मंगलबार : १० बजेसम्मका १० मुख्य खबर

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

कांग्रेसमा वार्ता प्रयास जारी, विशेष महाधिवेशनमा बुधबार मात्र मतदान हुने 
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बुधबार मात्र निर्वाचन हुने भएको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले आज नभ्याइने भएकाले बुधबार मात्र मतदान हुने बताए।  यसअघिको कार्यतालिकाअनुसार आज बेलुका ९ बजेदेखि मतदान गर्ने कार्यक्रम थियो। आज उम्मेदवारी दर्ता भइरहेको छ। 

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीद्वयका दुवै प्रतिवेदन पारित
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वयले पेस गरेका दुवै प्रतिवेदन पारित भएका छन्। समूहगत छलफलबाट टोली नेताले निष्कर्ष सुनाएपछि मंगलबार बन्दसत्रले दुवै प्रतिवेदन पारित गरेको हो। भिओआइपीमा प्रयोग हुने सामानसहित सिआइबीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो। 

ठमेलमा सिआइबीको छापा, सातजना चिनियाँ पक्राउ 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ठमेलबाट सातजना चिनियाँलाई पक्राउ गरेको छ। ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी सिआइबीले सातजना चिनियाँलाई पक्राउ गरेको हो। कल बाइपासको अपराधमा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।  

तामाको तार बेचेको आरोपमा अख्तियारद्वारा तत्कालीन प्रमुखसहित चारविरुद्ध मुद्दा
तामाको तार बेचेर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालिन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्लेसँगै कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि काठमाडौँका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमालका विरुद्ध आयोगले मंगलबार जनही १३ लाख ९३ हजार ६ सय तीन रुपैयाँ तीन पैसा बिगो र कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।

भूपेन्द्र बडुवाल हत्याकाण्डमा १३ जना दोषी ठहर
कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौहाराका भूपेन्द्र बडुवालको हत्या घटनामा कैलाली जिल्ला अदालतले १३ जनालाई दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले ६ जनालाई जीवित रहेसम्म (आजीवन) र सातजनालाई जन्मकैदको फैसला गरेको हो

सभामुख घिमिरे भन्छन् – विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुने सम्भावना छ
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हाल विघटन भएको प्रतिनिधि सभा पुनःस्थापित हुन सक्ने सम्भावना रहेको बताएका छन्। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला उनले अदालतबाट सकारात्मक फैसला आउने अपेक्षा व्यक्त गरेका हुन्।

हिमाचल प्रदेशको सोलानमा आगलागी र ग्यास सिलिन्डर विस्फोट : ९ नेपालीसहित १० जनाको मृत्यु
भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की उपमण्डल, पुरानो बस स्ट्यान्ड क्षेत्रमा सोमबार राति भएको आगलागी तथा ग्यास सिलिन्डर विस्फोटमा ९ जना नेपाली नागरिकसहित १० जनाको ज्यान गएको छ। प्राप्त जानकारीअनुसार रातको समयमा एक पसलमा अचानक आगलागी हुँदा त्यहाँ रहेका ग्यास सिलिन्डरहरू विस्फोट भएका थिए। विस्फोट अत्यन्तै शक्तिशाली भएकाले घटनास्थलमा ठूलो क्षति पुगेको र शव संकलन गर्न कठिनाइ भइरहेको छ।

विश्वकपअघि नेपालले श्रीलंका र भारतमा दुई चरणमा खेलहरू खेल्ने 
टी–२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा तयारी तथा अभ्यास खेल खेल्ने भएको छ ।  विश्वकपको तयारीस्वरूप श्रीलंका र भारतमा छुट्टाछुट्टै अभ्यास खेलका साथै प्रतियोगिता पनि हुन लागेको हो। श्रीलंका ‘ए’ सँग जनवरी २०, २२ र २४ मा टी–२० प्रतिस्पर्धा हुने भएको छ। त्यसअघि १९, २१ र २३ जनवरीमा श्रीलंकामै तीनवटा अभ्यास खेल हुने नेपाल क्रिकेट संघले जनाएको छ। 

डेढ वर्षपछि त्रिशूलीमा भेटियो सिमलताल दुर्घटनाको गणपति डिलक्स बस
चितवनको भरतपुर–२९ सिमलतालमा डेढ वर्षअघि त्रिशूली नदीमा बेपत्ता भएको बसमध्ये एउटा बसको अवशेष फेला परेको छ। गणपति यातायातको गणपति डिलक्स बस भएको पुष्टि सशस्त्र प्रहरी बलले गरेको हो । आइतबार बिहान नदीकिनारमा बसको अवशेष देखिएपछि उत्खनन सुरु गरिएको थियो। लगातार तीन दिनसम्म गरिएको खोजी तथा उत्खननको क्रममा मंगलबार बसको पहिचान खुलेको हो।

नेपाली सेनालाई एक अर्ब ९४ करोड चुनावी बजेट 
आसन्न निर्वाचनमा नेपाली सेनाले एक अर्ब ९४ करोड रुपैयाँ बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले सेनाका लागि बजेटको सुनिश्चितता दिएको हो।  त्यसमध्ये एक अर्ब ९४ करोड चालू र बाँकी चार करोड रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको हो। नेपाली सेनाले निर्वाचनका लागि तीन अर्ब ५२ करोड रुपैयाँ बजेट माग गरेको थियो। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना निर्वाचनमा प्रहरीको सहयोगीको रूपमा खटिनेछ । निर्वाचनको तेस्रो घेरामा रहेर सेनाले निर्वाचनमा सघाउनेछ ।
 

सुझावित समाचार