सञ्चार गृहका गेटमा शंकास्पद रूपमा गाडी राख्नेलाई उन्मुक्तिको प्रयास : ट्राफिकले ५०० को चिट काटेर गाडी जिम्मा लगायो, प्रहरीले अनुसन्धान थालेन

संसदमा उठ्यो प्रश्न : मिडिया तर्साउनेलाई कारबाहीको माग

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

सञ्चार गृहका गेटमा शंकास्पद रूपमा गाडी राख्नेलाई उन्मुक्तिको प्रयास भएको छ । सोमबार बिहानैदेखि कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइनखबरको कार्यालयका मूलगेट नै छेकिने गरी शंकास्पद रूपमा राखिएका गाडी दिनभर पनि ट्राफिक प्रहरीले नहटाइदिएपछि अपराह्न सञ्चार गृह आफैँले भाडामा क्रेन बोलाएर उठाउनुपरेको थियो । त्यसपछि मात्रै ट्राफिकले गाडीधनी बोलाएर ५०० को चिट काटेर जिम्मा लगाएको थियो । तर, उनीहरूले किन यस्तो हर्कत गरे भनेर अनुसन्धान गर्नुपर्नेमा मंगलबारसम्म पनि प्रहरीले कुनै चासो दिएको छैन । ती गाडी सत्तारूढ रास्वपामै आबद्धदेखि सत्तानिकटका व्यक्तिहरूका भएको विवरण सार्वजनिक भइसकेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले अनुसन्धानका लागि आफूकहाँ कतैबाट फाइल नआएको जवाफ दिए । ‘हामीले नियन्त्रणमा लिएका सबै गाडी सुरक्षितसाथ ट्राफिक प्रहरी कार्यालय पठाएका हौँ । कारबाही गर्ने काम उहाँहरूले नै गर्नुभएको होला । थप अनुसन्धान गर्न भन्दै हामीकहाँ कसैले फाइल पठाएजस्तो लाग्दैन ।’

प्रहरी स्रोतका अनुसार अनधिकृत तवरले पार्किङ गरिएका गाडी रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय परिसरमा पुर्‍याएलगत्तै गाडीधनीलाई जिम्मा लगाउन ट्राफिक प्रहरीलाई गृह मन्त्रालयको निर्देशन आएको थियो । ‘कार्यालय परिसरमा गाडी आइपुगेलगत्तै गृहको फोन आयो, गाडी लिन मेरो मान्छे आउँछ, जिम्मा लगाएर पठाउनू भनिएको थियो । निर्देशन पालना गर्नैपर्‍यो,’ एक प्रहरी अधिकारीले भने, ‘आदेशअनुसार न्यूनतम कारबाहीस्वरूप चिट काटेर धनीलाई गाडी जिम्मा लगायौँ ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्ले अनधिकृत तबरले गाडी पार्किङ गर्ने कार्यमा संलग्नविरुद्ध कारबाही गर्ने काम ‘लोकल युनिट’को भएको भन्दै पन्छिए । ‘सञ्चार गृहको मूलगेट नै छेक्ने गरी अज्ञात समूहले गाडी पार्क गरेको विषयमा अनुसन्धान र कारबाही गर्ने काम लोकल युनिटको हो । उनीहरूले यस्ता काम गरिरहेका होलान् । जरिवाना लिने काम भएकोसम्म मैले पनि सूचना पाएको छु, बाँकी तथ्य उहाँहरूसँगै बुझ्ने हो कि?’ 

पछिल्ला दिन सुकुमवासीविरुद्ध भइरहेका अत्याचार र ह्विल लकको विवादपछि गणेश नेपालीले गरेको आत्मदाहका विषयमा सञ्चारमाध्यमले सरकारमाथि प्रश्न गरेका थिए । मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्न यस्तो हर्कत गर्नेमाथि अनुसन्धान गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने नेपाल पत्रकार महासंघको माग छ । ‘सञ्चार गृहको गेटमा गरिएको पार्किङ र अन्यत्र सार्वजनिक ठाउँमा गरिएका पार्किङ एउटै विषय होइनन् । यसलाई ट्राफिक नियम उल्लंघन गरेझैँ मानेर मात्र सामान्यीकरण गरिनुहुँदैन । प्रहरीले घटनाको अनुसन्धान गरेर संलग्नविरुद्ध कारबाही गर्नुपर्छ,’ महासंघ अध्यक्ष निर्मला शर्माले भनिन्, ‘मिडियामाथि शंकास्पद रूपमा गरिएको अवरोधका विषयमा कुनै अनुसन्धान नै नगरी दसी प्रमाण फिर्ता गर्नु गम्भीर विषय हो । यसमा संसदीय छानबिनकै जरुरी छ ।’

