राजनीतिक जिम्मेवारी हो।
(कोस्टारिकाका राष्ट्रपति कार्लोस् अल्भार्डो क्वेसाडा, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन, स्विडेनका प्रधानमन्त्री स्टेफान लोफभेन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, सेनेगलका राष्ट्रपति म्याक्की साल र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित संयुक्त लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्।)