खोप लगाउने उत्कृष्ट रणनीतिबारे विभिन्न कोणबाट बहस चलिरहकै छ । बढी उमेरका मानिसलाई खोपको प्राथमिकतामा राख्नुपर्छ । किनकि, कोभिड–१९ ले हानि पुर्याउने सबैभन्दा खतरनाक समूह यही हो । अत्यावश्यक काम गर्ने श्रमिक पनि प्राथमिकतामा राख्नुपर्ने जनसंख्या समूह हो । किनकि, यो समूह गरिब हुने भएकाले उनीहरूको स्वास्थ्यस्थिति पहिलेदेखि नै नाजुक हुन्छ ।
जसले गर्दा ती रोगबाट चाँडै थलिने सम्भावना हुन्छ । अथवा, अस्पतालमा काम गर्ने सबैलाई खोप दिन आवश्यक छ ? चिकित्सा क्षेत्रमा रहेर पनि जो बिरामीको सम्पर्कमा आउँदैनन्, तिनलाई किन खोप दिनुपर्यो ? यस्तै–यस्तै धेरै विषयमा चलिरहेका बहसले रोकिने नाम लिएको छैन ।
बहसका यी सबै विषय सान्दर्भिक पनि छन् । थोरै खोपलाई धेरै प्रभावकारी बनाउने सबैभन्दा उत्कृष्ट मार्ग भेटिइहालेको छैन, तर हालको खोप वितरण दर निकै सुस्त देखिन्छ । खासमा निश्चित जनसंख्या समूहलाई खोपको प्राथमिकतामा राख्नेभन्दा पनि खोप छिटो वितरण गर्नेमा ध्यान दिनुपर्छ ।
खोप पाउने सबैभन्दा योग्य समूहमा मात्र ध्यान दिँदा खोपको वितरण सुस्त बनेको छ । प्राथमिकताको जटिलता तथा नोकरशाहीकरणले अमेरिकाका विभिन्न राज्यमा वितरण गरिएको चार करोड खोपमध्ये १.२ करोड डोज मात्र वितरण भएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले खोप निर्माण तथा वितरण विस्तार गर्ने बताएको पृष्ठभूमिमा यो खाडल खतरनाक साबित हुँदैन । विशेषतः अहिलेको भन्दा ५० प्रतिशत तीव्र गतिमा फैलिने नयाँ प्रजातिको भाइरसको आगमनको सन्दर्भमा हामीले झन् छिटो खोप लगाउन जोड दिनुपर्छ ।
खोपको विकासपछि हामीसँग महामारीविरुद्ध शक्तिशाली हतियार प्राप्त भएको छ । प्रत्येक खोप दिएसँगै थप एकजना व्यक्ति भाइरसको खतराबाट मुक्त हुन्छ । साथमा कोरोना भाइरस सार्ने एकजना नयाँ व्यक्ति पनि कम हुन्छ । खोपको प्राथमिकताको उद्देश्य न्यायपूर्ण वितरण नै होला, तर विगतका यस्तै कार्यक्रमको अनुभव हेर्ने हो भने धेरै चिनजान भएका, फुर्सदमा रहेका र प्रक्रियाबारे जानकार मानिसले सबैभन्दा बढी फाइदा लिन सक्ने देखिन्छ । जस्तो, अस्पतालको बोर्ड सदस्यले समेत चिकित्सकीय क्षेत्रसँग जोडिएको भनेर खोप लगाउन पाएका खबर आएका छन् ।
प्राथमिकतामा परेकालाई मात्रै खोप लगाउने हो भने धेरै खोप प्रयोगहीन भएर फ्रिजमा थन्किने अवस्था आउन सक्छ ।
यस्ता खबरले आक्रोश बढाइरहेको छ । उता, न्युयोर्कको एक स्थानीय स्वास्थ्य केन्द्रले वरपरका केही मानिसलाई खोप लगाएको खबर आएपछि गभर्नर एन्ड्रयु कुओमाले प्राथमिकताभन्दा बाहिरका मानिसलाई खोप लगाइएमा जरिवाना र लाइसेन्स खोसिने बताए ।
यस्ता कडाइ लागू भएको ठाउँमा प्राथमिकतामा परेका मानिसले खोप लगाएपछि खोप केन्द्र हात बाँधेर बसेको देखिएको छ । प्राथमिकतामा परेकालाई मात्रै खोप लगाउने हो भने धेरै खोप प्रयोगहीन भएर फ्रिजमा थन्किने अवस्था आउँछ । यो खोपको तीव्र वितरणमा अवरोध बनेर आउँछ ।
वास्तवमा मुख्य ध्यान प्राथमिकता समूहलार्ई दिने तर अरू आएमा तिनलाई पनि खोप लगाउने रणनीति अहिलेका लागि बढी उपयोगी रणनीति साबित हुनेछ । खोपका प्राथमिकतासम्बन्धी नियम जति साधारण राख्यो, उति प्रभावशालीहरूले जालझेल गर्ने सम्भावना कम हुन्छ । जस्तो, अमेरिकाको सिडिसीले ६५ वर्षमाथिका सबैलाई खोप दिन सक्ने भनेको छ । व्यक्तिको परिचयपत्र देखाएर उसको उमेर निश्चित हुने भएपछि अरूले यसमा जालझेल गर्छन् ।
यसको अर्थ हामीले समतासम्बन्धी चिन्तालाई बेवास्ता गर्नुपर्छ भन्ने होइन । समताका मुद्दालाई सम्बोधन गर्दै गर्दा खोपको पहुँचलाई पनि ध्यान दिनुपर्छ भन्ने हो । जस्तो, अत्यावश्यक सेवामा काम गरिरहेका अश्वेत अमेरिकी तथा हिस्प्यानिक जनसंख्या कोरोना संक्रमणबाट धेरै प्रभावित भएको तथ्यांकले बताउँछ ।
यो जनसंख्या समूहलाई समता प्रदान गर्ने हो भने हामीले उनीहरू बसोवास गर्ने समुदायमै जानुपर्छ । अन्यथा, उनीहरूले खोप पाउने प्रक्रियाको मार्ग पार गर्ने क्रममा विभिन्न संरचनात्मक अवरोध पार गर्नुपर्ने हुन्छ, जुन प्रतिस्पर्धामा उनीहरूले हार खानेछन् । अफ्रिकी–अमेरिकी तथा ल्याटिनोको बस्ती वा कार्यस्थलमा खोप क्लिनिक निर्माण गरिँदा उमेर सीमा पनि ४० वा ५० बनाउन सकिन्छ । उमेर सीमालाई खोपको उपलब्धताका आधारमा हिसाब गर्न सकिन्छ ।
(जेनेप टुफेक्सी युनिभर्सिटी अफ नर्थ क्यारोलिनाकी एसोसिएट प्रोफेसर हुन्) न्युयोर्क टाइम्सबाट