आज दसैँको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

बिहिबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं ।  बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूले आज पनि मान्यजनबाट दसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्। नेपाली समाजका कतिपय स्थानमा आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ।

दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन्। यही परम्पराका कारण विजयादशमीपछि पनि घरघरमा टीका लगाउने, मान्यजनबाट आशीर्वाद लिने र पारिवारिक भेटघाट गर्ने क्रम जारी रहन्छ।

पापाङ्कुशा एकादशीको धार्मिक महत्त्व
हिन्दु धर्मशास्त्रअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ। वैष्णव सम्प्रदायमा यस दिनलाई विशेष महत्त्वका साथ लिने गरिन्छ। यस अवसरमा भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ।

धार्मिक विश्वासअनुसार पापाङ्कुशा एकादशीको व्रत बस्ने र भगवान् विष्णुको उपासना गर्ने व्यक्तिले पापबाट मुक्ति तथा पुण्य प्राप्त गर्छन्। यस दिन व्रत बस्ने, फलाहार गर्ने, पूजापाठ गर्ने र एकादशीको महात्म्यसम्बन्धी कथा श्रवण गर्ने चलन छ।

व्रत बस्नेहरू बिहान स्नान गरी चोखो वस्त्र धारण गरेर पूजापाठमा सहभागी हुन्छन्। मन्दिर दर्शन, भगवानकाे स्तुति तथा भजन–कीर्तन गर्नुका साथै कतिपयले अन्न र गेडागुडी त्यागेर फलफूल वा फलाहार ग्रहण गर्ने परम्परा पनि छ।

सुझावित समाचार