दुईदिने बिदा स्वास्थ्य क्षेत्रमा पूर्ण लागू नहुने

आलोपालो बिदा बसेर अस्पताल सञ्चालन गर्नुपर्ने

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य क्षेत्रमा भने उक्त व्यवस्था पूर्ण रूपमा लागू नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले संघीय र प्रादेशिक अस्पताललाई आलोपालो बिदा मिलाएर ओपिडी सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

मन्त्रालयले डाक्टर तथा कर्मचारीलाई सातामा दुई दिन बिदा पर्ने गरी पालो मिलाएर बिदा बस्न अनुरोध गरेको छ । तर, अस्पतालका ओपिडी तथा उपचार सेवा भने लगातार दुई दिन बन्द नगर्न स्पष्ट निर्देशन दिइएको छ । लगातार दुई दिन सेवा बन्द हुँदा बिरामी मारमा पर्ने भन्दै स्वास्थ्यकर्मीले पहिलेदेखि नै यस्तो व्यवस्था अस्पतालमा लागू गर्न नहुने बताउँदै आएका छन् । यसको सट्टा उनीहरूले अतिरिक्त कामका लागि थप सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

यसअघि शनिबार मात्र बिदा हुँदा पनि आइतबार सरकारी अस्पतालमा बिरामीको अत्यधिक चाप देखिने गरेको थियो । अब दुई दिन बिदा दिँदा उपचार सेवा प्रभावित हुने र सोमबार अत्यधिक भिड हुने सम्भावना भएकाले आइतबार पनि पालो मिलाएर ओपिडी सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

‘स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको हो । अस्पतालहरूले आइतबार बिरामीको चाप र कार्यभारअनुसार ओपिडी सञ्चालन गर्नुपर्नेछ । सो दिन खटिने कर्मचारीले अन्य दिन बिदा मिलाउन पाउनेछन्, साथै सट्टा बिदाको व्यवस्था पनि गर्न सकिनेछ । यो नियम संघीय तथा प्रादेशिक अस्पतालमा लागू हुनेछ,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, ‘लगातार दुई दिन सेवा बन्द गर्दा बिरामीलाई गाह्रो पर्छ । त्यसैले आइतबार पनि पालो मिलाएर सेवा सञ्चालन गर्न भनेका हौँ । ठुला अस्पतालमा बिरामीको चाप धेरै हुन्छ ।’

हाल वीर अस्पतालमा दैनिक औसत करिब एक हजार पाँच सय बिरामी ओपिडी सेवाका लागि आउने गर्छन् । त्रिवि शिक्षण अस्पतालमा करिब नौ सय, निजामती अस्पतालमा ४५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजार दुई सय, गंगालाल हृदयरोग अस्पतालमा ४५० र प्रसूतिगृहमा करिब ७५० बिरामी दैनिक आउने गरेका छन् । यसबाहेक शल्यक्रिया तथा आपत्कालीन सेवामा आउने बिरामीको संख्या पनि उल्लेखनीय हुने गर्दछ ।

सातामा दुई दिन सार्वजनिक बिदा हुँदा ओपिडीदेखि शल्यक्रियासम्मका सेवामा असर पर्ने अस्पतालहरूले बताएका छन् । काठमाडौंका संघीय अस्पतालहरूमा देशभरबाट बिरामी आउने भएकाले दुई दिन सेवा बन्द हुँदा लामो प्रतीक्षा र भिड व्यवस्थापनमा समस्या हुने देखिएको छ । यही कारण मन्त्रालयले आइतबार पनि सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । 

यता स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीले भने आइतबार ओपिडी सञ्चालन गर्दा सो दिनको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरेका छन् । ‘बिदाको दिन काम गर्नुपर्ने हो भने सरकारले त्यसअनुसारको सुविधा दिनुपर्छ, अन्यथा काम गर्न सकिँदैन,’ वीर अस्पतालका एक कर्मचारीले भने, ‘अन्य क्षेत्रमा दुई दिन बिदा दिइन्छ, तर जीवनरक्षासँग जोडिएको क्षेत्रमा खटिने स्वास्थ्यकर्मीलाई विनापारिश्रमिक काम गर्न भन्न मिल्दैन ।’ वीर अस्पतालका कार्यकारी निर्देशक डा. दिलीप शर्माले पनि बिदाको दिन काम गर्दा स्वास्थ्यकर्मीलाई प्रोत्साहन आवश्यक हुने बताए । यद्यपि, मन्त्रालयको निर्देशन पालना गर्ने उनले जनाए । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू पनि आइतबार सेवा सञ्चालन गर्नुपर्ने निर्णयप्रति असन्तुष्ट देखिएका छन् । 

डा. समीर अधिकारी, सहप्रवक्ता, स्वास्थ्य मन्त्रालय
स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको हो । अस्पतालहरूले आइतबार बिरामीको चाप र कार्यभारअनुसार ओपिडी सञ्चालन गर्नुपर्नेछ । सो दिन खटिने कर्मचारीले अन्य दिन बिदा मिलाउन पाउनेछन्, साथै सट्टा बिदाको व्यवस्था पनि गर्न सकिनेछ । यो नियम संघीय तथा प्रादेशिक अस्पतालमा लागू हुनेछ । लगातार दुई दिन सेवा बन्द गर्दा बिरामीलाई गाह्रो पर्छ । त्यसैले आइतबार पनि पालो मिलाएर सेवा सञ्चालन गर्न भनेका हौँ । 

सुझावित समाचार