सीमा सुरक्षाबारे एसएसबी नेतृत्वसँग छलफल हुँदै

खुला सीमा भएकाले सीमापार अपराध तथा तस्करी नेपाल र भारतका लागि मुख्य समस्या

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • नेपालले भारतबाट तस्करी हुने लागुऔषधको विषयलाई हरेक वर्ष उठाउँदै आए पनि यो समस्या समाधान हुन सकेको छैन । नेपालमा हुने लागुऔषध तस्करीमा भारतीय पक्षबाट अपेक्षित सहयोग नपाएको नेपाली सुरक्षा अधिकारीले गुनासो गर्दै आएका छन् ।

सीमा सुरक्षाबारे बुधबारदेखि काठमाडौंमा भारतीय सुरक्षा अधिकारीसँग उच्चस्तरीय बैठक हुने भएको छ । नेपालको सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिचको बैठक यसपटक नेपालमा हुन लागेको हो ।

बैठकमा भाग लिन एसएसपीका महानिर्देशक सञ्जय सिंघल नेतृत्वको टोली मंगलबार नेपाल आउँदै छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बैठकको नेतृत्व गर्नेछन् । सीमा सुरक्षामा खटिएका दुई देशका सुरक्षा निकायबिचको यो उच्चस्तरीय बैठक विगत एक दशकदेखि हरेक वर्ष चल्दै आएको छ । यसपटक दसौँ समन्वय बैठक हुन लागेको हो । बैठकमा गृह मन्त्रालयदेखि सुरक्षा निकाय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार बैठकमा सीमा सुरक्षाका बहुआयामिक पक्षबारे विस्तृत छलफल हुनेछ । हरेक वर्ष हुँदै आएको बैठकमा सीमापार अपराधको नियन्त्रणमा केन्द्रित भई छलफल हुने गरेको छ । नेपालले भारतबाट तस्करी हुने लागुऔषधको विषयलाई हरेक वर्ष उठाउँदै आए पनि यो समस्या समाधान हुन सकेको छैन । नेपालमा हुने लागुऔषध तस्करीमा भारतीय पक्षबाट अपेक्षित सहयोग नपाएको नेपाली सुरक्षा अधिकारीले गुनासो गर्दै आएका छन् । भारतले भने अवैध घुसपैठ तथा नेपालबाट मदिराको अवैध कारोबारमा चासो राख्दै आएको छ ।

खुला सीमा भएकाले सीमापार अपराध तथा तस्करी दुवै देशका लागि मुख्य समस्या छ । एकातर्फ अपराध गरेर अर्को देशमा लुक्न जाने प्रवृत्ति छ । सूचनाको आदानप्रदान पनि समन्वय बैठकको मुख्य एजेन्डा हुँदै आएको छ ।

भारतमा भएको नवौँ समन्वय बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम, चोरी–निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत रोक्ने उपाय, सूचना आदानप्रदान, तालिम सहयोग, संयुक्त सीमा गस्ती र समग्र सीमाक्षेत्रको सुरक्षालाई मजबुत बनाउने विषयमा छलफल भएको थियो । विगतमा भएका कतिपय समझदारी कार्यान्वयनमा आउन सकेका छैनन् । यसपटक विगतको समझदारी कार्यान्वयनको पनि समीक्षा गर्ने तयारी छ ।

भारतको अर्धसैन्य सुरक्षा बल एसएसबीलाई नेपाल र भुटानसँगको सीमा सुरक्षामा खटाइएको छ । नेपालको तुलनामा सीमामा एसएसबीको उपस्थित दोब्बर छ भने स्रोतसाधन पनि प्रशस्त उपलब्ध गराइएको छ । नेपालमा भने एक बिओपीले १० किलोमिटरसम्म हेर्नुपर्ने अवस्था छ । तर, सीमामा गस्ती गर्न गाडीलगायत स्रोतसाधनको अभाव सशस्त्रलाई छ । वर्तमान सरकारले सीमा सुरक्षामा सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै स्रोतसाधन थप्ने योजना बनाएको छ । 

सुझावित समाचार