काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन्।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कार्कीले बलिपूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । साथै प्रहरी महानिरीक्षक कार्कीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरे।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए। पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निसान प्रस्थान गराइएको थियो।
नेपाल प्रहरीको निसान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो। जसमा दुईवटा निसान रहेका हुन्छन्। मुख्य निसानमा सूर्य र चन्द्रको बिचमा राम धनुषचिह्न अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिह्न अंकित हुन्छ। नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्तसुरक्षाका साथै अमनचयन कायम राख्नजस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्ट देवताको प्रतीकका रूपमा निसान झन्डालाई लिइन्छ।
संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निसान झन्डालाई पूजा गर्ने परम्परा रहिआएको छ। नेपाल प्रहरीले २०११ सालमा निसान झन्डा प्राप्त गरेपश्चात् हरेक वर्ष बडादसैँ र चैतेदसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ।
साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रहिआएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाइहरूमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको नेपाल प्रहरीले जनाएको छ।