सुविधानगरस्थित कान्तिपुर मिडिया हाउसको गेटअगाडि सोमबार बिहान करिब ६ बजे नै बा.प्र.०१–०३४ च ८४८० नम्बरको गाडी रोकिएको थियो । सुरक्षागार्डले नरोक्न भन्दाभन्दै गेटसामुन्ने गाडी रोकेर चालक बाटो लागेका थिए । शंकास्पद घटना भएपछि कान्तिपुर प्रशासनले प्रहरीलाई फोन गरेको थियो । केहीबेरमै प्रहरी वृत्त तिनकुने, प्रहरी प्रभाग कोटेश्वर र ट्राफिक प्रहरीका हाकिम घटनास्थलमा पुगेका थिए । कान्तिपुर प्रशासनले गाडी हटाइदिन भनेपछि प्रहरीका हाकिम एकाएक गायब भएका थिए । अपराह्नसम्म पनि गाडी नहटाइदिएपछि कान्तिपुरले नै क्रेनको व्यवस्था गरेर हटाउने प्रक्रिया अघि बढाएको थियो ।

कान्तिपुरको गेटअगाडि राखिएको उक्त गाडी रवि जैसवालले प्रयोग गर्दै आएको पुष्टि भइसकेको छ । उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले केही समयअघि केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा सदस्य मनोनीत गरेका थिए । पायोनियर मोटोकर्पको नाममा दर्ता भएको गाडी २१ जेठ ०८२ मा चोभार भन्सारबाट पास गरिएको खुलेको छ । उक्त विद्युतीय गाडीको ऋणी एसटी मोटर्स र सानिमा बैंक रहेको पनि देखिएको छ ।

त्यसैगरी, अनलाइनखबरको गेटअगाडि पनि बा.१२ च ८५४५ नम्बरको गाडी शंकास्पद रूपमा राखिएको थियो । प्रहरीलाई जानकारी गराउँदा पनि चार घण्टासम्म नहटाइदिएपछि भाडाको क्रेन मगाएर हटाइएको अनलाइनखबरले जनाएको छ । यो गाडी गोकर्णेश्वरनिवासी डा. सुनील पौडेलको नाममा रहेको खुलेको छ । तर, पछिल्ला दिन सुनीलका दाइ सुजन पौडेलले प्रयोग गर्दै आएका थिए । सुजन रास्वपामा सक्रिय रहेको स्थानीयहरू बताउँछन् । मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा यसरी नै पार्किङ गरिएको बा.१०च १२५५ नम्बरको गाडी पनि भाडाकै क्रेनबाट हटाउनुपरेको थियो । उक्त गाडी राजीवकाजी श्रेष्ठको नाममा रहेको खुलेको छ ।

रास्वपा सभापति रवि लामिछाने भन्छन्– छानबिन हुनुपर्छ, कारबाही गर्नुपर्छ
जे भयो, त्यो गलत हो । यो घटनामा रास्वपाकै नेता–कार्यकर्ता वा जो भए पनि कारबाही हुन्छ । पार्टीले सबैभन्दा पहिले विज्ञप्ति नै निकालेर भनिसक्यो– यो गलत हो, छानबिन हुनुपर्‍यो, कारबाही हुनुपर्‍यो । सरकारका प्रवक्ता सस्मित पोखरेल भन्छन्– गाडी तेर्स्याउनेको खोजी भइरहेको छ । सञ्चार गृहका गेटमा गाडी तेर्स्याउनेलाई कारबाही हुन्छ । प्रहरीले संलग्नहरूको खोजी गरिरहेको छ । जुनसुकै पार्टीको भए पनि हुनुपर्ने सजाय हुन्छ ।

संसद्मा उठ्यो प्रश्न : मिडिया तर्साउनेलाई कारबाहीको माग

‘सत्ताकै संरक्षण’मा मिडिया हाउसहरूका कार्यालयअगाडि अनधिकृत गाडी राखेर तर्साउने काम भएको भन्दै संसद्मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

कांग्रेस सचेतक निस्कल राईले गणेश नेपालीको आत्मदाहमा प्रश्न उठाउने प्रतिपक्षी दल, सञ्चारमाध्यम, सचेत नागरिक समाज तथा सर्वसाधारण नागरिकलाई सरकारले प्रतिशोध साध्न अघि बढेको टिप्पणी गरे । ‘१८२ सिटको बहुमतमाथि किन प्रश्न गरिस् भन्दै सरकार हाम्रा सभापतिज्यूको घरअगाडि गाडी लगेर पार्क गर्छ, त्यो पनि प्रहरी प्रशासनकै सहयोगमा । शंकास्पद लागेपश्चात् समुदायले प्रहरीबाट शान्ति सुरक्षा खोज्छ । विडम्बना, प्रहरी मूकदर्शक बन्छ र दिनभरि गाडी पार्कमै छोड्छ, बाटो जाम गराउँछ । आतंक सिर्जना गर्छ । समुदायले गाडीको मालिक चाहियो भनेपछि हतारमा प्रहरीले ‘हामी मिलाउँछौँ’ भन्दै गाडी लिएर जान्छ,’ राईले भने ।

