बुधबार १० बजेसम्मका प्रमुख १० खबर

बुधबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

दसैँले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यस वर्षको बडादसैँले नेपाली समाजमा एकता, सदभाव र आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। विजयादशमी २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विपत्ति र शोकका बिच मनाइँदै गरेको यस पर्वले नागरिकमा नयाँ ऊर्जा प्रदान गर्ने बताएका हुन्।

सभापति लामिछानेले हालैको विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले विपत्तिका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको दुःखद अवस्थाप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपतिद्वारा शुभसाइतमा दसैँको टीका र जमरा ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैँको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

टीका ग्रहणपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमै टीका र जमरा लगाइदिएका छन्।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार दसैँको परम्पराअनुसार राष्ट्रपति पौडेलले परिवारका सदस्यहरूसँग टीका तथा जमरा ग्रहण गरी पर्व मनाएका हुन्।

ठमेलमा विदेशी पर्यटकले पनि मनाए बडादसैँ

 

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा ग्रहण गरेका छन्। ठमेलस्थित काठमाडौं इको होटेलमा आयोजित कार्यक्रममा विदेशी पर्यटकले नेपाली परम्पराअनुसार निधारमा रातो टीका र शिरमा जमरा लगाएर बडादसैँ मनाएका हुन्।

नेपालीहरूको प्रमुख चाड बडादसैँमा विदेशी पर्यटकको सहभागिताले नेपालको सांस्कृतिक परम्परा र अतिथि सत्कारको विशिष्टता झल्काएको छ। नेपाल भ्रमणमा आएका पर्यटकका लागि दसैँको टीका र जमरा ग्रहण गर्नु नेपाली संस्कृति, धार्मिक आस्था र पारिवारिक सदभावलाई नजिकबाट बुझ्ने अवसरसमेत बनेको छ।

पछिल्लो समय विदेशी पर्यटकले नेपालको प्राकृतिक सौन्दर्यसँगै धार्मिक, सांस्कृतिक तथा परम्परागत जीवनशैलीमा पनि रुचि देखाउँदै आएका छन्। स्थानीय चाडपर्व र सांस्कृतिक गतिविधिमा सहभागी हुँदा उनीहरूले नेपाली समाजका मौलिक परम्परा अनुभव गर्ने अवसर पाउने गरेका छन्।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं काठमाडौं इको होटेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए।

त्यस्तै, ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले बडादसैँजस्ता चाडपर्वमा विदेशी पर्यटकको सहभागिताले नेपाली र विदेशीबिच आपसी सदभाव, मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए।

दुःखमा परेकाहरूको सहारा बनेर दसैँ मनाऔँ : कांग्रेस सभापति थापा

 नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाबिच मनाइँदै गरेको यस वर्षको विजयादशमीमा दुःखमा परेका परिवारसँग चाडपर्वको खुसी बाँड्न सबैलाई आह्वान गरेका छन्।

विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै सभापति थापाले यस वर्षको दसैँ कठिन परिस्थितिबिच मनाउनुपरेको बताएका छन्।

उनले विपत्तिका कारण धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नै घरपरिवारमा मात्र सीमित राख्न नहुनेमा जोड दिएका छन्। दुःखमा परेका परिवारलाई सहयोग गर्दै उनीहरूको पीडामा साथ दिनुपर्ने उनको भनाइ छ।

शुभकामना सन्देशमा थापाले भनेका छन्, ‘यस्तो वेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा मात्र सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एक–अर्काको सहारा बन्न सकौँ।’

सभापति थापाले विजयादशमीले व्यक्तिलाई आफ्ना कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल प्रदान गर्नुका साथै अरूको पीडा बुझ्ने संवेदना र समाजमा एकता तथा सद्भाव कायम गर्ने भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले चाडपर्वको वास्तविक खुसी आपसी सहयोग, सहकार्य र मानवीय संवेदनामा निहित हुने उल्लेख गर्दै कठिन परिस्थितिमा रहेका नागरिकलाई साथ दिनुपर्ने सन्देश दिएका छन्।

विजयादशमीमा प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन आह्वान

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गरेका छन्। उनले यस पर्वले समाजमा सकारात्मक सोच, सदभाव र सत्कर्मको भावना विकास गर्न प्रेरणा दिने बताएका छन्।

पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंग स्मरण गर्दै उनले विजयादशमीको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गरेका छन्। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा लाग्न प्रेरित गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने नेपाली परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयता थप प्रगाढ बनाउने उल्लेख गरेका छन्।

उनले विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्। साथै, समाजमा व्याप्त भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

दसैँले सामाजिक एकता र आपसी सदभाव बलियो बनाउँछ : सभामुख अर्याल

 

 प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले दसैँजस्ता चाडपर्वले नेपाली समाजमा आपसी सदभाव, भ्रातृत्व र सामाजिक एकतालाई सुदृढ बनाउने बताएका छन्।

बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले विविधतायुक्त नेपाली समाजमा आपसी मेलमिलाप र सौहार्द कायम गर्न चाडपर्वको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।

दसैँले नेपालीहरूमा नयाँ ऊर्जा, नवप्रवर्तन र राष्ट्र निर्माणप्रतिको संकल्प जागृत गराउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन माता दुर्गा भवानीले सबैलाई आशीर्वाद प्रदान गरून् भन्ने कामना गरेका छन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको स्मरण गराउँदै सभामुख अर्यालले दसैँलाई असत्यमाथि सत्य र दुराचारमाथि सदाचारको विजयका रूपमा लिइने बताए।

उनले जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको संरक्षण गर्दै जनभावनाअनुरूप समयसापेक्ष तथा जनमैत्री कानुन निर्माण र परिमार्जन गर्न संघीय संसद् प्रतिबद्ध रहेको उल्लेख गरे। मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संसद् निरन्तर क्रियाशील रहेको उनको भनाइ छ।

यू– १९ महिला टी– २० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने

यू– १९ महिला टी– २० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका खेल नेपालका दुई क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

नेपालमा हुने खेलहरू काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना गरिनेछ ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने यू– १९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दै छन् । प्रतियोगिताका बाँकी खेल बंगलादेशमा हुनेछन् ।

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको हृदयाघातबाट निधन

 

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहको निधन भएको छ। ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा उनको निधन भएको हो।

उनका छोरा दिलीप साहका अनुसार अध्यक्ष साह लामो समयदेखि मुटु र दमसम्बन्धी रोगबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही समयदेखि काठमाडौंमा राखेर उपचार गराइएको थियो।

अस्पतालमा स्वास्थ्यमा केही सुधार भएपछि मंगलबार मात्रै उनलाई कोठामा ल्याएर राखिएको थियो। तर, बुधबार बिहान अचानक हृदयाघात हुँदा उनको निधन भएको छोरा दिलीपले जानकारी दिए। साहको पार्थिव शरीर आजै गृहजिल्ला सर्लाही ल्याउन लागिएको छ। पारिवारिक स्रोतका अनुसार अहिले साँझसम्म अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।

एकैदिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

 

कपिलवस्तु, सिराहा, महोत्तरी, पर्सा र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलचालक पाँचजना र पैदलयात्री एकजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार कपिलवस्तु, सिराहा, महोत्तरी र सर्लाहीमा कात्तिक ३ गते भएका दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने पर्सामा साेही दिन भएको दुर्घटनामा एकजनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका– ६, डुम्रास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय शुभम लोहारको मृत्यु भएको छ। लु.६प १७७६४ नम्बरको पल्सर मोटरसाइकल सडकमा रहेको खाली ठाउँबाट उछिट्टिएर दुध बोक्ने खाली ट्यांकरको पछाडि ठोक्किँदा दुर्घटना भएको हो। कपिलवस्तु नगरपालिका– २, बगर्दवाका लोहारको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राति ८ः४० मा मृत्यु भएको प्रहरीले जनाएको छ।

दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यात्रुलाई सहज

बडादसैँको अवसरमा यात्रुहरूको सहज आवतजावतलाई लक्षित गर्दै नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट सर्वसाधारण लाभान्वित भएका छन्।

दसैँका वेला सार्वजनिक सवारीसाधनमा हुने चापलाई मध्यनजर गर्दै नेपाल प्रहरीले यात्रुहरूको सुविधा र सहजताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको हो। उक्त सेवामार्फत सर्वसाधारणले गन्तव्यसम्म यात्रा गरिरहेका छन्।

 

 

 

सुझावित समाचार