एकैदिन छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । कपिलवस्तु, सिराहा, महोत्तरी, पर्सा र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलचालक पाँचजना र पैदलयात्री एकजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार कपिलवस्तु, सिराहा, महोत्तरी र सर्लाहीमा कात्तिक ३ गते भएका दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने पर्सामा साेही दिन भएको दुर्घटनामा एकजनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका– ६, डुम्रास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय शुभम लोहारको मृत्यु भएको छ। लु.६प १७७६४ नम्बरको पल्सर मोटरसाइकल सडकमा रहेको खाली ठाउँबाट उछिट्टिएर दुध बोक्ने खाली ट्यांकरको पछाडि ठोक्किँदा दुर्घटना भएको हो। कपिलवस्तु नगरपालिका– २, बगर्दवाका लोहारको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राति ८ः४० मा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ३, बडुलचोकस्थित रामपुर–पतारी सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चालक ३८ वर्षीय अशोक मण्डलको मृत्यु भएको छ। पतारीबाट रामपुरतर्फ जाँदै गरेको बा.प्र.०१–०७१ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको बा.६प ०५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका– ५ का मण्डलको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा साँझ ६:३० बजे मृत्यु भएको हो।

महोत्तरीको रामगोपालपुर नगरपालिका– ४, बिचल्ला चोकस्थित बर्दीबास–जलेश्वर सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा १९ वर्षीय लेनसन मण्डलको मृत्यु भएको छ। रामगोपालपुरबाट टिकुलियातर्फ जाँदै गरेको म.प्र.०२–०७८ प ०८७८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। रामगोपालपुर नगरपालिका– ३, डोलाहीका मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएकोमा राति २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, महोत्तरीकै बर्दीबास नगरपालिका– ३, कालपानीमा डुमी गाडीले मोटरसाइकल र स्कुटरलाई ठाेक्किँदा मोटरसाइकल चालक ४० वर्षीय सुजनबहादुर मगरको मृत्यु भएको छ। भिमानबाट बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०१–०७९ ख ०७८८ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको प्र.०२–०७८ प ५८५५ नम्बरको मोटरसाइकल र बा.१२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। धनुषाको मिथिला नगरपालिका– ११ घर भई हाल बर्दीबास नगरपालिका– १, गालटार बस्दै आएका मगरको जनसेवा अस्पताल बर्दीबासमा उपचारका क्रममा दिउँसो १ः४२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्लाहीको बागमती नगरपालिका– १२, बधानेस्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १६ वर्षीय राजीव तामाङको मृत्यु भएको छ। बागमती नगरपालिका– ४, नयाँबस्तीका तामाङले चलाएको बा.प्र.०६–००१ प ५५५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो। उनको बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा राति २:५० बजे मृत्यु भएको हो।

यस्तै, पर्साको पोखरिया नगरपालिका– २, डाँडापुलस्थित गण्डक नहर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २५ वर्षीय सुशान्तकुमार शर्माको मृत्यु भएको छ। बिआर २२ बिएम ६५८८ र बिआर २२ एस ७५०३ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। जगन्नाथपुर गाउँपालिका– २ का शर्मालाई चिकित्सकले राति ९ बजे मृत घोषणा गरेका थिए।

सुझावित समाचार