आनी छोइङको नियुक्तिपछि लुम्बिनीमा आन्दोलन

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

भैरहवा/ सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेसँगै लुम्बिनी अशान्त बनेको छ । सरकारले गत ३० असोजमा कोषको उपाध्यक्षमा आनी छोइङलाई नियुक्त गरेको थियो । आनी नियुक्तिको विरोधमा लुम्बिनी बचाउ महाभियानले निरन्तर आन्दोलन गर्दै आएको छ ।

महाभियानले केन्द्र सरकारलाई निर्णय तत्काल सच्याउन माग गर्दै आमसभा, पर्यटनमन्त्रीको पुत्लादहन कार्यक्रमसमेत गरेको छ । अभियानले सोमबार साँझ लुम्बिनीको पर्साचोकमा पर्यटनमन्त्री खड्कप्रसाद पौडेलको पुत्लादहन गर्दै उनको राजीनामा माग गरेको छ ।

सरकारले निर्णय तत्काल नसच्याए लुम्बिनी प्रवेशमा निषेध गर्ने घोषणा गरेको महाभियानका संयोजक अक्रम खानले बताए । ‘नागरिकता विवाद र सम्पत्ति शुद्धीकरणको मुद्दाकी आरोपी आनीलाई पवित्रस्थल लुम्बिनी प्रवेश गर्न दिँदैनौँ,’ उनले भने ।

सरकारको निर्णय सार्वजनिक भएलगत्तै स्थानीयले लुम्बिनीमा विरोध प्रदर्शन गर्दै आएका छन् । डोल्मालाई लुम्बिनी प्रवेश निषेधको कार्यक्रम अघि बढाएको र सरकारलाई गम्भीर गल्ती सच्चाउन आग्रह गरेको लुम्बिनी बचाउ महाभियानका सहसंयोजक मेधनाथ आचार्यले बताए ।

‘हामीले उपाध्यक्षको कार्यालयअघि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गर्दै लुम्बिनी क्षेत्रमा डोल्मालाई प्रवेश निषेधको घोषणा गरेका छौँ,’ उनले भने ।

स्थानीयको भावना र बौद्ध दर्शनको मर्मविपरीत नियुक्ति गरिएकाले यो कार्यान्वयन हुन नसक्ने र सरकारलाई निर्णय सच्चाउन आग्रह गर्दा पनि मौन बसेकाले पर्यटनमन्त्रीको पुत्लादहन गरिएको महाभियानका सहसंयोजक रामविकास चौधरीले बताए । 

सुझावित समाचार