काठमाडाैं/कांग्रेसको नयाँ कार्यसमितिका लागि पाँच दिनदेखि मतगणना भइरहेको छ । २३ असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भएलगत्तै सुरु भएको हो । हालसम्म सभापति, उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । सहमहामन्त्रीको अन्तिम परिणाम आउने क्रम सुरु भएको छ । सहमहामन्त्रीमा खुला दुईसहित नौ क्लस्टरबाट ११ जना निर्वाचित हुनेछन् ।
खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । मंगलबार सार्वजनिक खुलातर्फ सहमहामन्त्रीको अन्तिम परिणामअनुसार अन्य सातजनालाई पछि पर्दै खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन् । खतिवडा निवर्तमान सभापति शेरबहादुर देउवा समूह छाडेर महाधिवेशनमा सहभागी भएका हुन् । उनले दुई हजार ९१० मत ल्याएका छन् । उनी गत पुसको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । १४औँ महाधिवेशनमा खतिवडा केन्द्रीय सदस्य थिए ।
सभापति गगन थापानिकट शिवाकोटीले सहमहामन्त्रीमा खतिवडापछि दोस्रो लोकप्रिय मत प्राप्त गरे । उनले दुई हजार १७३ मत ल्याए । प्रेस युनियनको महासचिव छाडेर पार्टी राजनीतिमा प्रवेशका गरेका शिवाकोटी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सहमहामन्त्रीमा नौजना उम्मेदवार थिए ।
सहमहामन्त्री महिलातर्फ एक पदका लागि भएको निर्वाचनमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । उनले पाँच हजार ११६ मत प्राप्त गर्दा प्रत्याशी नानुमैया बास्तोलाले जम्मा एक हजार ५५४ मत प्राप्त गरिन् ।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । चार प्रतिस्पर्धीलाई पछि पार्दै शाही निर्वाचित भएका हुन् । देउवा पक्ष छाडेर शाही महाधिवेशनमा सहभागी भएका थिए । जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट उम्मेदवार थिए । आदिवासी जनजातितर्फ बहादुरसिंह लामा निर्वाचित भएका छन् । अन्य चारजना प्रत्याशीलाई पछि पार्दै लामा निर्वाचित भएका हुन् । विशेष महाधिवेशनबाट पनि लामा नै सहमहामन्त्री थिए । १५औँ महाधिवेशनमा लामासहित ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्तमान सिंह मास्के उम्मेदवार थिए ।
खसआर्य, मधेशी, दलित, थारू, मुस्लिम र अल्पसंख्यक/अपांगतातर्फको मतगणना हुँदै छ । खसआर्यतर्फ मनोजमणि आचार्य, जगदीश्वरनरसिंह केसी, दिनेश कोइराला र शुभराम बस्नेत उम्मेदवार छन् ।
मधेशीतर्फ अजयकुमार चौरसिया, अभिषेकप्रताप साह, किरण यादव, नगिना यादव, मनीषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन साह उम्मेदवार छन् । दलिततर्फ प्रकाश स्नेही, नरेन्द्र पासवान र मानबहादुर नेपाली उम्मेदवार छन् । थारूतर्फबाट योगेन्द्र चौधरी, तेजुलाल चौधरी र सुरेन्द्र चौधरी उम्मेदवार छन् । मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. फिरदोश आलम उम्मेदवार छन् । अपांगता/अल्पसंख्यकतर्फ आङगेलु शेर्पा, नगेन्द्र कुमाल र बाबुकृष्ण सापकोटा उम्मेदवार छन् ।
केन्द्रीय सदस्य विनिता खड्काको नतिजा ‘होल्ड’ मा
कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा ‘होल्ड’ मा राख्ने भएको छ । उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परेर पनि उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जनाएको छ ।
१५ जना निर्वाचित हुनुपर्ने महिला खुला कोटामा
खड्काको नतिजा रोकिएपछि हाललाई १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरिएको छ । खड्काले दुई हजार ८६६ मत प्राप्त गरेकी थिइन्, जुन निर्वाचित हुन पर्याप्त मत संख्या हो । तर, कानुनी प्रक्रियाको टुंगो नलागेसम्म उनको नतिजा औपचारिक रूपमा सार्वजनिक नगरी होल्डमै राख्न पार्टीका उच्च पदाधिकारीले आग्रह गरेपछि समितिले होल्ड राखेको हो ।
केन्द्रीय सदस्य खुला महिलामा संसदीय दलको प्रमुख सचेतकसमेत रहेकी बासना थापाले सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गरिन् । थापासँगै उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, विनिता खड्का, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सिर्जना अधिकारी र मुना भुसाल निर्वाचित भएका छन् । यसैगरी, चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापामगर, गंगा दाहाल र उमा दाहाल निर्वाचित भएका छन् । केन्द्रीय सदस्य खुला महिला १५ जनाका लागि २८ जना प्रतिष्पर्धामा थिए । नेपाली जनसम्पर्क समितितर्फबाट सीता सापकोटा, चन्दा अधिकारी, विद्याभूषण कार्की, जितेन्द्रविक्रम शाही, पुरुषोत्तम खनाल, बालकृष्ण पाँण्डे र डा. बलराम श्रेष्ठ निर्वाचित भएका छन् ।