काठमाडौं । कोशी प्रदेशमा आगामी साताभर मौसम बदली रहने तथा हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार साताको सुरुमा शुक्रबार र शनिबार हिमाली क्षेत्रमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी हिमपातको सम्भावना छ। यस अवधिमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने अनुमान गरिएको छ।
साताको मध्य अर्थात् आइतबार, सोमबार र मंगलबार हिमाल तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने साताको सुरुमा मौसम मुख्यतः सफा रहने, मध्यमा आंशिक बदली हुने र अन्त्यतिर सामान्यदेखि पूर्णतया बदली हुने सम्भावना छ।
महाशाखाका अनुसार हिमाली क्षेत्रमा साताको सुरु र मध्यमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। साताको अन्त्यमा भने धेरै स्थानमा मध्यमसम्मको वर्षा तथा केही स्थानमा भारी हिमपातको सम्भावना छ।
पहाडी क्षेत्रमा पनि साताको सुरु र मध्यमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। अन्त्यतिर केही स्थानमा मध्यमसम्मको वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।
त्यस्तै, तराई क्षेत्रमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना नरहे पनि अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साताको मध्य र अन्त्यतिर मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ ।