कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ आगामी बिहीबार हुने भएको छ । गत १८–२३ असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बिहीबारका लागि तय भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । उनका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा शपथ सुरु हुनेछ ।
‘१५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण समारोह १२ कात्तिकमा हुने तय भएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथग्रहण कार्यक्रममा उपस्थितिका लागि सूचना गइसकेको छ,’ उनले भने ।
चारवर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गत निर्वाचनबाट सभापतिमा गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संगौला निर्वाचित भएका छन् । सहमहामन्त्रीमा रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, बहादुरसिंह लामा, प्रकाश स्नेही, अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी, फिरदोश आलम, जीवनबहादुर शाही र अल्पसंख्यक/अपांगताबाट आङ्गेलु शेर्पा निर्वाचित भएका छन् ।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा बाँकी सदस्य र पदाधिकारी सभापतिले मनोनीत गर्ने वैधानिक व्यवस्था छ । ६६ जना केन्द्रीय सदस्य र केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र चार सहमहामन्त्री सभापति थापाले मनोनीत गर्नेछन् । बिहीबार शपथपछि शुक्रबार केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाउने तयारी छ । सभापति थापाले भने ३१ असोजमै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
कांग्रेसले विगत वर्षहरूमा गर्दै आएको ‘कोजाग्रत पूर्णिमामा चियापान’ यसपटक गरेन । बिपी कोइराला १६ पुस ०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ को कोजाग्रत पूर्णिमाको दिन सौहार्दता अभिवृद्धि र शुभकामना आदान–प्रदान गर्न ‘चियापान समारोह’ आयोजना गरेका थिए । त्यसपछि हरेक वर्ष कांग्रेसले कोजागत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।
शेखर समूह तटस्थ
संस्थापन पक्षले महाधिवेशन सम्पन्न गरिसकेको छ भने देउवा समूह समानान्तर महाधिवेशनमा छ । तर, शेखर कोइराला भने तटस्थ नै छन् । शेखरसँग निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, बलबहादुर केसी, सञ्जय गौतम, सरिता प्रसाईंलगायत नेता छन् । शेखर समूह छाडेर संस्थापनको महाधिवेशनमा सहभागी भएका निवर्तमान उपसभापति धनराज गुरुङ उपसभापति पदमै पराजित भएका थिए । शेखरले कुनै पक्षमा नलाग्ने बताउँदै आएका छन् । तिहारपछि देशव्यापी एकता अभियानमा थाल्ने तयारीमा उनी छन् । ‘एकताबद्ध कांग्रेस आजको आवश्यकता हो । विभाजित भएर कांग्रेस लक्ष्यमा पुग्न सक्दैनौँ । हामी कुनै समूहमा छैनौँ, पार्टी एक हुनुपर्छ भन्नेमा छौँ,’ गौतमले भने ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि दुवै पक्षको गतिविधिमा सहभागी भएका छैनन् । देउवा पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएयता उनी कुनै पनि कार्यक्रममा देखिएका छैनन् । उनले पनि कांग्रेसको एकता आवश्यक भएकोमा जोड दिँदै आएका छन् ।
६ हजार एक सयभन्दा बढी वडामा अधिवेशन गरेको देउवा समूहको दाबी
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी २१–२३ मंसिरमा समानान्तर महाधिवेशन गर्दै छ । महाधिवेशनका लागि मातहतका अधिवेशन भइरहेको देउवा पक्षका नेता दीपक कुइँकेलले बताए । पार्टीको आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशन गर्न लागेको उनले बताए ।
६ हजर ७४३ वडामध्ये ६ हजार एक सयभन्दा बढी वडामा अधिवेशन सम्पन्न भइसकेको देउवा पक्षले जनाएको छ । यसैगरी, ४८० पालिका अधिवेशन, १७० प्रदेश सभा क्षेत्रका अधिवेशन, ८५ वटा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र आठ जिल्ला अधिवेशन सम्पन्न गरिसकेको देउवा पक्षले जनाएको छ ।
३० कात्तिकभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने कुइँकेलले बताए । देउवा पक्षले तल्लो तहका अधिधवेशन अघि बढाउनुका साथै संस्थापनतिर लागेका नेताहरूलाई फर्काउने रणनीतिसमेत लिएको छ । ‘नेता तथा कार्यकर्ता मात्र होइन, कांग्रेसको परम्परा र विचारप्रति आस्था राख्ने सबैलाई स्वागत गर्न तयार छौँ,’ कुइँकेलले भने ।