खोपनिर्माता मुलुक तिनको कर्तव्यमा चुक्दै छन्

विश्व स्वास्थ्य संगठनले हरेक मुलुकमा खोप वितरणका लागि न्यूनतम लक्ष्य तोकेको छ, जुन विद्यमान खोप वितरण व्यवस्थाले हासिल हुँदैन

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

कोभिड–१९ महामारीको सन्दर्भमा विश्व महत्वपूर्ण मोडमा आइपुगेको छ । पर्याप्त खोप नपाएका मुलुकहरू तीव्र फैलने डेल्टा भेरियन्टलाई लिएर त्रस्त छन् । भोलि ती मुलुकमा भाइरसको नयाँ भेरियन्ट उत्पन्न पनि हुन सक्छ, जुन विश्वभर थप तीव्रताका साथ फैलिन सक्छ । खोप वितरणलाई प्रभावकारी बनाउनका लागि बहुपक्षीय सहयोगको आवश्यकता हुन्छ । यही उद्देश्यलाई सहयोग पुर्याउन मेरो अध्यक्षता रहेको ‘द ल्यान्सेन्ट कोभिड–१९ आयोग’ले संयुक्त राष्ट्रसंघीय प्रणालीसँग सहकार्य गरिरहेको छ । 

खोप वितरणमा सबैभन्दा महत्वपूर्ण भूमिका खोपनिर्माता मुलुकको हुन्छ । खोपनिर्माता मुलुकहरू अमेरिका, युरोपेली संघका सदस्य, बेलायत, भारत, रुस र चीनले विपन्न मुलुकलाई पर्याप्त डोज खोप पुर्याउन सकिरहेका छैनन् । यो समस्या समाधान गर्न तिनले संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्नुपर्छ । सबै उच्च आययुक्त मुलुकका ५० प्रतिशतभन्दा बढी जनसंख्याले खोपको पूर्ण मात्रा पाइसकेका छन् । जबकि, अफ्रिकामा जम्मा ४ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाएका छन् । अफ्रिका र अन्यत्रका न्यून आययुक्त मुलुकमा कायम खोपको कमीले भविष्यमा ठूलो जोखिम निम्त्याउँछ । 

सन् २०२० अप्रिलमा संयुक्त राष्ट्रसंघले विपन्न मुलुकहरूलाई खोप दिनका लागि कोभ्याक्स कार्यक्रम गठन गर्यो । विपन्न मुलुकले समयमै कोभ्याक्सले दिने खोप पाउने आशा गरेका थिए । यद्यपि, कोभ्याक्स आफैँले आफूले चाहेको मात्रामा खोपको डोज किन्न सकेको छैन । सम्पन्न मुलुकले आफैँले गरेका वाचा पूरा नगर्दा कार्यक्रम प्रभावकारी देखिन सकेको छैन । अझ खोपनिर्माता मुलुकका सरकारले निर्यातमा कोटा लागू गरेका छन्, जसले कोभ्याक्सको उद्देश्यमा अवरोध गरिरहेको छ । नाफालाई मात्र जोड दिने खोपनिर्माता कम्पनीका सेयरहोल्डर यो व्यवस्थाबाट खुसी नै होलान् । तर, हामीले के बिर्सनु हुँदैन भने अफ्रिका र अन्य क्षेत्रका न्यून आययुक्त मुलुकमा देखिएको खोपको अभाव आफैँ समाधान हुँदैन । 

धनी देशले अहिले तेस्रो डोज वितरण गर्न सुरु गरेका छन् । उता, गरिब देशका उच्च जोखिमयुक्त जनसंख्या स्वास्थ्यकर्मी, वृद्धवृद्धा र गम्भीर रोग लागेकाहरूले खोपको पहिलो डोजसमेत पाउन सकेका छैनन् । केही खोपनिर्माता मुलुकले खोप प्रविधिमा प्याटेन्ट लगाउनुपर्ने कुरामा जोड दिइरहेका छन् । यसले पनि खोप निर्माण वृद्धि गर्ने लक्ष्यमा धक्का दिएको छ । खोप निर्माणको अनुसन्धानमा ठूलो रकम सरकारले बेहोरेका थिए । करदाताको पैसाको सहयोगमा निर्माण भएको खोपमाथि सर्वाधिकार माग्नु जनस्वास्थ्य नैतिकताभित्र पर्दैन । जबकि, अहिलेको महामारीको समयमा धेरैको ज्यान जोगाउनमा सबैको ध्यान हुनुपर्ने हो । 

