प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हाल विघटन भएको प्रतिनिधि सभा पुनःस्थापित हुन सक्ने सम्भावना रहेको बताएका छन्। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला उनले अदालतबाट सकारात्मक फैसला आउने अपेक्षा व्यक्त गरेका हुन्।
मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् विघटन संविधानको मर्मविपरीत गरिएको दाबी दोहोर्याए। उनका अनुसार संसद् भंग गर्ने निर्णयले संविधानलाई जबरजस्ती ‘लिकबाहिर’ धकेलिएको छ।
सभामुख घिमिरेले संविधान र कानुनले तोकेको आफ्नो कार्यकाल आगामी फागुन ५ गतेसम्म कायम रहने स्पष्ट पार्दै सोही दायित्वअनुसार आफूले जिम्मेवारी सम्हालिरहेको बताए। भदौ २७ गते राति करिब ११ बजे संसद् बलपूर्वक विघटन गरियो, उनले भने, “तर संविधानअनुसार मेरो पदीय अवधि बाँकी रहेकाले आम निर्वाचन तोकिएको मिति (फागुन २१) भन्दा अगाडि फागुन ५ गतेसम्म सभामुखको हैसियतमा रहनुपर्ने हुन्छ। साथै संसद् पुनःस्थापनाको सम्भावना पनि अझै जीवित छ।
आगामी निर्वाचनमा सहभागी हुने वा नहुने विषयमा भने सभामुख घिमिरेले अहिले नै निर्णयमा पुग्न नसक्ने बताए। पदीय जिम्मेवारीका कारण आफू त्यस विषयमा स्पष्ट निष्कर्षमा नपुगेको उनको भनाइ थियो।