आफ्ना सभापति गगन थापाका साथै कान्तिपुर, अनलाइनखबरलगायत सञ्चारमाध्यमअगाडि पनि गाडी छाडेको र त्यो पनि सत्तारूढ दलकै नेताको गाडी भएको उनले आरोप लगाए । ‘होल्डिङ सेन्टरमा सुकुमवासीमाथि भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस् वा सडकमा गाडी छोडेर सिर्जना गरिएको यो त्रास होस् । तीनवटै घटनाको धागो एउटै ठाउँमा गएर जोडिन्छ, प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति,’ उनले भने ।

एमाले सांसद गणेशसिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यालय र घरमा सवारीसाधन तेर्स्याएर मानसिक त्रास फैलाउने काम भएको बताए । ‘हेर्दा यो सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवातको झझल्कोका रूपमा याद आएको छ,’ उनले भने, ‘सरकारले यो कार्यमा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ ।’

नेकपाका रमेशकुमार मल्लले राज्य संरक्षित मान्छेबाट न्युरोडमा अस्तव्यस्त पार्किङ तथा मिडिया हाउसअगाडि र विपक्षी दलका सभापतिको घरअगाडि गाडी राखिएको देखिएको टिप्पणी गरे । ‘पाँच सय रुपैयाँ चिट काटेर उनीहरूलाई छोडेको सुनियो । राज्य आतंक आफैँले सिर्जना गर्ने, आफैँले त्यस्ता मान्छे परिचालन गर्ने, उनीहरूलाई पाँच सयको चिट काटेर घर पठाउने, यो कुनै हालतमा हुन सक्दैन । यिनलाई लाखौँको जरिवाना तिराउनुपर्दछ र ती गाडीहरू जफत गर्नुपर्दछ,’ उनले भने । सत्तारूढ दलले पनि यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘त्रास र सन्त्रासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि सरकार सञ्चालकको टाउकोमा त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ,’ उनले भने ।

राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले घरको अगाडि पार्किङ गराएर राज्य आतंक सिर्जना गरिएको बताए । ‘घरको अगाडि पार्किङ गराएर जसरी आज राज्य आतंक सिर्जना गरिएको छ । यो इतिहासमा एउटा कालो अक्षरले लेखिनेछ,’ उनले भने ।

सत्तारूढ रास्वपाका सचेतक भन्छन्– सञ्चारमाध्यमलाई तर्साउने कुत्सित प्रयास गरियो
सत्तारूढ रास्वपा सचेतक प्रकाशचन्द्र परियारले गाडी राखेर सञ्चारमाध्यमलाई तर्साउने कुत्सित प्रयास भन्दै भर्त्सना गरेका छन् । ‘हिजो राजधानीका अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडीहरू पार्किङ गरेर भौतिक आवातजावत ठप्प पारी सञ्चारमाध्यमलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, भर्त्सना गर्दछु,’ प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सत्यसँग डराउनेहरू यस्तो हर्कत गर्छन् । तर, सत्यलाई ढाकछोप गर्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो ।’ उनले पत्रकारिता थुप्रै आँधीबेहरी व्यहोरेर यहाँसम्म आइपुगेको बताए । ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्थे । त्यतिवेला नझुकेको नेपाली सञ्चारमाध्यम आज सडकमा दुई–चार गाडी तेर्स्याएर तर्सिन्छ होला र ?’ उनले भने । उनले सबै सञ्चारगृहलाई निर्वाध काम गर्न पाउने सुरक्षित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

रास्वपा सभापति रवि लामिछानेले मिडिया हाउसअगाडि गाडी राख्ने घटनालाई गम्भीरतापूर्वक लिएको बताए । ‘यो अस्वाभाविक भयो । पार्टीले विज्ञप्ति निकालिसक्यो । छानबिन हुनुपर्छ । कारबाही हुनुपर्छ । हामीले भनेका छौँ, हामी त्यसमा अडिग छौँ । यो घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ । रास्वपाकै नेता–कार्यकर्ता रहेछन् भने पनि कारबाही हुन्छ । जो भए पनि कारबाही हुन्छ,’ उनले भने ।

सुझावित समाचार