खोपनिर्माता मुलुक अमेरिका, युरोपेली संघका सदस्य, बेलायत, भारत, रुस र चीनका सरकारले संयुक्त राष्ट्रसंघसँग सहकार्य गरेर विपन्न मुलुकलाई पर्याप्त डोज खोप पुर्याउने प्रयास गर्नुपर्छ । त्यसका लागि तिनले पाँच कदम तत्काल चाल्नुपर्छ । 

विश्व स्वास्थ्य संगठनले हरेक मुलुकमा खोप वितरणका लागि न्यूनतम लक्ष्य तोकेको छ । सो लक्ष्यमा यो महिनाको अन्त्यसम्म हरेक मुलुकका कम्तीमा १० प्रतिशत जनसंख्यालाई खोप लगाउने, २०२१ को अन्तिममा ४० प्रतिशतलाई खोप दिइसक्ने र सन् २०२२ को जुन महिनाको आखिरीमा ७० प्रतिशत खोप लगाउने भनिएको छ । तर, विद्यमान खोप वितरण व्यवस्थाले यो लक्ष्य हासिल हुनेछैन । विश्वव्यापी संकटको घडीमा खोपनिर्माता मुलुकका सरकारले निम्न कदम उठाउनु उचित हुन्छ । पहिले त खोपनिर्माता मुलुकले आफूले पाएको खोपका सम्पूर्ण अर्डर (माग) र तिनको मूल्यलाई सार्वजनिक गर्नुपर्छ । यस्तो पारदर्शिताले संयुक्त राष्ट्रसंघ र विभिन्न दाता सरकारलाई कम खोप पाएका मुुलुकबारे निर्णय गर्न सजिलो हुन्छ । 

दोस्रो, संयुक्त राष्ट्रसंघीय प्रणालीले सरकार तथा खोप कम्पनीको पूर्ण समर्थन लिएर हरेक न्यून आययुक्त मुलुकलाई खोप दिने समयतालिका तयार पार्नुपर्छ । यस्तो समयतालिका विश्व स्वास्थ्य संगठनले तयार पारेको समयतालिकाअनुरूप बनाउन ख्याल राख्नुपर्छ । विश्व स्वास्थ्य संगठन, कोभ्याक्स कार्यक्रम र युनिसेफजस्ता संयुक्त राष्ट्रसंघीय एजेन्सीले खोप पाउने मुलुकलाई खोप लिने वेलामा पनि महत्वपूर्ण सहयोग गर्न सक्छन् । तेस्रो, अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै जारी गरेको ६५० अर्ब डलरको स्पेसल ड्रइङ राइटलाई प्रयोगमा ल्याउनुपर्छ । उपलब्ध अन्य आपत्कालीन वित्तीय स्रोतलाई समेत उपयोग गरेर अल्पकालीन वित्तीय कमीले खोपको आपूर्तिमा अवरोध नपुर्याओस् भन्ने प्रत्याभूत गर्नुपर्छ । 

चौथो, खोपनिर्माता देशका सरकारले बौद्धिक सम्पत्ति अधिकारमाथिको हकदाबी छोड्न सहमत हुनुपर्छ । यो कार्य जनस्वास्थ्य सम्बन्धमा पहिलेदेखि कायम व्यापारिक सम्झौताअनुरूप नै हुन्छ । खोप प्रविधिमाथिको सर्वाधिकार खोल्दा ती प्रविधि अन्यसँग साझा गर्ने बाटो खुल्नेछ र विश्वभर खोपको निर्माण उलेख्य बढ्नेछ । हाल चिकित्सकीय परीक्षणमा रहेका आशालाग्दा खोपहरूले स्वीकृति पाउनासाथ तिनको तीव्र निर्माण र वितरणमा सहयोग पुग्ने गरी सरकारले तयारीसमेत गर्नुपर्छ । 

अन्तिममा सबै मुलुकका सरकारले तिनका जनतालाई खोपले मात्र कोरोना भाइरसको सामुदायिक विस्तार नरोक्ने स्पष्ट पार्नुपर्छ । कोरोना भाइरसको विस्तार नियन्त्रणका लागि मास्क लगाउने, भौतिक दूरी पालना गर्ने, संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने र बन्द ठाउँमा हुने भेलालाई नियन्त्रण गर्नुपर्छ । मुख्य कुरा, हामीले विश्वव्यापी खोप वितरणलाई बजारको शक्तिले गर्ने काममा मात्र छाड्न हुँदैन । यसलाई अत्यावश्यक विश्वव्यापी जन–कल्याणको विषयका रूपमा हेर्नुपर्छ । 

See More On

सुझावित समाचार