काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर आलोचना गरेका छन्। उनले लोकप्रियताको आवरणमा विवादास्पद कार्यलाई क्षम्य मान्न नसकिने टिप्पणी गरेका छन्।
थापाले आनी छोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलै संसार’ गीत चर्चित भए पनि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि उनी विवादमा परेको उल्लेख गरेका छन्। पदको प्रलोभनमा पर्नु गलत भएको उनको भनाइ छ।
उनले आनी छोइङ डोल्मासँग जोडिएका सम्पत्ति शुद्धीकरण र नागरिकतासम्बन्धी विषयलाई समेत उठाउँदै लुम्बिनी विकास कोषजस्तो पवित्र सम्पदाको नेतृत्वमा विवादमा परेका व्यक्तिलाई नियुक्त गर्न नहुने बताएका छन्।
थापाले लुम्बिनी विकास कोषको पदलाई ‘फ्री तिब्बत’ वा नेपालको विदेश नीतिप्रतिकूल गतिविधिमा प्रयोग गरिन सक्ने आशंका व्यक्त गरेका छन्। यस्तो गतिविधिको मूल्य नेपाल राष्ट्र, लुम्बिनी र स्वयं आनी छोइङ डोल्माले चुकाउनुपर्ने उनको टिप्पणी छ।उनले आनी छोइङ डोल्माले कानुनको सामना गर्नुपर्ने उल्लेख गर्दै ‘टिओबी’को स्वार्थमा गोटी बनेर अनावश्यक विवादमा नपर्नसमेत सुझाव दिएका छन्।