रौतहट/ बैंक तथा इ–सेवाको कर्मचारी हुँ भन्दै अनलाइनबाट केवाइसी अपडेट गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा गौर नगरपालिकाबाट तीनजना पक्राउ परेका छन्।
भारत बिहारकाे सीतामढी जिल्ला बैरगनिया घर भई गौर– ३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल र २२ वर्षीया सलोनीकुमारी सोनी तथा गौर–५ बस्ने १८ वर्षीय नितेश कुशवाहालाई प्रहरीले २३ असोजमा पक्राउ गरेको हो।
उनीहरूले विभिन्न बैंक तथा इ–सेवाका कर्मचारी हुँ भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गरी मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटिपीलगायतका बैंकिङ विवरण प्राप्त गर्ने गरेको प्रहरीले जनाएको छ। त्यसपछि सेवाग्राहीको बैंक तथा वालेट खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली रुपैयाँ एक लाख ६२ हजार २१०, भारतीय रुपैयाँ तीन हजार २३६, मोबाइल फोन ७ थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटिएम कार्ड ३ थान र चेक २ थान बरामद भएको छ।
प्रहरीले प्रभु बैंकको १६ हजार रुपैयाँको र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक बरामद गरेको हो। यसका साथै चेकबुक, डायरी, कापी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका पर्चालगायतका सामग्रीसमेत बरामद भएको छ।
हालसम्म केवाइसी अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुल्न आएको छ। पक्राउ परेका तीनैजनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।